- अमर काफ्ले

अवैधानिक रुपमा कलेज संचालन गरेको उजुरीका आधारमा एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. इनरुवाका संचालक बिनोद शर्मा पक्राउ परेका छन् । अवैधानिक रुपमा संचालनमा रहेको कलेजले मनोमानी शुल्क लिदै आएको भन्दै अभिभावकले सीटीईभिटीमा उजुरी गरेका थिए । उजुरीका आधारमा सीटीईभिटी क्षेत्रीय कार्यालय इटहरीको छानविनका क्रममा कलेज स्विकृती बेगर संचालनमा रहेको खुल्न आएको थियो । सोही विषयलाई कारण देखाउँदै सीटीईभिटीले कलेज बन्द गरी ठगी मुद्दामा कार्वाहीकालागि जिल्ला प्रशासनमा गरेको पत्राचारका आधारमा आवश्यक कार्वाही अघि बढाउन दिइएको आदेश बमोजिम सुनसरी प्रहरीले संचालक शर्मालाई पक्राउ गरेको हो ।

हिजो पक्राउ परेका शर्मालाई आज म्याद थप गरिएको छ । जिल्ला प्रहरी कार्यालयले शर्मा उपर ठगी मुद्दामा कार्वाही अघि बढाइएको जनाएको छ । शर्मालाई सुनसरी जिल्ला अदालतले ठगी मुद्दामा ६ दिन म्याद थप गरेको छ । आफुहरुले संचालन गरेको कलेज वैधानिक रहेको दाबी गर्दै आएको एलेन कलेजका संचालक शर्मा पक्राउ परेपनि अध्यक्ष रहेका मनोजकुमार मेहताभने स्वास्थ्य समस्याका कारण उपचारको क्रममा रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले चेकजाँच पश्चात मेहतालाई समेत नियन्त्रणमा लिई कानुनी कार्वाहीको प्रकृया अघि बढाइने जनाएको छ । एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. इनरुवाले सीटीईभिटीबाट मान्यता प्राप्त नै नगरी कम्प्युटर सिस्टम एडमिनिस्टर एण्ड डेभलोप्मेन्ट १३२० घण्टाकोे कार्यक्रम संचालन गर्दै आएको पाइएको थियो ।

कलेजले प्राविधिक शिक्षाका नाममा आफुखुसी कार्यक्रम संचालन गर्दै आएको र विद्यार्थीबाट चर्को शुल्क असुलेको पाइएको भन्दै स्वयं सीटीईभिटीनै कलेज बन्द गराई आवश्यक कार्वाहीको प्रकृयामा अघि बढाएको थियो । सोही अनुरुप सुनसरी प्रशासनको आदेश पश्चात आवश्यक कार्वाही र अनुसन्धानको प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानी पूर्वक हानीनोक्सानी वा क्षति पु¥याएमा निजले ठगी गरेको मानिने व्यवस्था ऐनमा उल्लेख गरिएको छ । ठगी ऐन अनुसार यस्ता कसुर गर्ने व्यक्तिलाई सात वर्ष सम्म कैद र ७० हजार रुपैंया सम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया