बिराटचौक । मोरङको सुन्दरहरैचामा रहेको सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले नैतिकताको आधारमा राजीनामा नदिए गलहत्याएर कुर्सीबाट हटाउने नेपाली काँग्रेसका नेताहरुले चेतावनी दिएका छन । नेबिसंघ क्षेत्र नम्बर ३ को आयोजनामा सोमबार बिराटचौकमा भएको बिरोध रयाली पछिको सभामा नेपाली काँग्रेसका मोरङ अध्यक्ष डिगबहादुर लिम्बुले शिक्षा ऐनबिपरित दोहोरो सेवा सुबिधा लिने र सोही कुराको बिरोध गर्दा नेबिसंघका बिद्यार्थीहरुमाथि सांघातिक हमला गर्न अखिललाई उक्साउने श्रेष्ठले नैतिकताको आधारमा राजीनामा दिनु उत्तम बिकल्प भएको बताए ।

अखिलका बिद्यार्थी प्रयोग गरी नेबिसंघका बिद्यार्थीमाथि भएको सांघातिक हमलाको उनले खेद समेत ब्यक्त गरेका छन । सभामा नेपाली काँग्रेसका नेता तथा प्रदेश १ का प्रदेश सभा सांसद सुर्यामाराज राई र लोकप्रसाद संग्रौलाले नेकपाको दुई तिहाईको दम्भ देखाउँदै क्याम्पसलाई पार्टी कार्यलय बनाउने र बिरोध गर्दा आक्रमण गर्नेहरुको ज्यादती सहेर नबस्ने भन्दै क्याम्पस प्रमुखले सोही घटनाको जिम्मेवारी लिँदै राजीनामा नदिए गलहत्याएर कुर्सिबाट हुत्याउने चेतावनी दिए । उनीहरुले नेबिसंघलाई कमजोर नसम्झिन् चेतावनी समेत दिए । संग्रौलाले यहि क्षेत्रबाट निर्बाचित कानुनमन्त्री भानुभत्त ढकालको यस्तै हर्कत कायम रहे यो क्षेत्रबाट उनी बढारिएर आफै जाने समेत बताए ।

कार्यक्रममा नेबिसंघका पुर्ब पदाधिकारीहरु,क्षेत्र नम्बर ३ का सभापति होमनाथ पोख्रेल लगायतले समेत आ-आफना धारणा राखेका थिए । कार्यक्रम शुरु हुनुअघि नेबिसंघको आयोजनामा भएको र्यालीले बिराटचौक देखि खोर्साने,क्याम्पसमोड हुँदै क्याम्पसको गेटमा पुगेर नाराबाजी गर्दै बिराटचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।कार्यक्रम नेबिसंघ सुन्दरहरैचाका सभापति गोपाल कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया