काठमाडौं । दक्षिण अफ्रिकी राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी फिल मासिंगाको निधन भएको छ। ४९ वर्षीय मासिंगाको आइतबार राति उपचारका क्रममा निधन भएको हो। उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। दक्षिण अफ्रिकी टोलीका पूर्वकप्तान लुकास राडेबेले मासिंगाको निधनबाट दक्षिण अफ्रिकी फुटबलमा अपुरणीय क्षत्ति पुगेको बताएका छन्। ‘अन्ततः उनी क्यान्सरसँग पराजित भए। उनको निधनसँगै दक्षिण अफ्रिकी फुटबलले एउटा महान फुटबलर गुमाएको छ। उनको निधनबाट हामी स्तब्ध छौं’, राडेबेले भनेका छन्।

आफ्नो समयका चर्चित स्ट्राइकर मासिंगाले सन् १९९२ देखि सन् २००० सम्म दक्षिण अफ्रिकाका लागि ५८ खेल खेल्दै १८ गोल गरेका थिए। उनले सन् १९९४ देखि सन् १९९६ सम्म इङ्लिस क्लब लिड्स युनाइटेडबाट पनि व्यवसायिक फुटबल खेलेका थिए।

मासिंगाले सन् १९९२ को जुलाईमा क्यामरुनविरुद्धको खेलसँगै राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए। उनले कंगोविरुद्ध गरेको गोललाई दक्षिण अफ्रिकी जनताले कहिल्यै भुल्ने छैनन्। उनले गरेको सोही गोलका कारण दक्षिण अफ्रिका पहिलो पटक सन् १९९८ को विश्वकप फुटबलमा छनोट भएको थियो।

दक्षिण अफ्रिकाले सन् १९९६ मा ‘अफ्रिका कप अफ नेसन्स’ को उपाधि जित्दा पनि मासिंगा टोलीको महत्वपूर्ण सदस्य थिए। ‘दक्षिण अफ्रिकाको फुटबलका लागि यो दुःखद क्षण हो’, दक्षिण अफ्रिकी फुटबल संघका अध्यक्ष डेनी जोर्डानले भनेका छन्, ‘उनको भौतिक शरिर हामीमाझ नरहे पनि उनी दक्षिण अफ्रिकी जनताको सम्झनामा सँधै जीवित रहने छन्।’  समाचार अन्नपूर्ण पोष्टमा छ ।

तपाईको प्रतिक्रिया