मोरङ । गाडीको चालक बस्ने सिट अगाडिको सिसामा राखिने विभिन्न सामग्रीका कारण दुर्घटना बढिरहेको निस्कर्ष निकाल्दै त्यस्ता सामग्री हटाउन प्रदेश १ मा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । सबै खाले सवारी साधनको अगाडिको सिसामा झुन्ड्याएर, टाँगेर र टाँसेर राख्ने गरेका विभिन्न खाले सामग्री हटाउनै पर्ने नियम बुधबारबाट प्रदेशका १४ वटै जिल्लामा लागू गरिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी रवि पौडेलले बताए । उनले सजावटका नाममा विभिन्न सामग्री राखिंदा त्यसले गम्भीर खाले दुर्घटना निम्त्याइरहेका कारण हटाउन प्रदेश भरी नै नौलो अभियान सुरु गरिएको जानकारी दिए ।

सडकमा गुड्ने यात्रुबहाक, मालबहाक एवं सार्वजनिक र निजी सवारी साधनको अगाडिको सिसामा विभिन्न बस्तु राखिंदा त्यसले चालकलाई अवरोध गरेर सडक दुर्घटना हुने गरेको निस्कर्ष ट्राफिक प्रहरीको छ ।

ट्राफिक प्रहरीले विभिन्न समयमा हुने मध्ये २० प्रतिशत दुर्घटना यस्ता बस्तुका कारण भएको निस्कर्ष निकालेको छ । विशेष गरेर यात्रुबहाक तथा मालबहाक सवारी साधनमा चालकदेखि अगाडिका सिसा नै ढाक्ने तथा छलिने गरी सजावटका नाममा विभिन्न बस्तुहरु राख्ने गरिएका छन् ।

धागोबाट बनेका झल्लर, विभिन्न व्यानर, चुरा, पोते, धागो, धेरै कुराहरु लेखिएका स्टिकर, हिरोहिरोनीका पोस्टर, विभिन्न पम्प्लेट, खेलौनाहरु, प्लाष्टिकका माला र फुलहरु चालकको अगाडिका सिसामा झुन्ड्याएर, टाँगेर र टाँसेर राख्ने गरिंदा त्यसले चालकलाई सवारी चलाउन बाधा गर्ने निस्कर्ष ट्राफिक प्रहरीको छ ।

यस्ता बस्तुले चालकलाई अगाडि हेरेर सवारी साधन कुदाउन अवरोध गर्ने एसपी पौडेलले बताए । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि यस्ता बस्तु हटाउन पटक÷पटक आग्रह गर्दा पनि चालक र सम्बन्धीत सवारी धनीले नमानेपछि हटान ट्राफिक प्रहरी आफै सक्रिय भएको छ । यसरी चालकको आँखै अगाडि पर्ने गरी गाडीमा सिसामा राखिने सामग्रीमा चालकको ध्यान जाँदा त्यसले दुर्घटना निम्त्याउने पौडेलले बताए । चालु आर्थिक वर्षको माघसम्ममा प्रदेशमा भएका सात सय २३ दुर्घटनामा एक सय चार जनाले ज्यान गुमाएका छन् भने एक हजार तीन सय २७ जना घाइते भएका छन् । गत आर्थिक वर्ष २०७४÷७५ को माघसम्ममा भएका दुई सय सवारी दुर्घटनामा परेर एक सय ५० जनाले ज्यान गुमाएका थिए ।

तपाईको प्रतिक्रिया