- अमर काफ्ले

सुनसरीको दक्षिणवर्ती हरिनगर गाउँपालिकाको मुसहरी वस्तीमा निशुल्क विद्युत मिटर वितरण गरिएको छ ।नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रले अति विपन्न समूदायको बसोबास रहेको मुसहरी टोलका सय घर परिवारलाई निशुल्क मिटर वितरण गरेको हो । सम्वन्धित परिवारका नाममा उपलब्ध गराइएका मिटर निशुल्क रुपमै स्वयं प्राधिकरणका कर्मचारीलेनै जडान गरिदिने छन् ।गाउँपालिका अध्यक्ष गफार अन्सारी सहित नेपाल विद्युत प्राधिकरण बिराटनगर क्षेत्रीय कार्यालयका प्रमुख सचितानन्द यादव र इनरुवा वितरण प्रमुख संजीवकुमार साहले मुसहर परिवारलाई मिटर बितरण गरेका हुन् ।

विद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत सुनसरीमा निशुल्क मिटर वितरणको कार्यक्रम संचालनमा ल्याइएको हो । सरकारी केन्द्रिय नीति अनुरुप इनरुवा वितरण केन्द्रले ३५ लाख लागत बराबरको निशुल्क मिटर बितरण गरेको जनाएको छ ।११ सय मिटर जडान गरिसकिएको बताएको इनरुवा वितरण केन्द्रले हरिनगरको मुसहरी टोल सहित आसपासको क्षेत्रमा तत्काल एक सयको हाराहारीमा मिटर वितरण सहित जडान गरिने जनाएको छ । दक्षिणी भेगमा ४ सय मिटर वितरण गर्ने लक्ष रहेको प्राधिकरण इनरुवाले जनाएको छ ।विद्य्त प्राधिकरणले इनरुव वितरण केन्द्रले औपचारिक कार्यक्रमको आयोजना गरी अति विपन्न तथा सांस्कृतिक महत्वका सम्पदा लक्षित गरी निशुल्क विद्युत मिटर उपलब्ध गराएको हो । क्षेत्रीय कार्यालय मातहत रहेको इनरुवा वितरण केन्द्रले संचालनमा ल्याएको निशुल्क मिटर बितरणको कार्य अन्यको हकमा पहिलो भएको बताइएको छ ।

हरिनगर सुनसरीको एक त्यस्तो ग्रामिण भेग हो । जहाँका अझैपनि केही वडामा विद्युत सेवा पुग्न बाँकी छ । यसअघि धेरैजसो भेग अन्धकारमा रहेको सो क्षेत्रमा गाउँपालिकाको पहलमा केहि महिनायता विद्युत प्रवाहका क्षेत्रमा प्रशस्त कामहरु भएका छन् ।मिटर वितरण कार्यक्रममा बोल्ने क्रममा स्वयं गाउँपालिका अध्यक्ष गफार अन्सारीले बाँकी रहेको भेगका जनतामाझ समेत विजुलीको उज्याले पुर्याउने प्रतिवद्धता जनाए । घनावस्ती रहेको र माग बढी भएकाले विद्युत सर्ट, भोल्टेज अपुग, ट्रान्सफरमर बिग्रने जस्ता देखिँदै आएका समस्या समाधान गर्न अन्सारीले प्राधिकरण समक्ष आग्रह समेत गरे ।

सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका प्राधिकरणका क्षेत्रीय कार्यालय प्रमुख सचतानन्द यादवले हरिनगरमा छिटै सव स्टेशन राख्ने आश्वासन व्यक्त गरे । उनले पूर्वको बढ्दो लोडलाई अहिले उपलब्ध आपूर्तिले नथेग्ने भएकाले प्राधिकरण अपग्रेड सहित पर्याप्त विद्युत प्रवाहमा जुटिसकेको बताए । हेटौंडा, ढल्केबर हुँदै इनरुवा जोड्ने ४ सय केभी प्रशारण लाइन पूर्वकालागि कोशेढुङगा सावित हुने उनले बिश्वास व्यक्त गरे । उक्त संरचना निर्माण भई सञ्चालनमा आएको खण्डमा सुनसरी र मोरङबासीकालागि मात्र नभएर पूर्वमै माग अनुसारको पर्याप्त विद्युत आपूर्ति सहज हुने बताइएको छ ।यसैबिच मिटर बितरण कार्यक्रममा सहभागि इनरुवा वितरण केन्द्र प्रमुख संजीवकुमार साहले विद्युत सम्वन्धि कुनैपनि समस्या भए तत्काल खबर गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । विपन्न समूदायको हकमा मिटर दावी गरे आवश्यक मात्रामा निशुल्क मिटर उपलब्ध गराइने बताएका साहले चुहावट नियन्त्रणको सरकारी अभियानमा साथ दिन सबैमा आग्रह समेत गरे ।

विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रले अति विपन्न र गरिव समूदायको हकमा निशुल्क मिटर वितरण सहित जडानको अभियान जारी रहने जनाएको छ । उसले आवश्यक पर्ने भेगमा ट्रान्सफरमरको व्यवस्था समेत गर्न सकिने जनाएको छ ।पहिलो चरणमा मिटर वितरण जारी राखेको इनरुवा वितरण केन्द्रले माग अनुरुप विद्युत पोल समेत उपलब्ध गराउन सकिने जनाएको छ ।

तपाईको प्रतिक्रिया