भाण्टावारी । सुनसरीको भाण्टावारीमा बर्डफ्लु रोकथाम गर्न सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार पशु क्वारेन्टाइन चेक पोष्ट भाण्टावारीका प्रमुख अनित घिमिरेको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरु बीच बर्डफ्लु रोकथामका लागि अपनाउन सकिने उपायहरुका बारेमा छलफल भएको थियो ।

पश्चिम हेटौंडा तर्फ बर्डफ्लु भएको पुष्टि भएपछि पूर्व सुनसरी सहित १ नम्बर प्रदेशका जिल्लाहरुमा पनि फैलिन सक्ने भन्दै त्यसलाई मध्यनजर गरेर अग्रिम रूपमा समयमै बर्डफ्लु बाट बच्न छलफल कार्यक्रम आयोजना गरिएको क्वारेन्टाइन अधिकृत अनित घिमिरेले बताए । कार्यक्रममा सरोकारवालाहरुले आ आफ्नो स्थान बाट बर्डफ्लु रोकथामका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । खासगरी भारतीय बजार बाट लुकाई छिपाई भित्र्याउने बोईलर कुखुरा मानव स्वास्थ्यको लागि हानिकारक रहेको क्वारेन्टाइन अधिकृत घिमिरे बताउँछन् ।

तर पछिल्लो समयमा पहिलाको तुलनामा भारतीय बजार बाट भित्र्याउने बोईलर कुखुराको संख्या कम भएको उनको भनाइ छ । पशु क्वारेन्टाइन, सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीको सक्रियताले मात्रै लुकाई छिपाई भित्रिने अवैध कुखुराको व्यापार शुन्य अवस्थामा ल्याउन संभव नरहेकोले त्यस्तो कसैले गरेको पाइए तत्काल प्रहरी वा क्वारेन्टाइन कर्मचारीलाई खबर क्वारेन्टाइन अधिकृत घिमिरेले आग्रह गरे । सो कार्यक्रममा बिओपी भाण्टावारीका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी, सीमा प्रहरी चौकी भाण्टावारीका ईन्चार्ज प्रहरी नायब निरीक्षक अवधलाल साह सोनार, पशु प्राविधिक रामसेवक यादव, ईशोलाल महतो सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया