इनरुवा। सुनसरीको दुहवी ९ छाताबेलीका फिदा हुसेनको गोली हानि हत्या गरेको आरोपमा पक्राउ परेकाहरुको थुनचेक बहस पूर्व अदालत परिषर बाहिर स्थानीयहरुले दवाब मूलक प्रर्दशन गरेका छन् । प्ले कार्ड र ब्यानर सहित इनरुवा पुगेका हुसेनका आफन्त सहितका स्थानीयहरुले सुनसरी जिल्ला अदालतको मूलप्रवेशद्धार अघिको सडकमा हत्या घटनाका आरोपित उपर कडा सजायको माग सहित दवाब मूलक प्रर्दशन गरेका हुन् ।

कार्यालय समय लगत्तै अदालत परिषर बाहिर भेला भएका स्थानीयको भिड केहिबेरको दवाब मूलक प्रर्दशन पश्चात फर्किएको थियो । आफन्त सहितको समूहभने दिनभरजसो अदालत परिषर बाहिरै बसेको थियो । दुहवी ९ छाताबेलीका फिदा हुसेनलाई मंसिर ५ गते गोली हानि हत्या गरिएको थियो । सो घटनामा संलग्नताको आधारमा छाताबेलीका मोहम्मद सकिम हुसेन, मोहम्मद जाबिर हुसेन र जफर मियाँसँगै दुहवी १२ सीतापुरका ६० वर्षीय विश्वम्बर यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

हिरासतमा राखेर अनुसन्धान अघि बढाउँदै आएको सुनसरी प्रहरीले अभियुक्तहरुलाई अदालत समक्ष थुनचेक बहसकालागि पेश गर्न लैजाने सूचनाका आधारमा स्थानीयहरु दोषी उपर कार्वाहीको माग गर्दै दवाब मूलक प्रर्दशनकालागि अदालत परिषर अगाडी भेला भएका थिए । अदालतमा उपस्थित गराइएका चारैजना घटनाका दोषी भएको भन्दै फिदाका आफन्त सहितको समूहले कडा कार्वाहीको माग गरेको छ । दवाब मूलक प्रर्दशनको नेतृत्व दुहवी ९ का वडाअध्यक्ष तथा फिदा हुसैनका दाजु मेहन्दी हुसैनले गरेका थिए ।

यसैगरी फिदा हुसैन हत्या काण्डमा पक्राउ परेका आरोपितहरुका आफन्त तथा स्थानियले समेत उनीहरुलाई बिना कारण पक्राउ गरि फसाईएको भन्दै निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् । पक्राउ परेकाहरुका आफन्त सहितको दजर्नौ बढीको समूह समेत थुनचेक बहसपूर्व अदालत परिषर बाहिर भेला भएका थिए ।

दिनभरजसोनै अदालत परिषर सहित बाहिरी सुरक्षा व्यवस्था मजबुत तुल्याउन यथेष्ट मात्रामा सुरक्षाकर्मी परिचालन गरिएकाले समेत प्रर्दशनकारी शान्तिपूर्ण र दवाब मूलक मौन प्रर्दशनमा सहभागि बनेका थिए । थुनचेक बहस आज नसकिएकाले नियन्त्रणमा रहेका चारै जनालाई भोलि पूनः अदालतमा उपस्थित गराइने सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया