विराटनगर । हुण्डी कारोबारमा सम्लग्न भएको भन्दै बिराटनगरमा रहेको एक सहकारीका अध्यक्ष सहित तीन जना पक्राउ परेका छन् । हुण्डी कारोबारी पक्राउपरे सँगै हुण्डी कारोवारमा सहकारी सस्था नै संलग्न हुने गरेको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट ५९ लाख ७ हजार ६ सय रकमसहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो ।

प्रहरीले विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेका ३ जना सहित उक्त रकम बरामद गरेको हो। पक्राउ पर्नेमा सहकारीका अध्यक्ष तथा विराटनगर ७ का राजेश हेडा, विराटनगर ११ का सुमित साह र विराटनगर १२ का दिपककुमार कर्ण रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले लामो समयदेखिको अनुसन्धान र फलोअप पछि उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए।

प्रहरीले सहकारीका अध्यक्ष हेडाको कार्यकक्षबाट नगद ५९ लाख ७ हजार ६ सय रुपैयाँ बरामत गरेको थियो। सहकारी संस्थाको आडमा हेडाले हुण्डी कारोबार गर्दै आएको खुलेको प्रहरीको भनाइ छ। सोही संस्थाबाट नै सुमित साहको साथबाट ९ लाख ५० हजार पनि बरामद गर्न प्रहरी सफल भएको प्रहरीले जनाएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि म्याद थप गरी इटहरीस्थित राजस्व अनुसन्धान विभाग पठाइने केसीले जानकारी दिए। यस घटनाले विराटनगरमा अवैध हुण्डी कारोबारी हुने गरेको प्रष्ट पारेको छ । पछिल्लो समय सहकारीमा बचत तथा ऋणको कारोबारबढि हुने गरेको र सहकारीबाट हुण्डी कारोबार हुने गरेको प्रहरीले सुचना प्राप्त गरेको थियो ।

तपाईको प्रतिक्रिया