इजरायली सेना र लेबनानी सेनाबीच सीमा रेखा (ब्लु लाइन) मा विवाद सिर्जना भएपछि त्यसको साम्य पार्ने काममा नेपाली सेना खटिएको छ । विवादित क्षेत्रमा नेपाली सेनाको टोलीले बफर जोन बनाएर स्थितिलाई संयमित पार्ने काम गरिरहेको छ ।

त्यस क्षेत्रमा हिंसा भड्किन नदिन र विवाद साम्य पार्न नेपाली बटालियनले फौज तैनाथ गरी उनीहरुका गतिविधिमाथि निरन्तर निगरानी राख्दै आएको छ ।राष्ट्र संघको आह्वानमा गत २२ मंसिरमा शान्ति स्थापनार्थ लेबनानमा खटिएको संयुक्त राष्ट्रसंघको अन्तरिम फोर्स (यूएनआईएफआईएल) मिसनको रणशार्दुल गण, ६०औं डफ्फाको जिम्मेवारी क्षेत्रस्थित ब्लु लाइन ब्यारेल–६४ नजिकै विवाद उत्पन्न भएको हो । ब्यारेल ६४ इलाकामा इजरायली सुरक्षा फोर्सले ट्रेन्स्च अर्थात् पर्खाल र खाडल बनाउन थालेपछि लेबनिस आर्मी फोर्सले विरोध गरेको थियो । ट्रेन्स्चका विषयमा इजरायली र लेबनानी सुुरक्षा दस्ताबीच विवाद बढेपछि विवाद संयमित बनाउन शान्ति सुरक्षामा खटिएको नेपाली सेनाले बफर जोन बनाएर स्थितिलाई संयमित बनाउने काम गरिरहेको हो ।’

नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले त्यस क्षेत्रमा विवाद निकै बढेपछि नेपाली बटालियनले बफर जोन बनाएर विवाद साम्य बनाउने काम गरिरहेको छ । उनका अनुसार विवाद अझै हल हुन सकेको छैन ।विवादित क्षेत्रमा २४ मंसिरमा पूर्वी कमान्डर बिर्गेडियर जेनेरल एन्टोनिओ रोमेरो लोसडाले निरीक्षण गरेका थिए । त्यस क्रममा पूर्वीकमान्डका रूपमा खटिएका नेपाली बटालियनका गणपतिले वस्तुस्थितिबारे जानकारी गराएका थिए ।दुवै देशका टोलीबीच आआफ्नो तहमा वार्ता भइरहेको र विवाद साम्य भएपछि त्यस क्षेत्रमा खटिएको नेपाली बटालियन फिर्ता हुने योजना रहेको नेपाली सेनाले जनाएको छ । विवादित क्षेत्रमा २६ मंसिरमा सहायक रथी सुरेशकुमार बानियाले पनि निरीक्षण गरेका थिए । समाचार राजधानी दैनिकमा छ ।

तपाईको प्रतिक्रिया