काठमाडौं । अस्ट्रेलियाको बिगबास लिगमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने लिग चरणको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । आइतबारको खेलमा जित निकाल्दै उनको टीम मेलवर्न स्टार्सले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । मेलवर्न सिड्नी सिक्सर्समाथि ९४ रनको जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । सन्दीपले ३।४ ओभर बलिङ गर्दा ११ रन दिएर ३ विकेट लिए । आठौं ओभरमा बलिङ गर्न आएका उनले १ रन मात्रै दिएर १ विकेट लिए । त्यसपछि १० ओभरमा ५ रन दिए । १२ औं ओभरमा पनि उनले १ रन दिएर १ विकेट लिए । १४ औं ओभरमा उनले सिड्नीको अन्तिम विकेट लिँदै जित निश्चित गरिदिए ।

जित्नै पर्ने दबाबका बीच घरेलु मैदानमा खेलेको मेलवर्नले टस हारी पहिले ब्याटिङको निम्ता पाएको थियो । मेलवर्नले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । मेलवर्नका लागि कप्तान ग्लेन म्याक्वेलले ४३ बलमा ८२ रनको विस्फोटक पारी खेले ।

१६९ को सामान्य लक्ष्य पछ्याएको सिड्नीले सुरुमा राम्रो ब्याटिङ गरे पनि तेस्रो ओभरदेखि लगातार विकेट गुमेपछि १३।४ ओभरमा ७४ रनमा अलआउट हुँदा मेलवर्नको जित निश्चित भएको हो । ‘बिग बास लिग’का चार खेल खेली बङ्गलादेश प्रिमियर लिग बंगलादेश गएका थिए । त्यसपछि नेपाल र यूएईबीचको एकदिवसीय र टीट्वीन्टी श्रृंखला खेली सन्दीप उतैबाट बिगबास लिग खेल्न गएका हुन् । उनले शुक्रबार बिगबासको पाचौं खेल खेलेका थिए । २ ओभर बलिङ गर्दा बिना विकेट २८ रन दिएका सन्दीपले अर्को खेलमा उत्कृष्ट कमब्याक गरेका हुन् । यो सँगै सन्दीपको बिगबासमा ६ खेल खेल्दा ११ विकेट पुगेको छ । समाचार अन्नपूर्ण पोष्टमा छ ।

तपाईको प्रतिक्रिया