मंसिर २६, काठमाडौं ।
आजु जनकपुर मंगल हे,
चारु दिस मंगल हे !
जानकीके होइछैं विवाह,
जनकपुर मंगल हे !!

विवाह गाइने यही गीत अहिले जनकपुरमा गुञ्जिरहेको छ। कारण हो, सीताराम विवाह महोत्सव। विवाहपञ्चमी एउटा चाड मात्र होइन र यसले जनकपुरको मात्र परिचय बोक्दैन। यो नेपाल–भारतबीचको सांस्कृतिक सेतु हो, जनसम्बन्धको प्रतीक पनि हो। त्यसैले त जनकपुर अहिले झकिझकाउ छ, लाखौँ मानिसले भरिभराउ छ।

त्रेता युगमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो। त्यसैको सम्झनामा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन सालगिरह मनाइन्छ। यो क्रम बितेको पाँच सय वर्षदेखि जारी छ। बुधबार विवाह महोत्सव मनाइँदैछ। जानकी मन्दिरका महन्थ र पुजारी व्यस्त छन्। जसरी छोरीको बिहेमा अभिभावक व्यस्त हुन्छन्। जन्तीको स्वागतदेखि तिनको बास, खानपान र विदाइ समेतको तयारी भइरहेको छ। एक महिनादेखि बेहुली पक्षलाई भ्याइनभ्याइ छ।

भारतको टिकमगढ राज्यकी रानी वृषभानु कुँवरले वि।सं। १९१० मा नौलक्खा मन्दिर बनाएकी थिइन्। मुगल शैलीको यो मन्दिर बनाउन नौ लाख खर्च लागेको थियो। मन्दिरका ६० वटा कक्षमा भरिभराउ अतिथि र सामग्री छन्। दुई सयभन्दा बढी भान्से पकवान बनाउन व्यस्त छन्। जन्ती विदाइका लागि जोहो गरिएका उपहारले नै चार वटा कोठा भरिएका छन्। मन्दिरको कुनाकुना रंगीविरंगी फूलले सजाइएको छ। बिजुली बत्ती जडान गरेर मन्दिर झकिझकाउ पारिएको छ।

उता राम मन्दिरमा पनि बरियातको भव्य तयारी छ। स्वयंवर र विवाहमा सहभागी हुन वरपक्ष डोलामा सजिएर जानेछन्। जानकी मन्दिरजस्तो भव्यता राम मन्दिरमा देखिँदैन। तथापि तामझामका साथ रामको जन्ती निकालिने राम मन्दिरका महन्थ राम गिरीले बताए। ‘बाजागाजाका झाँकीसहित रामलाई डोलामा सजाएर बाराती नगरपरिक्रमा गराउनेछौँ। अनि रंगभूमि मैदान लानेछौँ,’ उनी भन्छन्, ‘त्यहाँ जानकी मन्दिर, रत्नसागर मठ र लक्ष्मण मन्दिरको डोलाले रामजीको डोलालाई परिक्रमा गरेपछि स्वयंवर गर्नेछौं।’

यस वर्ष जन्तीको नेतृत्व उत्तर प्रदेशका मुख्यमन्त्री योेगी आदित्यनाथले गर्दै छन्। संघीय सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकार विवाह महोत्सवमा सहभागी हुनेछन्। ‘विश्वमाझ नेपाललाई चिनाउने यो पर्व अति नै विशिष्ट हुनाले यसमा सहभागी हुन जनकपुर आएको हुँ,’ अधिकारीले अन्नपूर्णसँग भने। महोत्सवलाई अझ भव्य बनाउन सक्दो प्रयास गर्ने उनको भनाइ छ।

जसले रोटी–बेटीको सम्बन्ध सुरु गरिन्

त्रेतायुगमा सीता र रामको यहीँ विवाह भएको थियो। यो पर्व त्यही परम्पराको निरन्तरता हो। छोरी सीताको विवाहका लागि पिता जनकले शिवको धनुषमा ताँदो चढाउने प्रतिस्पर्धासहितको स्वयंवर आयोजना गरेका थिए। अयोध्याका राजकुमार रामले धनुष उजाली ताँदो चढाउन लाग्दा भाँचिएर तीन टुक्रा भएको थियो। रामले विवाहको सर्त जितेको हुनाले उनलाई सीताले वरमाला लगाइदिएकी थिइन्। ‘पाँच सय वर्ष पुरानो परम्परालाई हामीले निरन्तरता दिइरहेका छौँ,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव भन्छन्।

उनका अनुसार पहिले अयोध्याबाट जन्ती ल्याउने चलन थिएन। अयोध्याबाट अनौपचारिक रुपमा आउनेहरुलाई जनकपुरबासीले जन्ती मानेर स्वागत गर्थे। ‘तर २०६१ सालदेखि अयोध्याबाट विधिवत् जन्ती ल्याउन थालिएको हो,’ उनी भन्छन्, ‘यसका लागि दुई देशका सरकार र खासगरी तत्कालिन विश्व हिन्दू परिषद्का अशोक सिंघलले पहल गरेका थिए।’ यसरी पहिलो पटक चारपाँच सय गाडीमा जन्ती सजाएर ल्याइएको थियो। रामायणमा जुन बाटोबाट जन्ती गएको उल्लेख थियो, त्यही बाटो भएर जनकपुर पु¥याइएको थियो। त्यसयता हरेक पाँच वर्षमा औपचारिक रुपमा जन्ती ल्याउने गरिएको छ।

महोत्सव आयोजना गर्न सरकारसहित सबै दल र संघसंस्थासँग समन्वय गर्ने गरिएको दास बताउँछन्। ‘सबैसँग छलफल गरेर मूल समारोह समिति गठन गर्छौँ। सरकारले यसलाई धरोहर पर्वको रुपमा पहिचान गरोस् भन्ने निर्णय पनि गथ्र्यौँ,’ दास भन्छन्, ‘तर सरकारका तर्फबाट यसबारे खासै पहल गरेन।’

यसपटक भने संघीय सरकारले नै उत्तर प्रदेशका मुख्यमन्त्रीलाई निम्त्याएको छ। उनी जन्तीका रुपमा यहाँ आउनु ठूलो उपलब्धि भएको दासको भनाइ छ। महोत्सवमा आएका जन्तीलाई हेलिकप्टरबाट पुष्पवृष्टि गरिन्छ। यसका लागि कहिले सेनाको त कहिले निजी कम्पनीका हेलिकप्टरको प्रयोग गरिन्छ। यस वर्ष नेपाली सेनाले सहयोगस्वरुप उपलब्ध गराएको हेलिकप्टरले पुष्पवृष्टि गर्ने छ।

जनस्तरमा नेपाल–भारत सम्बन्ध अत्यन्त सघन छ। यसलाई ‘रोटी–बेटी’ को सम्बन्ध भनेर पनि अथ्र्याइन्छ। ‘यसको सुरुवात जानकीले गरेकी थिइन्,’ दास भन्छन्, ‘त्यसैले विवाह महोत्सव दुई देशबीचको सांस्कृतिक सेतु हो। यसलाई विशेष महत्व दिइनुपर्छ।’

हराएको रौनक फर्किंदै

५० वर्षपहिले यो महोत्वस झन् भव्य हुने गरेको राम मन्दिरका महन्थ राम गिरी बताउँछन्। उनी भन्छन्, ‘हामी केटाकेटी हुँदा यहाँ धेरै घुइँचो लाग्थ्यो। ठूल्ठूला मेला लाग्थे।’ साहित्यकार तथा संस्कृतिविद् डा। राजेन्द्र विमल पनि पाँच दशक पहिलेसम्म विवाह पञ्चमी नेपालकै ठूलो महोत्वसमध्ये एक रहेको बताउँछन्। ‘त्यसबेला पाँचदेखि सात लाखसम्मको संख्यामा श्रद्धालुको भीड जम्मा हुन्थ्यो,’ उनी भन्छन्, ‘घरघरमा सय, डेढ सय पाहुनाको बास हुन्थ्यो।’

जनकपुरका पहडिया गाछी, तिरहुतिया गाछी, रामगाछी गुलजार हुन्थे। पहाडिया गाछीमा पहाडका मान्छे आउँथे। तिनले अनेक किसिमका सामान बेच्थे। त्यहीँ बास बस्थे। पहाडी लोक दोहरी र धुनमा रामसीता विवाह गीत सुन्न पाइन्थ्यो। तिरहुतिया गाछीमा मैथिल ब्राह्मणहरुले मंगलगान गाउँथे। भारतबाट थिएटर कार्यक्रम चलाउनेहरु आउँथे। सर्कस लगाइन्थ्यो, झुला लाग्थ्यो।

बुढापाकाको सम्झनामा त्यसबेलाको महोत्सव महिना दिनसम्म चल्थ्यो। वर्षभरीको सरसामान, मसला किनिन्थ्यो। तर पछि राजनीतिक संक्रमण र देशमा भएका विभिन्न परिवर्तनले महोत्सवलाई प्रभावित पारेको विमल बताउँछन्। बढ्दो सहरीकरणले पुराना गाछीहरुको अस्तित्व हरायो। सरकारले थिएटर, सर्कस र व्यापारमा शुल्क बढाएपछि भारतबाट व्यापारी आउन छाडे।

पछिल्लो केही वर्षदेखि जानकी मन्दिरले महोत्सवको हराएको रौनक बढाउन पहल बढाएको महन्थ गिरी बताउँछन्। जानकी मन्दिरका मूल महन्थ रामतपेश्वरदास वैष्णवले तिलकोत्सव कार्यक्रम सुरु गरेका थिए। अहिले पर्यटक बढेका छन्। नेताहरु पनि सहभागी हुन थालेका छन्। घुइँचो बढ्न थालेको छ। ‘अझ यस वर्ष त अभूतपूर्व रुपमा मनाउने तयारी भएको छ। यस्तो पहल सकारात्मक हो,’ विमल भन्छन्।

खचाखच होटल, बढ्यो व्यापार

जनकपुरमा अहिले बास पाइनसक्नु छ। लाखौँ मान्छे आइपुगेका छन्। ‘आन्तरिक र बाह्य पर्यटकले होटल खचाखच छ,’ नेपाल होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश २ का अध्यक्ष हीरा गौतम भन्छन्, ‘विवाह पञ्चमीले होटल र पर्यटन व्यवसायी निकै व्यस्त छन्। व्यापार ह्वात्तै बढेको छ।’

जनकपुरका १० उत्कृष्ट होटल त अग्रिम बुक भइसकेका छन्। जनकपुरका होटल र लजमा ठाउँ नपाएपछि बास बस्न मानिसहरु महोत्तरीको बर्दिबाससम्म पुगेका छन्। महोत्सवले समग्र व्यापार फस्टाएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले बताए। पछिल्लो समय प्रदेश र संघीय सरकारले मधेसका पर्यटकीय स्थलको विकास गर्न चासो देखाएकोमा गौतम खुसी व्यक्त गर्छन्।

विश्वसम्पदा सूचीमा पार्ने कसरत

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने प्रयास भइरहेको छ। भोर नामक संस्थाको अभियानमा ५५ हजार जनाको हस्ताक्षर पुरातत्व विभागमा बुझाएपछि यसले गति पाएको छ। ‘हामीले २०७२ साल भदौ ४ गते पुरातत्व विभागका निर्देशक भेषनारायण दाहाललाई बुझाएका हौँ,’ भोरका अध्यक्ष राजकुमार महतोले भने।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल भइरहेको जानकारी दिए। ‘युनेस्कोको कार्यविधिअनुरुप नोमिनेसन फाइल पठाउने तयारी भइरहेको छ। यसका लागि धेरै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। त्यसैको छलफल चलिरहेको छ,’ उनले भने।

महतोका अनुसार युनेस्कोले जानकी मन्दिरको प्रारम्भिक अध्ययनका लागि प्राविधिक जनशक्ति पठाउने आश्वासन दिएको छ। विश्व सम्पदा सूचीमा चढाउन आवश्यक मापदण्ड पूरा गर्ने कार्य भइसकेको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह बताउँछन्। समाचार अन्नपूर्ण पोष्टमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia