काठमाडौँ / राष्ट्रिय परिचयपत्र नागरिकता नपाएकालाई पनि दिइने भएको छन् । नागरिकता बनाउने उमेर नपुगेकाले नाबालक परिचयपत्र बनाउने व्यवस्था गरिएको छ । फेरि परिचयपत्र लिनुपरेमा भने पुनः जैविक विवरणहरु उपलब्ध गराउनुपर्ने हुन्छ ।

सरकारद्वारा संघीय संसद् सचिवालयमा दर्ता गराइएको ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उक्त प्रावधान राखिएको छ । नेपालको संविधानको धारा ५१ को ‘राज्यका नीतिहरु’ सम्बन्धी व्यवस्थाअन्तर्गत खण्ड ‘च’ को उपखण्ड (७) मा ‘एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली विकास गरी नागरिकका सबै प्रकारका सूचना र विवरणहरु एकीकृत रुपमा व्यवस्थापन गर्ने तथा यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा र राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने’ कुरा उल्लेख छ ।

गृहमन्त्री रामबहादुर थापाले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको औपचारिक सुरुआत गर्नुभएको थियो । यही मंसिर ३ गते १ सय १ वर्षीया भगवतीदेवी भण्डारीले सर्वप्रथम उक्त परिचयपत्र पाउनुभएको थियो । पहिलो चरणमा पाँचथर र सिंहदरबारभित्रका निमाजती कर्मचारी र सेना, प्रहरीलाई वितरण गर्न थालिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । विभागका निर्देशकसमेत रहनुभएका जोशीले सिंहदरबारभित्र केही कार्यालयमा आफैं गएर औंलाको छाप लिएको र परिचयपत्र बनाउने काम भएको बताउनुभयो। परिचय नम्बर प्राप्त व्यक्तिको मृत्यु भए वा कुनै कारणबाट त्यस्तो व्यक्तिको परिचयपत्र रद्ध भएको वा कायम नरहेको अवस्थामा परिचयपत्र नम्बर अरुलाई नदिइने व्यवस्था रहेकाे खबर आजकाे नेपाल समाचारपत्रमा छ ।

तपाईको प्रतिक्रिया