विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–१ मा मंगलबार राति दुई युवा समूहबीचमा दोहोरो झडप भएको छ । पुरानो रिसिईवीलाई लिएर विवाद बढ्दै जाँदा भएको झगडामा खुकुरी हानाहान हुँदा एक जना घाइते भएका छन् । खुुकुरी प्रहारबाट घाइते भएका बुढीगंगा–१ का २० वर्षीय जीवन यादवको अवस्था गम्भीर छ । उनीमाथि बुढीगंगा–३ का १८ वर्षीय मौसम राई, सविन राउत, सुजित हिङमाङ, १७ वर्षीय सुवास नेपाली र पथरीशनिश्चरे नगरपालिकाका २० वर्षीय अभिषेक राई समेतको समूहले खुकुरी प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।

खुकुरी प्रहारबाट दुबै हात, पेट र आन्द्रामा समेत चोट लागेपछि यादवको गम्भीर अवस्थामा नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । यादवको पेटको शल्यक्रिया गरिएको र अवस्था खतरामुक्त नरहेको जानकारी उपचारमा संलग्न चिकित्सकले गराएको प्रहरीको भनाइ छ ।

मौसमसँग यादवको पुरानो रिसिईवी रहेको प्रहरीले पत्ता लगाएको छ । तर कस्तो खालको रिसिईवी भन्ने प्रहरीले खुलाएन । पुरानो विवादका कारण दुई समूहबीच झगडा हुन थालेपछि अभिषेक राईले यादवमाथि खुकुरी हानेको प्रहरीले जनाएको छ । तर यादव समूहमा को को युवा थिए भन्ने बारेमा खुलिनसकेको प्रहरीको भनाइ छ । खुकुरी प्रहार गर्ने अभिषेक फरार छन् । उनको खोजी भइरहेको र अन्य चार जना युवालाई भने पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको एसपी केसीले बताए । झडपका क्रममा मौसमको पनि आँखामा चोट लागेको छ । प्रहरीले घटनामा प्रयोग गरिएको खुकुरी बरामद गर्न सकेको छैन । झडपपछि खुकुरी फ्यालेर युवाहरु भागेका कारण घटनामा प्रयोग गरिएको खुकुरी बरामद हुन नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया