- अमर काफ्ले

जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ भवन निर्माण हुने भएको छ । ६ करोड ७० लाख १३ हजार ६ सय ९२ रुपैंया ४३ पैशामा निर्माण गर्न लागिएको भवनको औपचारिक रुपमा शिलान्यास गरिएको छ ।एक नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले जिप्रका हाताभित्रै निर्माण हुन लागेको भवनको शिलान्यास गरेका हुन् ।हालको संरचना पुरानो र जिर्ण रहेकाले समेत नयाँ भवन निर्माणकालागि निकै अघिबाट पहल थालिएको थियो । औपचारिक शिलान्यास भएको संरचना २०७६ माघ २१ गते भित्रमा सम्पन्न गर्ने बताइएको छ ।भवन शिलान्यास पश्चात निर्देशन दिंदै प्रदेश प्रहरी प्रमुख रिजालले सत्य सेवा सुरक्षणमको नारालाई आत्मसाथ गर्दै कर्तव्य निष्ठ भै इमान्दारीताका साथ कार्यसम्पादनमा जुटेकोे प्रहरी संगठनलाई कोही कसैले बदनाम गराउन खोज्छ भने त्यो सहैय नहुने धारणा राखे ।

आफ्नो कार्यकालमा प्रहरी संगठनमा आँच आउन नदिने बताएका प्रनामनि रिजालले जिल्लाभर मातहतका प्रहरी युनिटहरुलाई जनमैत्री भएर कार्यसम्पदानमा जुट्न निर्देशन समेत दिएका थिए ।आर.सी.सी.फ्रेम स्ट्रक्चरमा निर्माण हुन लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीको भवन तीन तले हुनेछ । श्री गौरी पार्वती–कोशी एण्ड न्यौपाने जे.भी. नयाँ बानेश्वर काठमाण्डौंले निर्माण ठेक्का पाएको कार्यालय भवन १९ कोठे रहने सुनसरी प्रहरीले जनाएको छ । कार्यालय हातामा निर्माण हुने ब्यारेक भवनसमेत तीन तलेको रहने छ । ब्यारेकमा १२ वटा हल रहने सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारीले लामो सयमदेखि जिर्ण र पुरानो भवनमा रहेको कार्यालयसहित ब्यारेक लगायतका संरचना आफ्नो कार्यकालमा निर्माण हुन लागेकोमा खुशी व्यक्त गरे । अधिकारीले जिल्लामा आफ्नो कार्यकाल रहुनजेल नमूना र रचनात्मक कार्यमा समय खर्चिने बताए ।उनले भरपर्दो शान्तिसुरक्षा र जनमैत्री प्रहरी सेवा मार्फत जनताको मन जित्दै संगठन प्रतिको जिम्मेबारी निर्वाहमा जुट्नु आफ्नो एकमात्र उद्येश्य भएको बताए ।

नेपाल सरकारको नियमित बजेटबाट निर्माण हुन लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन, ब्यारेक भवन , शौचालय र सोकपिट निर्माणकालागि ८ करोड ४१ लाख ८१ हजार ४ सय २० रुपैंया लागत रकम स्विकृत भएको थियो । जसमा निर्माण कम्पनी श्री गौरी पार्वती–कोशी एण्ड न्यौपाने जे.भी. नयाँ बानेश्वरले ६ करोड ७० लाख १३ हजार ६ सय ९२ रुपैंया ४३ पैशामा भवन सहितका संरचना निर्माणको ठेक्का पाएको हो ।

तपाईको प्रतिक्रिया