काठमाडौं । म लामो समय इन्द्रबहादुर राईलाई पढ्न हिच्किचाएँ,’ लेखक मञ्जुश्री थापाले भनिन्, ‘तर जब पढें, मैले उनमा प्रगतिशीलता तथा सामाजिकता छैन भन्ने बुझाइ गलत पाएँ।’ गत वर्ष दिवंगत लेखक इन्द्रबहादुर राईको बहुचर्चित उपन्यास ‘आज रमिता छ’ लाई अंंग्रेजीमा अनुवाद गरेकी थापाले भनिन्, ‘उहाँको भाषा बुझ्न गाह्रो थियो। मैले धेरै जनासँग छलफल गरें। एउटा शब्दचाहिँ नबुझेरै अनुवाद गरेकी छु, त्यो शब्द के हो, त्योचाहिँ भन्दिनँ, यहाँहरूको जिम्मा।’

पोखरामा शनिबार सुरु भएको नेपाल साहित्य महोत्सवको सातौं संस्करणको पहिलो दिन ‘अझै रमिता छ।।।इन्द्रबहादुर राईको सम्झना’ शीर्षकमा बहस भएको थियो। बहसमा थापासँगै लेखक कृष्ण धरावासी पनि सहभागी थिए। केदार शर्माको प्रश्नमा धरावासीले भने, ‘आयामेली आन्दोलनपछि अनेक नाममा अनेक आन्दोलन भए, सिर्जनशील अराजकता नै भन्नुस् न, वैरागी काइँलाले २०२० तिरै लेखिसकेको कुरा सिर्जनशील अराजकताका नाममा नयाँ थिएन। त्यही नामलाई पछ्याएको भए, दुवै रहने अवस्था थियो। न, अब त्यो रह्यो, न यो रह्यो।’
त्रिभुवन विश्वविद्यालय नखुल्दै पटना विश्वविद्यालयअन्तर्गत आनन्ददेव भट्टसँगै नेपालबाट दुईजनाले अंग्रेजीमा स्नातकोत्तर गरेका थिए। ती थिए, भारतको केरलामा ८६ वर्षअघि जन्मिएका जर्ज जोन। जोनले पछि पोखरालाई सधैं माया गरिरहे। पोखराको पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रिन्सिपल जर्ज जोन र एलियाम्मा जोनको पोखरा साइनो, बसाइँ र योगदानबारे लेखक सरुभक्तले भावकीय मन्तव्य दिएका थिए। उनले भने, ‘नेपाललाई यति धेरै प्रेम गर्ने मान्छे कमै देखेको छु।’

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्यायमा महिला शीर्षकको विद्वत् प्रवचनमा नेपालमा महिलाहरू कानुनी, संस्थागत, नीतिगत एवम् व्यावहारिक रूपमै जोखिममा रहेको बताइन्। उनले भनिन्, ‘विज्ञान र प्रविधिको युग भनिए पनि नेपाली समाजमा अझै पनि लैङ्गिक हिंसा व्याप्त
छ। पछिल्ला केही महिनादेखि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनालाई लिएर सिंगो देश तरंगित छ। दिनहुँजसो उक्त घटनालाई लिएर प्रदर्शन भइरहेका छन्। सम्बन्धित निकायले अझैसम्म त्यसको दोषी किटान गरेर पक्राउ गर्न सकेको छैन। तर लैंगिक हिंसा भनेको बलात्कार मात्र होइन। लैंगिक हिंसाका अनेक स्वरूप छन्। तिनलाई नबुझी हामी यो हिंसा निमिट्यान्न पार्न सक्दैनौं। बलात्कार लैंगिक हिंसाको उच्च रूप हो भने हिंसा आफैंमा लैंगिक विभेदको उच्चतम रूप हो।’

लेखक खगेन्द्र संग्रौलाले आफ्नो स्तम्भलेखन कर्मलाई जीवनको भिन्नै अनुभवको पाठशालाका रूपमा अथ्र्याए। लेखक एवम् सम्पादक नारायण वाग्लेसँग रसिक मुडमा बहसिएका संग्रौलाले भने, ‘नेपालका धेरैजसो सम्पादकले हातमा कैंची लिएका छन्, ती परिष्कार र परिमार्जन गर्नुभन्दा कैंची–कटनी गर्नुमा ज्यादा रमाउँछन् कि रु’ वाग्ले र संग्रौलाबीचको यो बहसले दर्शकदीर्घाबाट पटकपटक ताली पाएको थियो।
कार्यक्रममा अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’ सार्वजनिक गरियो। पेन्गुइनले प्रकाशन गरेको पुस्तक मनीषाकी आमा सुष्मा कोइराला, अभिनेता राजेश हमाल, फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारी र पेन्गुइनका प्रतिनिधि अल्केशले सार्वजनिक गरे। पुस्तक लोकार्पणपछि कलाकार राजेश हमालले कोइरालासँग अन्तरसंवाद गरे। कोइरालाले भनिन्, ‘पुस्तकमा मैले भोगेको पीडा इमानदारीपूर्वक राखेकी छु, थप दुःखी बनाउन, पीडा दिनभन्दा पनि पाठकलाई केही प्रेरणा मिलोस् र जीवनको महŒव बुझाओस् भनेर लेखेकी हुँ।’ हिल्डको नेपाली अनुवाद भइसकेपछि नेपालबाट झनै बढी प्रतिक्रिया पाउने आशामा आफू रहेको उनले बताइन्।

यसरी नै जनकराज सापकोटालगायत दक्षिण एसियाका अन्य पत्रकार एवम् अनुसन्धाताका लेख समेटिएको ‘अनसर्टेन जर्निज’ पनि कार्यक्रममा सार्वजनिक गरियो। पत्रकार कुन्द दीक्षितले मोहम्मद हनिफसँग ‘रेड बर्ड्स’ पुस्तकबारे अन्तरसंवाद गरे। सीमा गोल्छा, शैली बस्नेत र आयुष श्रेष्ठले सूर्यास्तपछि पनि फेवा ताललाई ‘ठाडै ठट्टा’ मार्फत रंगीन बनाइरहे।यसपालिको महोत्सवका कुनै सेसनमा पनि वक्ता नभएका लेखक अमर न्यौपानेले वक्ताभन्दा श्रोता हुनुमै मज्जा भएको बताए। फेवातालको किनारमा भूपी कक्ष र अलि मियाँ कक्ष नामका दुई कक्षमा आठवटा विषयमा दिनभर छलफल भएको थियो। महोत्सव चार दिनसम्म चल्नेछ। समाचार नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया