सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका वडा नम्वर ४ मा रहेको जामेअतुल मोहसेनातले विविध कार्यक्रम गरी १२औं वार्षिकोत्सव मनाएको छ । मुस्लिम छात्राहरुकालागि अध्यापन गराउँदै आएको मोहसेनातले चार दिने शैक्षिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

चार दिने शैक्षिक तथा सांस्कृतिक प्रतियोगितात्मक कार्यक्रम नाम दिइएको सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कलाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षागतका अलावा अतिरिक्त क्रियाकलाप र वार्षिकोत्सवमा आयोजित प्रतियोगितामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । पूर्व अर्थमंत्री तथा सुनसरी क्षेत्र नम्वर ४ का सांसद ज्ञानेन्द्र कार्की सहितको उपस्थितीमा सम्मान तथा १२ औं वार्षिकोत्सव समापन कार्यक्रम आयोजना गरिएको थियो ।

रुखसाना फलाही प्रधानाध्यापक रहेको उक्त मुस्लिम विद्यालयमा २२ जना विपन्न र अनाथ गरी ३ सय छात्राहरु अध्ययनरत छन् । जसमध्ये १ सय २० जनालाई विद्यालयले होस्टेलमा राखेर पठनपाठन गराउँदै आएको छ । विद्यालयले उनीहरुलाई सीप मूलक अतिरिक्र कृयाकलापमा समेत सहभागि गराउँदै आएको छ । सो विद्यालयमा अरवी, नेपाली,उर्दु र अग्रेजी माध्यममा पढाई हुने गरेको छ । एहसान अन्सारी अध्यक्ष रहेको संस्थाले संचालन गरेको विद्यालयमा सुनसरी, झापा, मोरङ, सिरहा, सप्तरी र बिरगञ्ज लगायतका क्षेत्रका छात्राहरु अध्ययनरत रहेको विद्यालयका संस्थापक सदस्य ताहिर हुसेनले जानकारी दिए । सो विद्यालयमा कक्षा ६ देखि १४ अर्थात फजिलतसम्मको पढाई हुने गरेको छ । मुस्लिम शिक्षामा फजिलतको अर्थ नेपालीमा स्नातक सम्मको अध्ययन भन्ने जनाउँछ ।

तपाईको प्रतिक्रिया