काठमाडौं । चोरीका घटना पनि थरीथरीका हुन्छन् । मानिसले गर्ने चोरीबाट विगत लामो समयदेखि हैरानी खेप्दै आएको दोलखा प्रहरीलाई अर्को अनौठो प्रकारको चोरीको घटनाले थप हैरान बनाएको छ ।अझ चोरीको सामान प्रहरी कार्यालय आसपास नै राखेकाले प्रहरी थप आश्चर्यमा परेको छ । करिब १० महिनाअघि प्रहरी नायब उपरीक्षक वासुदेव पाठक दोलखामा प्रहरी प्रमुख भएर आउँदा उनको सामु चोरीको घटना प्रमुख चुनौतीका रुपमा रहेको थियो ।

उनले त्यति बेला हरेक कार्यक्रममा चोरी जसरी पनि नियन्त्रण गरेर छाड्ने प्रतिबद्धता जनाउने गरेका थिए र त्यो वाचा पूरा गरे पनि । त्यति बेला चोरीमा संलग्न अधिकांश बालक थिए र तिनीहरुलाई पक्राउ गरेर कारबाही भएपछि चोरी लगभग नियन्त्रण भएको थियो ।तर अहिले मानिसले हैन कुकुरले जुत्ताचप्पल चोरी गरेर प्रहरी कार्यालय आसपास नै थुपार्न लागेपछि प्रहरी नायब उपरीक्षक पाठकलगायत सबैलाई अनौठो खालको चुनौतीको सामना गर्नुपरेको छ ।

जिल्ला प्रहरी कार्यालय र नजिकै रहेको मालपोत कार्यालयआसपास बस्दै आएको एक जोडी कुकुरले विभिन्न ठाउँबाट चोरी गरेर ल्याएको दुई बोरा जुत्ता, चप्पल अहिले जिल्ला प्रहरी कार्यालय दोलखाले स्टोरमा सुरक्षित राखेको छ र कसैको जुत्ता चप्पल हराएको भएर प्रहरी कार्यालयमा आई हेरेर लान सार्वजनिक आह्वानै गरेको छ ।

घटनाबारे सुनाउँदै प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले भने– ‘प्रहरी कार्यालय आसपासका वासिन्दाले केही समय अघिदेखि जुत्ताचप्पल हराएको गुनासो गरिरहेका थिए । यसबारे हामी अनुसन्धानकै क्रममा थियांै । सोही क्रममा प्रहरी कार्यालयसंगै रहेको मालपोत कार्यालयको गेटआसपास र प्रहरी कार्यालयभन्दा तल रहेको जिल्ला समन्वय समितिको निर्माणाधीन हलमा छरपस्ट जुत्ताचप्पल भेटियो । त्यो कसरी आयो भनी खोजी गर्दा त्यही जोडी कुकुरले विभिन्न ठाउँबाट ल्याएको पाइयो ।’ ती जोडी कुकुरले विभिन्न ठाउँबाट बालबालिकाको जुत्ताचप्पल, खेलाडीको बुट, स्पोर्ट सुज, लेडिज जुत्ताचप्पल ल्याएर थुपार्ने गरेको पाठकले बताए । ती जुत्ताचप्पलहरु अधिकांश बिजोडी रहेको प्रहरीले जनाएको छ । नेपाल समाचारपत्रबाट ।

तपाईको प्रतिक्रिया