काठमाडौं । वीरगन्जमा भएको अश्वमेध गायत्री महायज्ञमा देवपूजन र हवन सुरु भएको छ । आइतबारदेखि जारी महायज्ञमा सोमबार हवन सुरु भएको हो ।आदर्शनगर रंगशालामा आयोजित अश्वमेध महायज्ञको विधिवत उद्घाटन आइतबार गरिए पनि देवपूजन र हवन सोमबार सुरु भएको हो । सोमबार बिहान एक हजार सात सय ५७ जना मुख्य यजमानहरुले एकै साथ पूजापाठ, गायत्री मन्त्र उच्चारण र हवन गरेर महायज्ञमा देवपूजन र हवन कार्यको शुभारम्भ गरेका हुन् । महायज्ञस्थलमा निर्माण गरिएका दुई सय ५१ वटा हवनकुण्डमा सात÷सात जनाका दरले मुख्य यजमानहरु सहभागी थिए ।

मुख्य पूजन र हवनमा पुर्व वनमन्त्री एंव राप्रपाका महामन्त्री विक्रम पाण्डे, एनआरएनका संस्थापक अध्यक्ष डा। उपेन्द्र महत्तो, वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी, पुर्वसांसद राजेन्द्र बहादुर अमात्य, प्रदेशसभा सदस्य ओम प्रकाश शर्मा, वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्याम प्रसाद भण्डारी, भन्सार कार्यलय प्रमुख गोपाल खत्री, राजनीतिज्ञ, उद्योगपति, व्यपारी लगायत मुख्य यजमानका रुपमा सहभागी थिए ।

बिहान ९ बजेदेखि सुरु मुख्य पूजन र हवन दिउसो साढे १२ बजे सम्म चलेको थियो । त्यसपछि दिउसो १ बजेदेखि मात्रै सर्वसारधण भक्तजनका लागि महायज्ञमा पूजन र हवन खुल्ला गरियो । सर्वसाधारण भक्तजनका लागि देवपूजन र हवन, महायज्ञको अन्तिम दिन बुधबारसम्म जारी रहनेछ ।

दुई सय ५१ वटा हवनकुण्डमा एक पटकमा तीन हजार भक्तजनहरु सहभागी हुने प्रबन्ध मिलाइएको महायज्ञ आयोजक अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्तिपिठ वीरगन्जका संयोजक वीजय सरावगीले जानकारी दिए ।

सोमबार देखि सुरु भएको देवपूजन र हवन २४ सै घण्टा चलिरहने र महायज्ञको अन्तिम दिन बुधबारसम्म ६० हजार भक्तजनले पूजन र हवन गर्ने उनले बताए । महायज्ञमा हवन र पूजन बाहेक दर्शन र सामान्य पूजापाठ गर्न आउनेहरुको संख्या बढ्दैगरेको सरावगीले बताए । उनका अनुसार विश्वमा गायत्री परिवारका १३ करोड सदस्य छन् । नेपालमा भने गायत्री परिवारका तीन लाख सदस्य रहेको सरावगीले बताए । अन्नपूर्णबाट ।

तपाईको प्रतिक्रिया