बिराटनगर। अंग्रेजी भाषा राम्रोसँग जान्ने तर नेपाली लेखनमा अंग्रेजी शब्दहरु घुसाउनुहुँदैन भनेर झर्रो लेखनको अभियान चलाउने भाषाशास्त्री बालकृष्ण पोखरेल ८६ वर्ष पुगिसक्दा पनि महाकाव्य लेखिरहेका थिए । बिराटनगरको परोपकार घाटमा आइतबार राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएसँगै पोखरेलको ‘रुपारानी महाकाव्य’ अधुरो बनेको छ ।

शनिबार राति निधन भएका भाषाशास्त्री पोखरेलको आइतबार बिराटनगरमा अन्तिम संस्कार गरिएको छ । राष्ट्रिय सम्मानका साथ बिराटनगरस्थित परोपकार घाटमा पोखरेलको अन्त्येष्टि गरिएको हो । नेपाली भाषाक्षेत्रमा महत्वपूर्ण योगदान गरेका पोखरेललाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले राष्ट्रिय झण्डा ओढाएका थिए । शनिबार मध्यरातमा अस्वस्थ भएपछि नोबेल मेडिकल कलेज लैजाने क्रममा उनको निधन भएको हो । गत माघ ६ गतेदेखि मस्तिष्काघातबाट पीडित भएका पोखरेल काठमाडौं र बिराटनगरका अस्पतालमा उपचार गर्दा सुधार भएपछि बिराटनगरस्थित निवास आराम गरिरहेका थिए ।यसैवीच नेपाली भाषाको झर्राेवादी आन्दोलनका अगुवा पोखरेलेको मृत्यु शोकमा बिराटनगर महानगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । मंगलबार महानगरमा सार्वजनिक विदा दिने मेयर भीम पराजुलीले बताए ।

तपाईको प्रतिक्रिया