- अमर काफ्ले

सुनसरीको चतरा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमै पहिलो पटक आयोजना गरिएको श्रीरामतारक ब्रम्ह महायज्ञको औपचारिक उद्घाटन गर्नु भएको छ ।
हिन्दु धर्म गुरुहरुका अनुसार सुनसरीको चतराधाममा सुरु भएको श्रीरामतारक ब्रम्ह महायज्ञ ७ सय ५ वर्ष पहिला भारतमा सम्पन्न भएपश्चात विश्वमै दोस्रो पटक र नेपालका लागि पहिलो हो ।
प्राचिन हरिद्वार मानिने सुनसरीको चतराधाम पुग्नु भएकी राष्ट्रपति भण्डारीले रामानन्द सेवा पिठले निर्माण गरेको भवनसँगै महायज्ञको औपचारिक उद्घाटन गर्नु भएको हो ।
सेवा पिठले साढे आठ करोड लागतमा १ सय २६ कोठा भएका तीनवटा भवन निर्माण गरी राष्ट्रपतिबाट उद्घाटन गराएको हो ।
महायज्ञ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महायज्ञ राष्ट्रकै लागि गौरवको विषय भएको बताउनु भयो । पर्यटन र प्रवद्धनका क्षेत्रमा जोड दिन सकिए मुलुकको समृद्धिकालागि महत्वपूर्ण हुने भण्डारीको भनाई थियो ।


मुलुककै उत्कृष्ठ धार्मिक स्थलका रुपमा रहेको बराहक्षेत्र समिपको चतराधाममा विश्वशान्तिको कामना साथ आयोजित महायज्ञले मुलुकै सान बढाउने मात्र नभई प्राकृतिक वातावरण सुद्धिकरणका हिसाबले समेत महत्वपूर्ण हुने भण्डारीले विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा एक नम्वर प्रदेशका मुख्य मंत्री शेरधन राईले पर्यटनसँग जोडेर प्रदेशको समृद्धिको खाका तय गर्दै अघि बढ्ने धारणा राख्नु भयो । हरित क्षेत्रको अवधारणालाई महायज्ञसँगै जोडेर अघि बढाइने समेत राईले बताउनु भयो । मुख्यमंत्री राईले महायज्ञको औपचारिक उद्घाटनसँगै हरित प्रदेशको अभियान समेत सुरुवात भएको घोषणा गर्नुभएको छ ।


उद्घाटन कार्यक्रममा ठुलो संख्यामा नेपाल र भारतका हिन्दु धर्मका गुरु तथा साधुसन्त सहितको उपस्थिती रहेको थियो ।
फागुन ७ गते सम्म चल्ने महायज्ञ अवधीभरमा नेपाल सहित भारत र विश्वका अन्य विभिन्न मुलुकबाट साधुसन्त सहित हिन्दु धर्म गुरु लगायतको उपस्थिती रहने महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पिठ सुनसरीले जनाएको छ ।

सिद्धबाबा डा. कृष्णदासजी महाराजका अनुसार महायज्ञमा १६ करोड हवन गरिने छ । महायज्ञकालागि निर्माण गरिएको ९ तले मण्डपमा १ सय ८ वटा हवन कुण्ड निर्माण गरिएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia