- अमर काफ्ले

सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत ग्रुप डीबाट रनरेटका आधारमा प्रदेश नम्वर एक सेमिफाइनल प्रवेश गरेको छ । इनरुवा खेल मैदानमा समूहको आफ्नो अन्तिम खेलमा प्रदेश ४ माथि रनरेटमा बाजी मार्दै प्रदेश नम्वर एक सेमिफाइनल पुग्न सफल भएको हो । सेमिफाइनलकालागि प्रदेश १ र प्रदेश ४ को नतिजा कुरेको एपीएफ भने प्रदेश एकको अविश्वसनीय प्रर्दशनसँगै रनरेटमा पछि पर्दै घर फर्किएको छ । पछिल्लो जितसँगै प्रदेश एकको रनरेट प्लस १ दशमलव ३४ पुग्दा प्रदेश ४को प्लस ० दशमलव ८८ रहेपछि गु्रपमा पहिलो हुँदै प्रदेश एक अघिल्लो चरणमा पुगेको हो ।

एपीएफ र प्रदेश नम्वर ४ ले समान एक–एक खेल जितेकाले समेत अघिल्लो चरण प्रवेशकालागि प्रदेश एकलाई ठुलो रनरेटमा जितको खाँचो थियो । टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश एकले जितकालागि प्रदेश नम्वर ४ लाई २ सय ९३ रनको लक्ष दिएको थियो । सेमिफाइनलमा पुग्न प्रदेश एकले प्रदेश नम्वर ४ लाई १ सय ११ रनको स्कोरमा रोक्न आवश्यक थियो । अन्ततः उत्कृष्ठ बलिङ र फिल्डिङ गर्दै प्रदेश नम्वर १ ले अविश्वनीय जित निकाल्यो । प्रदेश नम्वर ४ मात्र १५ दशमलव १ ओभर क्रिजमा टिक्न सक्यो । ६६ रनमा अलआउट पार्दै २ सय २६ रनको सनसनिपूर्ण जित निकालेसँगै प्रदेश नम्वर एक सेमिफाइन पुग्ने तेस्रो टिम बनेको छ ।

टिमलाई जित दिलाउन मनोज मण्डल र सिद्धान्त लोहनीले ३–३ विकेट चटकाउँदा दिपेश कंडेलले २ र पुष्प थापाले १ विकेट लिए । प्रदेश ४ कालागि सुमन घिमिरेले २५, अमृत गुरुङले १३ र मुस्कान थापाले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रनको आंकडा छुन सकेनन् । अब सेमिफाइनलमा प्रदेश एकले विभागिय टिम नेपाल आर्मीको सामना गर्नेछ । यसअघि पहिलो ब्याटिङ गरेको प्रदेश एक ले निर्धारित ५० ओभरको खेलमा २ सय ९२ रन जोडेको थियो । प्रदेश एककालागि ओपनर मिनास थापाले सतकीय पारी खेलेका छन् । १ सय १० बलको सामना गरेका थापाले १६ चौका र २ छक्काको मद्दतमा १ सय ८ रन बनाए । त्यसैगरी निरज मुखियाले बोल्ड हुनअघि ४१ रन जोडे । थापा र मुखियाले पहिलो विकेटकालागि १ सय ५६ रनको साझेदारी गर्दै टिमकालागि ठोस सुरुवात दिलाएका थिए । उत्कृष्ठ सुरुवातसँगै उच्च योगफल तर्फ लम्केपनि मध्यक्रमका ब्याट्सम्यान धरमराउँदा प्रदेश एकले ३ सय रनको आंकडा पार गर्न भने सकेन् । प्रदेश ४का किशोर महतोले ३ र अमृत गुरुङ, बिपिन खत्री र सन्तोष न्यौपानेले समान २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच मिनास थापा घोषित भए । प्रतियोगिता अन्र्तगत भोलिको खेल क्षेत्र नम्वर ५ र भारतको सुपौल क्रिकेट टिमबिच खेल हुने छ ।

तपाईको प्रतिक्रिया