- जयकृष्ण यादव

इनरुवा। सुनसरी सदरमुकाम इनरुवा ९ बबियामा रहेको भगवती मन्दिर व्यवस्थापन समितिले सुरु गरेको महापुराणमा तुला र द्रव्य दान गर्नेहरु बढेका छन् । यहाँ मन्दिर र विबाह मण्डप निर्माणका लागि आयोजना गरेको महापुराणको पाँचौ दिनसम्ममा एक दर्जन स्थानीयले तुला तथा द्रव्य दान गरेका छन् ।समितिले माघ २७ गतेदेखी फागुन ६ गतेसम्म सञ्चालन गर्ने गरी सुरु गरेको श्रीमद्भागवत महापुराण धनधान्यञ्चल सप्ताह धार्मिक ज्ञान महायज्ञमा ४ वर्षिय बालक देखी ८४ वर्षिया वृद्धासम्मकाले तुला र द्रव्य दान गरेका छन् ।

बुधबार मात्रै यज्ञस्थलमा यहाँको मन्दिर र विबाह मण्डप निर्माणका लागि नेपालकै प्रखर यूवा प्रवक्ता व्यसाचार्य पंडित श्रीतारा प्रसाद कुईकेलले प्रबचन दिने क्रममा इनरुवा ९ बबियाकी ८४ वर्षिया दयालक्ष्मी फुयाल र इनरुवा ९ मेहता टोलका ४ वर्षिय बालक रामानुज प्रसाद मेहताले आफ्नो शरिरको तौल बराबरको सिक्का दान गर्नुभएको छ । उनीहरुले महापुराणको पाँचौ दिनमा द्रव्य दान गरेको आयोजकले जनाएको छ । यहाँ रहेको ऐतिहासिक भगवती मन्दिरमा कथा प्रवचन सहित जारी महापुराणको सबै दिन कथा र सांस्कृतिक कार्यक्रम जारी रहेको आयोजकले जनाएको छ ।

मन्दिर समितिका सचिव प्रभुप्रसाद पराजुलीले मन्दिरमा ५ दशक पछि ठूलो महापुराणको आयोजना गरेको र कथा सुन्ने तथा दान गर्नेहरु समेत क्रमशः बढेको जानकारी दिनुभएको छ। पराजुलीले मन्दिरमा साना सहायक मन्दिर र विबाह मण्डप निर्माणका लागि ऐतिहासिक महापुराणको आयोजना गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा संचार तथा प्रचारप्रसार प्रमुख विनोद खनालले तिर्थ स्थल साथै पर्यटकिय स्थलको सम्भावना भएको यो क्षेत्रमा पहिलो पटक बैदिक सनातन हिन्दुधर्म संरक्षणका साथै समस्त पितृ उद्धारार्थ र मन्दिर परिषरको भौतिक संरचनाहरु निर्माण सहयोगार्थ र विबाह मण्डप निर्माणका लागि आयोजना गरिएको महापुराणमा पितृहरुका नाममा कार्यक्रम अवधि प्रत्येक दिन विहान पितृतपर्ण, हवन कार्यक्रम जारी रहेको जानकारी दिनुभयो। खनालका अनुसार महापुराणको पहिलो दिन माघ २७ गते कलश शोभा यात्रा गरी दिउसो उद्घाटन भएको र माघ २८ गतेबाट दैनिक मण्डप पुजनपाठ, हवन, फागुन ५ गते दीप प्रज्जवलन रात्री जागग्राम, फागुन ६ गते पूर्णाहुती समापन एवम तिलकपाती वितरण कार्यक्रम र पितृहरुका नाममा कार्यक्रम अवधि प्रत्येक दिन विहान पितृतपर्ण, हवन कार्यक्रम रहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया