काठमाडौं ।  मन जित्छ उसले, राम्रो गाउँछ जसले’ ट्यागलाइनका साथ सुरु भएको नेपाल आइडल–२ ले गत शुक्रबार रवि ओडलाई टाइटल विजेताका रूपमा पायो। गत साउन २४ गतेदेखि सुरु भएको नेपाल आइडल पुस ६ गते सकिएको छ।

पुरस्कारस्वरूप ओडले २२ लाख रुपैयाँको चेक, एउटा होन्डा डब्लूआर भी कार प्राप्त गरे। एउटा एल्बमको सम्झौता र विश्व भ्रमण गर्न पाउने मौकासमेत उनलाई छ। यस्तैगरी विक्रम बराल फस्ट रनरअप बन्न सफल भए। पुरस्कारबापत उनले २० लाखको चेक प्राप्त गरे।

सेकेन्ड रनरअप सुमित पाठक बनेका छन्। उनले १२ लाखको चेक प्राप्त गरे। थर्ड रनरअप भने अस्मिता अधिकारी भइन्। उनले होन्डा कम्पनीको स्कुटर प्राप्त गरेकी छन्।उनीहरू आउँदो डिसेम्बर १ देखि आफ्नो प्रस्तुतिका साथ विश्व भ्रमण गर्दैछन्। उनीहरूको भावी योजना के के छन् त रु

आइडलको मञ्च स्वर्ग जस्तै घर : रवि

‘जब ग्रान्ड फिनालेको रिजल्ट आउन सुरु भयो। अत्यन्तै डर लागेको थियो। चौथो हुनेको नाम उच्चारण हुनासाथ म अझै बाँचेको छु है भन्ने लाग्यो। तेस्रो प्रतियोगीमा सुमितको नाम सुन्दा म प्रथम नभए पनि दोस्रो पक्कै भएँ भन्ने लाग्यो। टाइटल विजेतामा आफ्नो नाम उच्चारण भएपछि म केही बोल्नै सकिनँ। शब्दविहीन भएँ म। म एकछिन सपनाको संसारमा हराएँ।’

नेपाल आइडल–२ का टाइटल विजेता रवि आफ्नो आइडल अनुभव सुनाउँदै थिए। एपी वान टेलीभिजनको स्टुडियोमा रहेको होस्टेलमा उनी आफ्ना अनुभव बाँडिरहेका थिए। अलिकति उत्सुकता, अलिकति खुसी र अलिकति डर मिसिएको उनको अनुहारमा अनगिन्ती सपना झल्किरहेको देखिन्थ्यो।

विजेता बनेपछिको अनुभव कस्तो छ रु उनी भन्छन्, ‘नेपाल आइडलले मेरो परिचय नै बदलियो। यो जित मेरो मात्र होइन, मलाई माया गर्ने तपाईं सम्पूर्णको हो’, उनी थप्छन्, ‘अत्यन्तै खुसी लागेको छ। नेपाल आइडलको विजेताको भार थाम्न अत्यन्तै गाह्रो छ, टाइटलको आफ्नै गरिमा छ। निकै सचेत, मेहनती र अझै लगनशील हुन जरुरी छ। प्रत्येक पाइलामा होसियारीका साथ काम गर्नु पर्नेछ। म यसको जिम्मेवारी पूरा गर्ने भरपुर कोसिस गर्छु।’

अडिसनमा आउँदा उत्कृष्टमा पुग्न सक्छु होला भन्नेसमेत उनलाई विश्वास थिएन। नेपाल आइडलको मञ्च स्वर्ग जस्तै घर सम्झने ओडले यो घरले अनमोल परिचय दिएको बताउँछन्। निकै कडा मेहनत र संघर्षका साथमा हरेक नेपालीको मायाले मात्र जित सम्भव भएको उनले बताए। उनले आफ्नो भागमा परेको गीतको प्रस्तुति दिनुअघि सयौं पटक सुन्ने र गीत गाउने र घण्टौं रियाज गरिरहने बताए।

पुरस्कारस्वरूप पाएको रकम के गर्ने योजना छ रु उनी भन्छन्, ‘म अत्यन्त निम्नवर्गीय परिवारमा जन्मेको हुँ। बुवा इन्डियामा काम गर्नुहुनछ। अब बुवालाई नेपाल फर्काउने र अलि राम्रो घर बनाइदिने रहर छ। परिवारले मेरा लागि आजसम्म सहयोग गर्नुभयो अब परिवारलाई व्यवस्थापन गर्छु। र, मेरो सांगीतिक यात्रा अगाडि बढाउँछु। वल्र्ड टुर सकेपछि आफ्नै एल्बम निकाल्छु।’

धनगढी अडिसनमा कमल खत्रीको आवाजमा रहेको ‘जाउँला रेलैमा’ बोलको गीत गाएर ओड नेपाल आइडलमा इन्ट्री पाएका हुन्। उनका बाजे पनि राम्रो देउडा गाउने गर्थे। बाजेसँगै उनी पनि गीत गाउने कोसिस गर्थे। सानैदेखि गीत गाउँदै गोठालो जान्थे। बाल्यकालमै आमा गुमाएका रवि ओडले औपचारिक रूपमा संगीत सिक्न भने पाएनन्। तर मेला महोत्सवमा गीत गाउँदै हिँड्थे।

लोकदोहोरी, देउडा, क्लासिकल, मेलोडियस तथा फिल्मी सबै प्र्रकारका गीतमा उनको स्वर फिट सुनिन्छ। सुदूरपश्चिमेली ठाडो भाका उनी विशेष रूपले गाउँछन्। नेपाल आइडलको सुरुआतदेखि नै उनले अब्बल प्रस्तुति दिँदै आएका थिए।

ओडले निकै मेहनतका साथ आइडलमा प्रत्येक पटक आफूलाई निर्खादै लगेका थिए। उनी स्वरमा जादु चलाउन सक्षम छन्। उनलाई नेपाल आइडल बनाउन सुदूरपश्चिमलगायत सातै प्रदेशबाट भोट आएको थियो। उनी सुगम पोखरेल, हेमन्त राना र शिव परियारका फ्यान हुन्।

दोस्रो हुनु अमूल्य उपलब्धि :विक्रम

‘नेपाल आइडलमा आएर मैले जीवनमा धेरै अमूल्य चिज प्राप्त गरेको छु। मेरो परिचय नै फेरियो। स्वदेश तथा विदेशमा मैले आफ्नै खालका फ्यान कमाएको छु। यो मेरो अत्यन्तै ठूलो सम्पत्ति हो। यो सम्पत्तिको मलाई अत्यन्तै माया छ।’ नेपाल आइडलको हरेक कार्यक्रममा फरकफरक गीतमा उत्कृष्ट प्रस्तुति दिन सफल भए विक्रम। उनले हरेक कार्यक्रममा भेरियसन दिन कोसिस गरेको बताए। कार्यक्रममा कहिल्यै नसुनेका गीतलाई पनि न्याय गर्ने निरन्तर मेहनत गरेको उनले बताए।

‘कतिपय गीतलाई आफ्नै शैली मिसाएर मोडिफाई नि गर्न सकिन्छ, मेरो फरकपन भनेकै यही हो’, अनुभवसँगैको आफ्नो आत्मविश्वास सुनाए उनले। पुरस्कार पाएको रकम आफ्नो सांगीतिक विकास र घर परिवारका लागि खर्च गर्ने उनले बताए। पोखरामा लामो समय बारमा गीत गाइरहेका उनले बार गायकलाई सबैले हेपेको देखेका छन्। उनलाई यो सम्झँदा अत्यन्त दुःख लाग्छ। नेपाल आइडलले दिएको सम्मान, इज्जत र माया समेट्दै श्रोताका लागि विशेष प्रकारको एल्बम निकाल्ने सोच रहेको उनले जानकारी दिए।

उनी लामो समयदेखि संगीत कर्ममै लागेका छन्। चितवन स्थायी घर भएका उनी हाल पोखरामा बसेर पढाइसँग सँगै सांगीतिक क्षेत्रमा काम गरिरहेका छन्। संगीत सिक्ने र यही क्षेत्रमा केही विशेष गर्ने तिर्खाले उनलाई कहिले क्लासिक भोकल सिक्ने ठाउँमा पुर्‍यायो त कहिले गजल ब्यान्डमा। हाल उनी पोखराकै रक ब्यान्ड अडियो फर्ममा काम गरिरहेका छन्।

नेपाल आइडलमा सबैले मन पराएका प्रतियोगीका रूपमा आफ्नो परिचय बनाइसकेका छन्। नेपाल आइडल १ मा पनि सहभागी भएका उनी मेगा अडिसनबाटै बाहिरिएका थिए। जसरी पनि यही क्षेत्रमा राम्रो गर्नु छ भन्ने आत्मविश्वास राखेका उनकी आमाले पनि गीत गुनगुनाउने गर्छिन्। उनले त्रिवेणी संगीतालयमा दुई वर्ष औपचारिक रूपमा क्लासिकल भोकल सिके। सुरुआतमा रक गीत गाउन मन पराउने विक्रम अहिले पप, क्लासिकल र सुगम संगीतका पारखी हुन्।

उनले पोखरा अडिसनमा ‘मर्न बरु गाह्रो हुन्न’ बोलको गीत गाएर गोल्डेन माइक जितेका थिए। उनकी आमा पनि संगीतको पारखी हुन्। आमाबुवाको आशीर्वादले नै आफू यहाँसम्म आइपुगेको विश्वास गर्ने विक्रमनारायण गोपाल, गुलाम अली र अरुण थापाका फ्यान हुन्। विक्रमले अहिले प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘ प्रसाद’ मा पनि स्वर दिएका छन्।

ब्यान्ड खोल्ने सपना छ : सुमित

झापाका सुमित पाठकले काठमाडौं अडिसनमा ‘गल्ती हजार हुन्छन्’ बोलको गीतमा कर्णप्रिय आवाज दिएर गोल्डेन बाइक जितेका थिए। सानैदेखि घरमा सांगीतिक माहोलमा हुर्किएका सुमितका बुवा संगीत शिक्षक हुन्। बच्चाबेलादेखि नै उनी गायनमा अब्बल थिए। सानोमै आमाको मायाबाट वञ्चित पाठकलाई संगीतले भने निरन्तर साथ दिइरह्यो। उनकी आमा छोराले राम्रो गरोस् भन्ने चाहन्थिन्। ‘आमाको सपना पूरा गर्न पनि म संगीतमा मेहनत गरिरहेको छु’, उनले बताए।

संगीतमा औपचारिक सीप सिक्न र साधना गर्न नपाएको बताउने सुमित आफूले युट्युव हेरेर नै गाउन सिकेको बताउँछन्। अडिसनमा छनोट भएपछि मात्र उनले आफ्नो भोकललाई तिर्खाने मौका पाए।

 

उनी संगीत गुरु इन्द्र आर्बीसँग संगीतका सुर, ताल सिकिरहेका छन्। ‘म सानैदेखि तबला बजाउँथेँ’, उनी भन्छन्, ‘घरमा बुवाले खोलेको म्युजिक इन्स्टिच्युट थियो त्यसले गर्दा पनि संगीतको संगत गर्न पाएँ।’ उनी कक्षा ७ मा पढ्दादेखि नै गितार बजाउनमा अभ्यस्त थिए। उनले नेपाली फिल्म अमेरिका ब्याइजमा समेत गीत गाइसकेका छन्।

नारायणगोपाल, भक्तराज, नेपथ्य र १९७४ एडीका गीत बढी सुन्ने पाठक रक, क्लासिकल, लोक सबै गीत गाउन सक्षम छन्। नेपाल आइडलमा तेस्रो स्थान प्राप्त गर्न आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे उनले। आउने दिनमा संगीत क्षेत्रमै लाग्ने जानकारी दिँदै आफूले आफ्ना फ्यानहरूका लागि कर्णप्रिय आवाजमा गीत निकाल्ने जानकारी दिए। उनी भन्छन्, ‘एउटा छुट्टै म्युजिकल ब्यान्ड खोल्ने खुब रहर छ।’

नर्सिङ मेरो सपना, गायन मेरो चाहना : अस्मिता

नेपाल आइडलको उत्कृष्ट चारमा सफल भइन् अस्मिता अधिकारी। उनले पुरस्कारस्वरूप एउटा स्कुटी प्राप्त गरेकी छन्। यहाँ पुग्नु नै आफ्ना लागि ठूलो उपलब्धि भएको र अत्यन्त मीठो अनुभव सँगालेको उनले बताइन्। उनले ‘मेरो प्यारो मान्छे तिमी’ बोलको गीतमा उत्कृष्ट आवाज दिएर नेपाल आइडलमा प्रवेश पाएकी हुन्। पेसाले नर्स हुन् अधिकारी। उनले नेपाल मेडिकल कलेज जोरपाटीबाट बी एस्सी नसिङ पूरा गरेकी छन्। स्वास्थ्यसँगै संगीतमा केही गर्ने रहर छ उनलाई।

औपचारिक रूपमा ६ महिना शास्त्रीय संगीत सिकेकी उनी नर्सिङ पढ्दै गर्दा पनि औपचारिक कार्यक्रममा गीत गाउने गर्थिन्। उनको परिवारमा कोही पनि संगीत क्षेत्रमा छैनन्। उनी भने सानैदेखि मीठो लयमा भजन गाउने गर्थिन्। फुर्सद पाएको कुनै पल होस् उनी गीत गुनगुनाइरहेकी हुन्छिन्। पढाइ नर्सिङ तर रहर गीत गाउने, दुवै फरक विधा। तर उनलाई अप्ठ्यारो लागेको छैन। भन्छिन्, ‘दुवै कामलाई सँगसँगै लैजान सक्ने क्षमता छ मसँग। सेवाका लागि नर्स र रुचिका लागि गायिका बन्छु, गीत सुनाउँदै बिरामीको उपचार गर्छु।’

नर्सिङ विषयमा मास्र्टर्स गर्ने उनको मुख्य सपना हो। अहिलेको यो सफलतापछि व्यावसायिक रूपमा नै गीतसंगीतमा मेहनत गर्ने सोच राखेकी छन्। उनी अञ्जु पन्तको स्वरको फ्यान नै हुन्। अरुणा लामा, तारा देवी र नारायणगोपालका मेलोडियस गीत उनलाई विशेष मन पर्छ। उनमा पप, लोक, आधुनिक, सेन्टिमेन्टल सबै खालका गीतमा स्वर दिन सक्ने खुबी छ।

आफूलाई चौथो स्थानसम्म पुर्‍याउन सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गर्दै उनले आउने दिनमा यही क्षेत्रमा अझ राम्रो गर्ने बताइन्। उनी भन्छिन्, ‘संगीत मेरो नसानसामा छ,। उनी हरेक प्रकारका गीतमा अब्बल प्रस्तुति दिने प्रतियोगीमा पर्छिन्। आउने दिनमा व्यावसायिक रूपमा संगीतलाई अगाडि लैजाने र आफ्नो सपना पूरा गर्नको लागि नर्सिङ पेसा पनि अपनाउने उनले बताइन्।  समाचार अन्नपूर्ण पोष्टमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia