- राम नारायण पंडित


सिरहाको कर्जन्हा नगरपालिका ५ वस्तिपुरमा बुधबार आयोजित किसान नेता जयगोविन्द साहको २९ औं स्मृति दिवसलाई सम्वोधन गर्दै नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अहिलेको सरकारले कानुन अभावमा धेरै काम गर्न नसकिरहेको बताएका छन् । बर्तमान सरकार संयन्त्र सहितको परिवर्तन भएको भन्दै उनले नयाँ कानुन बनाउँदै कामलाई अगाडी बढाउनु पर्ने भएकाले काम नभएको जस्तो मात्र देखिएको जिकिर गरे ।

सरकारले फाल्गुन मसान्त भित्रै सवै कानुन बनाएर विकास निर्माणका कामलाई तिव्रता दिने उनले बताए । मन्त्री पोखरेलले बर्तमान सरकारले आफ्नो कार्यकालमा चुनावी घोषणापत्रलाई पुरै कार्यान्वयन गर्ने दाबी गरे । उनले भने “हामीले समाजिक सुरक्षाभत्ता पाँच हजार बनाउने भनेका छौं, त्यो यही सरकारले पुर्याउँछ ।”

मन्त्री पोखरेलले कमला सुनकोसी डाइर्भसन र सुनकोशी मडिन डाइभर्सनको कामलाई अगाडी बढाएर तराइको उर्वर जमिनमा सिंचाई गरी किसानलाई खुसहाली बनाउने दाबी गरे । अंगिकृत नागरिकता बाँडेर नेपाली जनतालाई अल्पमतमा पार्ने पक्षमा नरहेको समेत उनले बताए । उनले भने “अंगिकृत नागरिकताको भेल बाढी बगाएर नेपाली जनतालाई अल्पमतमा पार्न चाहन्नौं, ‘सरकारले विदेशी बुहारीलाई अंगिकृत नागरिकता दिने निर्णय गरिसकेका छ ।”

नेपाल बहुजाती, भाषा, धर्म भएको देश रहेको भन्दै मन्त्री पोखरेलले हिन्दी भाषाको प्रवेश गराएर आफ्नै मैथली भाषाको हत्या गर्न नदिने बताए । उनले भने “तराइको धेरै मानिसले मैथिली भाषा बोल्ने र बुझ्ने भएकाले मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन सकिन्छ, हिन्दी भाषालाई प्रवेश गराएर हामी हाम्रै भाषालाई ‘हलाल’ गर्न दिन्नौं ।”

किसान नेता जयगोविन्द साहको जन्म वि.सं. १९७६ सालमा सिरहाको जेलमा भएको थियो भने वि.सं. २०४६ साल पौष २५ गते निधन भएको थियो । भारतको जयनगरमा निधन भएको साहको शव तत्कालिन राजतन्त्रात्मक सरकारले नेपाल ल्याउन समेत दिएका थिएनन् ।

स्मृति सभामा नेकपाका नेता धर्मनाथ साह, महेन्द्र पासमान, अजय शंकर नायक, बिश्बनाथ साह, प्रदेश २ का अध्यक्ष प्रभु साह, संघिय सांसद लिलानाथ श्रेष्ठ, बोधमाया यादब, प्रदेश सांसद सत्यनारायण मंडल, रामकुमार यादब, दिलिप साह लगायतकाले सम्बोधन गरेका थिए । उक्त क्रममा बिभिन्न पार्टी परित्याग गरी २ दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु नेकपामा प्रबेश गरेका छन् ।

तपाईको प्रतिक्रिया