काठमाडौं ।
घटना १ :

अघिल्लो साता जनकपुरको मिथिला नगरपालिका–३ हरिहरपुरमा ९ वर्षीया बालिकाको बलात्कारपछि विभत्स हत्या भयो। बलात्कारपछि हत्या गरी बालिकाको शव जलाइयो। आधा शरीर जलेको अवस्थामा गाउँलेले बालिकाका शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटना २

सिरहाको गोलबजार र धनगढीमाई नगरपालिकामा गत मंगलबार १२ वर्षीया बालिका र १७ वर्षीया किशोरीको बलात्कार भयो। चन्डेरा जंगलमा दाउरा लिन गएका बेला किशोरीको बलात्कार भएको हो।

घटना ३

गत फागुन ३ गते अर्घाखाँचीको भूमिकास्थान गाउँपालिकाका १० वर्षीया बालिका बलात्कृत भइन्। बलात्कार आरोपमा ६८ वर्षीय डण्डबहादुर विश्वकर्मा पक्राउ परे। यी तीन फरक जिल्लाका घटना एक साता भित्र घटे। दैनिकजसो बलात्कारका घटना हुँदै आएका छन्। सरोकारवाला निकाय घटना न्यूनिकरणमा लागि परेको बताए पनि रोकिएको छैन।

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान अझै टुंगिएको छैन। साउन १० गते भएको यो घटनाका मुख्य दोषीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। प्रहरीको तीनवटा टोली अहिले कञ्चपुरमै छ। केन्द्रीय अनुसन्धान ब्युरोबाट एसपी सुदिप गिरी, महानगरीय प्रहरी अपराध महाशाखाबाट डीएसपी रुगम कुँवर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली अनुसन्धानमै छ।

निर्मलाको बलात्कारपछि हत्या भएको घटनाले सडकदेखि सदनसम्म चर्चा पायो। जनकपुरमा बलात्कारपछि जलाएर हत्या गरेको घटना अहिले जनकपुरमामा मात्रै सीमित छ। एउटै प्रकृतिका दुई घटनाको संवेदनशीलता एउटै हो। सत्तापक्षले निर्मलाको घटनालाई प्रतिपक्षले राजनीति गरेको आरोप समेत लगायो।

प्रतिपक्षले सदनमा गृहमन्त्री र प्रहरी महानिरीक्षकको राजिनामा समेत मागे। संवेदनशील घटनामा प्रहरीले गर्नुपर्ने अनुसन्धान र अपनाउनुपर्ने पूर्व तयारीका बारेमा जानकार हुँदाहुँदै पनि बलात्कारका घटना नरोकिनुले सुरक्षा निकायमाथि प्रश्नचिह्न उब्जिएको छ।

प्रहरी प्रधान कार्यालयकै आँकडा हेर्ने हो भने वर्षेनी बलात्कारका घटना बढेका छन्। मुख्यालयका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा देशभर एक हजार ९३ वटा बलात्कारका घटना भएका छन्।

२०७३/०७४ मा एक हजार एक सय ३७, २०७४/०७५ मा एक हजार चार सय ८० र यो आर्थिक वर्षको माघसम्म एक हजार दुई सय तीनवटा बलात्कारका घटना भएको प्रहरी अभिलेख छ।

सरकारले बलात्कारको घटनामा पीडकलाई हदैसम्मको सजायको व्यवस्था गर्‍यो। तर घटना न्यूनिकरण र नियन्त्रणका सवालमा भने प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन। केही एनजीओ र आईएनजीओले महिला हिंसा, बलात्कारका घटनालाई लिएर कार्यक्रम सञ्चालन गर्दै आए पनि ति संस्था तथ्यांक संकलनमा मात्रै केन्द्रित छन्। अहिले बनेको अपराध संहितामा बलात्कार गर्नेलाई १५ वर्ष जेल सजाय र बलात्कारपछि हत्या गर्नेलाई आजिवन जेल सजायको व्यवस्था छ।

प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बलात्कार घटनामा पछिल्ला दिनमा रूप फेरिएको बताउँछन्। उनी भन्छन्, ‘पहिला बाटो ढुकेर, ग्याँङ रेप वा चीनजान बेगरका व्यक्तिबाट बलात्कारका घटना हुँदै आएका थिए तर अहिले चीनेजानेकै ९घर परिवार, आफन्त, नातागोता, शिक्षक, सहपाठी० बाट भइरहेका छन्।’

सुवेदीले घटनालाई संवेदनशील ढंगले हेरिए पनि यसमा विकृति देखिन थालेको बताए। उनले भने, ‘सहमतिमै शारीरिक सम्पर्क राख्ने र पछि कुरा नमिलेपछि बलात्कार भयो भनेर उजुरी दिने प्रवृत्ति बढेको देखिन्छ यो डरलाग्दो विषय हो।’

सामाजिक विकृतिका कारण सिर्जित अपराधमध्ये बलात्कार नियन्त्रण एवं न्यूनिकरणका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम गरेर विद्यालयमा र गाउँगाउँमा चेतना अभिवृद्धि गराउन थालेको जानकारी सुवेदीले दिए। उनका अनुसार केही घटनामा अभियुक्त पक्राउ गरिए पनि केहीमा फरार भएकाले खोजी भइरहेको छ।

बलात्कारीका चरित्र

मनोविद् गोपाल ढकालका अनुसार चार प्रकारका चरित्र भएका व्यक्तिबाट बलात्कार हुने बताउँछन्। यौन लत (सेक्स एडिक्सन) लागेका, मेनिया, मदिरा वा लागूऔषधको लत र पेडोफेलिया भएका व्यक्तिले बलात्कारसँगै यौन हिंसाका घटना निम्त्याउने संभावना बढी हुने जानकारी ढकालले दिए। उनले भने, ‘मानसिक रूपमा अस्वस्थ भएका व्यक्तिले क्षणिक आवेगलाई नियन्त्रण गर्न सकदैनन्, जसले समाजमा अरूलाई सम्मान गर्दैन। सम्मान लिन पनि खोज्दैन। मदिरा र लागुऔषधको लत जस्तै यौन लत पनि बलात्कारको प्रमुख कारण हो।’

उनका अनुसार मेनिया रोगका बिरामीमा बढी यौन चाहना हुन्छ। ढकालका अनुसार कोही आफैं यौन दुव्र्यवहारमा परेको, परिवार भित्रको विचलन र तनावमा परेका पुरुषले आफ्ना कुण्ठालाई दबाउन पनि बलात्कार जस्तो घटना गराउन उद्दत भएका देखिन्छ। सामाजिक मूल्य र मान्यताका बारेमा जानकारी नभएको र यौन शिक्षाबारे चेतना नभएका व्यक्ति पनि यौन दुव्र्यवहार गर्न उद्दत हुने जानकारी ढकालले दिए।

नियन्त्रण कसरी ?

पूर्वप्रहरी नायवमहानिरीक्षक हेमन्त मल्ल ठकुरीले बलात्कारका घटना संवेदनशील भए पनि राज्य संवेदनशील बन्न नसकेको बताउँछन्। कानुन बलियो बनाए पनि न्यूनिकरण र नियन्त्रणका प्रयास नहुँदा घटना दोहोरिरहने गरेको बुझाइ ठकुरीको छ। घटना हुन नदिन पहिला आफ्नै बच्चाको निगरानी राख्नुपर्ने सुझाव ठकुरीको छ। बलात्कारपछि हत्या गर्ने घटनामा प्राय पीडकले प्रमाण लुकाउने उद्देश्यले गर्दै आएको उनले बताए। ‘अहिले अपराधमा पनि अलि क्रुरता देखिँदै आएको छ। बालिकाहरू नै बढी बलात्कृत हुँदै आएका छन्। चिनेजानेकाबाटै हुने यस्ता घटना झन् बढी खतरनाक हुन्छन्’, ठकुरीले भने, ‘अहिले स्थानीय तह बलियो भइरहेका बेला स्थानीयस्तरमा पनि चेतनामूलक कार्यक्रम आउन सकेका छैनन्।’ अन्नपूर्णबाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia