- अमर काफ्ले


युवाहरुको दिगो विकास लक्षित अवधारणा तय गर्ने उद्देश्यसाथ सुनसरीको इनरुवामा आजबाट दुई दिने प्रशिक्षण कार्यक्रम संचालनमा ल्याइएको छ ।इनरुवा नगरपालिकाको सहयोगमा इनरुवा जेसिजले अभिमूखिकरण सहितको कार्यक्रम संचालनमा ल्याएको हो ।कार्यक्रममा छनौटका आधारमा नगरका अलावा जिल्लाका ३० जना युवायुवतीहरुको सहभागिता रहेको छ ।दुई दिन सम्म चल्ने कार्यक्रममा सहभागिहरुलाई दिगो विकास लक्ष विषयक मापन योग्य सूचक र व्यवस्था बारेमा प्रशिक्षण दिलाइने छ ।युवाभित्रको क्षमतालाई प्रस्फुटन गराउँदै दीर्घगामी सोच र अवधारणा अनुरुप अघि बढ्न प्रेरित गराउने उद्देश्यका सवालमा तालिम महत्वपूर्ण हुने धिरज भट्टराईले बताए ।स्वयं भित्रको क्षमता पहिचान गरी आवश्यकता अनुकुल निर्णय लिन सक्ने बनाउनु कार्यक्रमको मुल उद्देश्य रहेको आयोजकको भनाई छ । भट्टराईका अनुसार तालिमले युवामाझ आत्मबल बढाउनुका साथै भविष्य प्रति जिम्मेबार बन्न प्रेरित गराउने छ ।

देशको मेरुदण्डका रुपमा रहेका युवा जमात सवल र सक्षम भए मुलुकको मात्रै नभएर विश्व जगतकैलागि बिकास र समृद्धिको खाका स्वतं तय हुने आयोजकको दाबी छ ।तालिममा सामाजिक क्षेत्रमा क्रियाशिल, युवा क्षेत्रका अगुवा र उच्च शिक्षा तह अध्ययनरत युवायुवतीको सहभागिता रहेको छ । सहभागि मध्ये अधिकांश युवतीहरु छन् ।कार्यक्रमको पहिलो दिन दिगो विकास लक्षित अवधारण केन्द्रित विषय उपर प्रशिक्षण दिइएको इनरुवा जेसिजका अध्यक्ष जितेन्द्र यादवले बताए । उक्त कार्यक्रमको उद्घाटन इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले गरेका थिए । सहभागिहरुलाई सुवोद घिमिरेले प्रशिक्षण दिएका छन् । कार्यक्रम भोलि सकिने छ ।

तपाईको प्रतिक्रिया