- अमर काफ्ले

इनरुवा नगरपालिकामा नगर खेलग्राम निर्माणको प्रकृया अघि बढेको छ। सरकारले खेलग्राम निर्माणकालागि स्थानीय तहमा कार्य योजना सहितको प्रस्तावना आव्हान गरीरहँदा इनरुवा नगरपालिकाको कार्यालयले भने खेलग्राम निर्माण स्थलको टुङ्गो लगाउँदै शिलान्यासको कार्य समेत सकेको छ ।इनरुवाको ८ नम्वर वडामा निर्माण गर्न लागिएको नगर खेलग्रामको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट र इनरुवा नगरपालिका प्रमुख राजन मेहताले संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ ।

सुनसरी खोला किनारमा रहेको १२ विगाह बढी क्षेत्रफलको जग्गा इनरुवा नगरपालिकाले उपलब्ध गराउने भएपछि सदस्य सचिव विष्ट खेलग्रामको शिलान्यासकालागि इनरुवा पुग्नु भएको थियो ।इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम, वडाध्यक्ष रविन्द्र मण्डलसँगै राखेपका सदस्य तथा कराँते महासंघका अध्यक्ष शम्भु आचार्य र खेलकुद विकास समिति सुनसरी सदस्य बसन्त सुवेदी लगायतको उपस्थितीमा खेलग्राम स्थलको निरीक्षण समेत गरिएको छ ।

खेलग्राम भित्र खेलकुदका सबैजसो संरचनाहरु निर्माण गरिने छन् । इनरुवा नगरपालिकाको हकमा नगर क्षेत्रको खेलकुद बिकासलाई मध्यनजर गर्दै आवश्यकता अनुरुप आधुनिक शैलीका पूर्वाधार निर्माण हुने छन् । क्रिकेट ग्राउण्ड, फुटबल स्टेडीयम, कबर्ड हल, प्रशिक्षण हल, आवाश गृहसँगै चमेना गृह लगायतका संरचना निर्माण गरिने राखेपका सदस्य सचिव केशव विष्टले जानकारी दिनुभयो ।शिलान्यास पश्चात संक्षिप्त प्रतिकृया जनाउँदै विष्टले इनरुवा नगरपालिकाले देखाएको तदारुकता उदाहरणीय र नमूना भएको बताउनु भयो । विष्टले अन्य पालिकाहरुबाट प्रस्ताव आउने क्रम जारी रहेको अवस्थामा इनरुवाले भने स्थानीय तवरमा खेलग्रामको खाका तय गरी शिलान्यासको कार्य समेत सकाउनुलाई खेलकुद बिकास प्रतिको लगावका रुपमा ब्याख्या गर्नु भएको छ । सरकारी तवरमा डीपीआर निर्माणको कार्य अघि बढिसकेको बताउनु भएका विष्टले नगर खेलग्राम निर्माणकालागि आवश्यक सहयोग जुटाउने प्रतिवद्धता समेत दिलाउनु भयो ।

उता इनरुवाका नगर प्रमुख राजन मेहताले समेत नगरमा खेलग्राम निर्माण हुनु सिङ्गो नगरपालिका र नगरवासीकालागि गौरवको विषय भएको बताउनु भएको छ । खेलकुद बिकासमा अग्रणी देखिएको इनरुवा नगरपालिकाको बिकास र समृद्धिकालागि नगर खेलग्राम कोशेढुङ्गा सावित हुने मेहताको विश्वास छ । खेलग्रामलाई प्रदेश स्तरीय बनाउने र सोही अनुरुपका खेलहरु संचालन गर्नेगरी कार्य अघि बढाइने मेहताले जानकारी दिनुभयो ।खेलग्राम स्थलको शिलान्यास गरिएसँगै अब इनरुवा नगरपालिकाले पहिलो चरणमा आवश्यक पर्ने जग्गा छुट्याउने र घेराबेरा सहितका प्रारम्भिक चरणका कार्यहरु अघि बढाउने उपप्रमुख जमुना गौतम पोखरेलले बताउनु भयो ।खेलग्रामको अनुमानित लागत १० करोडको हाराहारीमा हुने बताइएको छ । जसमा कुल खर्चको ३० प्रतिशत रकम स्थानीय पालिकाले व्यहोर्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया