- अमर काफ्ले

सुनसरी सदरमुकाम इनरुवामा रहेको हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रस्टले २ सय १८ जना अनाथ बालबालिकालाई जनही ३१ हजार २ सयका दरले सहयोग रकम उपलब्ध गराएको छ ।इनरुवा २ मा रहेको उक्त ट्रस्टले कतार च्यारेटी नेपालको सहयोगमा अनाथ बालबालिका सहित अपाङ्ग, गरिव र विपन्न परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।

इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको उपस्थितीमा ट्रस्टका अध्यक्ष मौलाना हारुन खान मजहरी र कतार च्यारेटी नेपालका कार्यक्रम अधिकृत जियाउल रहमान खानसहितका अतिथिहरुले आर्थिक सहयोग वापतको रकम वितरण गरेका थिए ।सो कार्यक्रममा १ सय १८ अनाथ बालबालिकाका अलावा १७ जना अपाङ्गता भएका व्यक्ति, २९ जना गरिव विद्यार्थी, परिचालक ३७ जना र २ विपन्न परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

ट्रस्टले अनाथ बालबालिका सहित सामाजिक उत्तरदायित्व वहन हुने खालका विभिन्न आवश्यक्ता अनुरुपका शिर्षकमा विपन्न तथा गरिव परिवारलाई लक्षित गरी सहयोग उपलब्ध गराउँदै आएको छ ।ट्रस्टले अनाथ बालबालिकालाई जनही ३१ हजार २ सय, अपाङ्गता भएका व्यक्तिहरुलाई जनही ३९ हजार ६ सय, गरिव विद्यार्थीहरुलाई जनही ३१ हजार २ सय, परिचालकहरुलाई ४८ हजारका दरले र विपन्न परिवारको हकमा ४५ हजारको दरले सहयोग वापतको आर्थिक रकम बितरण गरेको हो । यसैगरी अतिरिक्त कृयाकलापमा उत्कृष्ठ हुने छात्रछात्रालाई समेत कार्यक्रममा पुरस्कृत गरिएको थियो ।

आर्थिक सहयोगकालागि ट्रस्टमा सुनसरी सहित झापा, मोरङ, सप्तरी र सिरहाबाट आवेदन परेका थिए । प्राप्त आवेदन मध्ये प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराइएको बताउने कार्यक्रम संयोजक हजरत हुसेनले आर्थिक लगायत सहयोगको क्रमलाई निरन्तरता दिइने बताए । हुसेनले सहयोगको अपेक्षा राखेका र प्रकृयागत आएकाहरुलाई समेत क्रमश राहत कार्यक्रममा सहभागि गराइने बताए ।

तपाईको प्रतिक्रिया