- अमर काफ्ले

इनरुवा। सुनसरी प्रहरीले धरानको पानबारी चेकपोन्ट नजिकबाट आधुनिक हतियार एलएमजी र एम १६ सहित एकजनाई नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद गरेको दुवै हतियार लामो दुरीमा प्रहार गर्न सक्ने अत्याधुनिक क्षमता भएको आधुनिक हतियार हो । अमेरिकन मेड भएको लामो दुरीको प्रहार गर्ने एम १६ र लाइट मेसिनगन भनिने एलएमजी जस्ता अत्याधुनिक हतियार बरामद हुनुलाई सुनसरी प्रहरीले अहिलेसम्मै ठूलो उपलब्धी मानेको छ ।

शंकास्पद गतिविधि देखेपछि प्रहरीले पानबारी चेकपोइन्टमा मोटरसाइकल रोक्न खोजेको थियो । प्रहरी नजिक आएको देखेसँगै तिव्र गतिमा मोटरसाइकल कुदाएर भागेको सो समूहलाई प्रहरीले पिछा गरी हतियार बरामद गर्न सफल भएको हो । पानवारीबाट करिव १.५ किलोमिटर पूर्वको बुढी खोलाको बगरमा पुगेपछी घेरा हालेर प्रहरीले मोटरसाइकल चालक सहित हतियार बरामद गर्न सफल भएपनि पछाडी सवार व्यक्तिभने फरार भएको बताइएको छ ।

हतियार सहित पक्राउ परेका बेलबारीका देवकुमार लिम्बुलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ । फरार भएका व्यक्तिको पहिचान खुलाइएको छैन् भने उनको खोजी जारी रहेको प्रहरीको भनाई छ ।प्रहरी स्रोतले दिएको जानकारी अनुसार हतियारलाई पछाडी बसेका व्यक्तिले काखमा लुकाएर बसेका थिए । हतियार लुकाउन मिल्ने बाकसमा राखेर बोरामा हालि मोटरसाइकलमा पछाडी बस्ने व्यक्तिले ति हतियार काखमा बोकेको बताइएको छ ।

अत्याधुनिक दुई ठुला हतियार बरामद हुनुलाई सुनसरी प्रहरी र प्रदेश प्रहरीले गम्भिर रुपमा लिएको छ । हतियार कहाँबाट भित्रियो र कहाँ कुन उद्येश्यले लगिंदै थियो भन्ने विषयको सूक्ष्म अनुसन्धानमा जुटेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले ठूलो घटना गराउने उद्येश्यले हतियार ल्याइएको हुन सक्ने आंकलन गरेको छ । हतियार बरामद हुनुलाई प्रहरीले ठुलो दुर्घटना टरेको रुपमा लिएको छ । पक्राउ परेका व्यक्ति विप्लव माओवादीका कार्यकर्ता रहको बताइएको छ । प्रारम्भिक बयानका क्रममा लिम्बुले आफु विप्लव माओवादीमा आवद्ध रहेको आशयको बयान दिएको बताइएको छ । अनुसन्धानको क्रममा रहेको बताउने प्रहरीले घटनाबारे थप विस्तृत विवरण भने खुलाएको छैन् ।

तस्बिर सहयोग:पुर्बेली

तपाईको प्रतिक्रिया