जनकपुरधाम / जनकपुरकी रुक्सना खातुन १३ वर्ष पुगिन् । घरनजिकै स्कुल पनि छ । प्रदेश सरकारले ‘बेटी पढाऊँ, बेटी जोगाऊँ’ अभियान चलाएको वर्षदिन पुग्यो । तर, रुक्सना सधैं स्कुलको गेटबाहिरै छिन् । गास जुटाउन रिक्सा लिएर रुक्सना जनकपुरको चोकचौराहा, हाटबजारका गल्लीगल्ली चहार्छिन् । पुस्तैनी रोग, भोक र गरिबीले उनको परिवार थला परेको छ । फ्याँकिएको प्लास्टिकका बोतल, कुट र फलामका टुक्राहरू बटुल्छिन् । साँझ कबाडमा लगेर बिक्री गर्छिन् । पसलबाट चामल, दाल, तरकारी, नुनतेल लिएर फर्किन्छिन् ।

उनलाई पढ्ने ठूलो धोको छ । तर, गरिबीले उनको स्कुल जाने बाटोमा छेकबार लगाइदिएको छ । उनी भन्छिन्, ‘पढ्न मन कसलाई हुँदैन, कबार बटुलेर कमाई नगरे खान पुग्दैन ।’शिक्षाको ज्योतिबाट वञ्चित रहकी उनी हुल बाँधेर कवाड बटुल्न रिक्सामा भङ्गा (ठूलो प्लास्टिकको बोरा०)राखेर हिँड्छिन् । मधेसमा गरिबीले रुक्सनाजस्ता हजारौं चेलीबेटीले विद्यालयको मुख देख्न पाएका छैनन् । छोरीहरू चरम विभेदमा छन् । छोरालाई स्कुल पढाइन्छ, छोरीलाई घरको कामकाजमा लगाइन्छ । उनी असंख्य छोरीहरू जनकपुरका होटलमा भाँडा माझ्छिन् । मालिकको घरमा नोकर बस्छिन् । आजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया