- अमर काफ्ले

इनरुवा अस्पतालको सेवा सिनियर अहेवले धानेका छन् भन्दा अपत्तयारिलो नहोला । डाक्टरहरु त यदाकदा अक्कलझुक्कल मात्रै भेटिन्छन् । इनरुवा अस्पतालमा उपचारकालागि पुग्ने विरामीलाई तिनै सिनियर अहेवहरुलेनै जसोतसो सेवा दिइरहेका छन् ।अस्पतालको अवस्था समेत दिनानुदिन खस्कँदो छ । अहेव सहितका सीमित स्वास्थ्यकर्मीहरुको समेत सेवा नमिल्दाको अवस्थामा इनरुवा अस्पतालको सेवा थप बाधित हुनेमा शंका नहोला । पछिल्लो दुई महिनाको तथ्याङ्कले इनरुवा अस्तालको सेवा झन नाजुक देखाएको छ ।

इनरुवा अस्तालले लामो समययता नियमित डाक्टर अभाव झेल्दै आएको छ । नियमित रुपमा दरवन्दी अनुसारको डाक्टर नबस्ने समस्या इनरुवा अस्पतालकालागि सामान्य सरह बनिसकेको छ ।आमसर्वसाधारणको हेराईमा छवि धुमिलिंदै गएको अस्पतालको साख पछिल्ला दिन अझ खस्केको छ । अस्पतालमा उपचारकालागि पुग्ने विरामीको संख्या समेत घट्दो छ । सर्वसाधारण प्रतिको विश्वसनियता गुम्दै जाँदा इनरुवा अस्पतालमा दरवन्दी अनुसारको डाक्टरको अनुपस्थिति समेत प्रमुख कारकका रुपमा देखिंदै आएकोे छ ।

डाक्टरनै नभेटिने र भनेजस्तो उपचार र औषधी समेत नपाइने भएपछि पछिल्लो समय इनरुवा क्षेत्रकै नागरिक समेत आपतकालिन अवस्था बाहेक उपचारकालागि इनरुवा अस्पताल जान जान छाडेका छन् ।आकस्मिक कक्ष सम्म प्राथमिक उपचारकालागि पुगेपनि थप उपचार आवश्यक परे इनरुवा अस्पतालमा भर्ना हुनेको संख्या त झन अक्कलझुक्कल मात्र भेटिन्छ । जसलाई स्थानीयहरुले सेवा प्रतिको अविश्वसनियताका रुपमा हेर्दै आएका छन् । जसका कारण समेत इनरुवा अस्पतालमा भर्ना भई उपचार गराउनेहरुको संख्या दिनानुदिन घट्दो छ । विपन्न समूदाय बाहेक अस्पतालमा भर्ना भएर उपचार गराएको निकै कम भेटिन्छ ।

अस्पतालका मेडिकल रेकर्ड अधिकृत तथा सुचना अधिकारी लोकेन्द्र आचार्यका अनुसार फागुन महिनामा सुत्केरी र गर्भवति सहित १ सय ८७ जना बिरामीले इनरुवा अस्पतालबाट सेवा लिएका छन् । अस्पतालमा नियमित चेकजाँच र प्रसुतीकालागि पुग्ने बिरामीलाई अन्य प्रकृतिको बिरामी सरह नलिइने हुँदा पुर्जि काटेर भर्ना हुने ५५ जनाले मात्र उपचार सेवा लिएको देखिन्छ । इनरुवा अस्पतालमा उपचारकालागि पुग्ने सुत्केरी र गर्भवतिको संख्या भने उच्च हो ।

सुचना अधिकारी आचार्यका अनुसार अस्पतालमा हाल ४ जना मेडिकल अफिसर डाक्टर, ३ जना दन्त चिकित्सक कार्यरत छन । सिनियर अहेव, अहेव, हेल्थ असिस्टेन्ट, स्टाप नर्स, अनमी, ल्याव टेक्निसियन सहित २२ जना स्वास्थ्यकर्मीहरु अस्पतालमा कार्यरत रहेका छन । यसैगरी प्रशासन फाँट अन्र्तगत २२ जना, फार्मेसी सेवामा ४ जना कर्मचारी कार्यरत छन । कागजी रुपमा ५० बेड रहेको अस्पताल २५ वेडमा संचालनमा छ । आवश्यक पकृया अलपत्र पदा स्तरोन्नती हुन सकेको देखिँदैन् । अस्पतालकालागि आवश्यक रहेको जनशक्ति हाल दैनिक हाजिरमा रहेपनि अस्पतालमा बसेर उपचार सेवामा दैनिक जिम्मेवारी निर्वाह गर्नेहरुको सख्याँ भने न्यून छ ।

सिनियर अहेवको भरमा बहिरङ्ग विभाग

आइतवार इनरुवा अस्पतालको बहिरङ्ग विभागमा उपचारका लागि आएका बिरामीहरुले एमवीवीएस डाक्टरको सेवा लिन खोजे । एक घण्टा सम्म कुर्दा समेत डाक्टर नआएपछि उनि सिनियर अहेव तारणीप्रसादको कक्षमा पुगेर चेकजाँच गराएर औधषी लिएर फर्किएको भेटिए ।नियमित रुपमा अस्पतालको इनडोर सेवामा सिअहेव तारणीप्रसादले दिनभर बिरामीहरुको परिक्षण गर्ने गरेका छन । हाल अस्पतालको ओपीडी सेवा उनको एक्लो भरमा चल्दै आएको छ । दरबन्दी अनुसारको डाक्टर नहुँदा बेलाबखत अस्पतालमा लाग्ने बिरामीको भीडलाई लगभग यादव एक्लैले धान्दै आएका छन् । अस्पताल प्रशासन र कर्मचारीबिचको आन्तरिक किचलोमा बेलाबखत अहेवको उपचार सेवा पर्ने गरेपनि अन्ततः इनरुवा अस्पतालले उनकै भरमा ओपीडी सेवालाई निरन्तरता दिइरहेको छ ।

तीन जनाको भरमा २४ घण्टे इमरजेन्सी
सुनसरी सदरमुकाम तथा आसपासका ६ वटा गाउँपालिकाका साथै रामधुनी नगरपालिका, बराहक्षेत्र नगरपालिका र पुर्वपश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाका कारण समेत अस्पतालको आकस्मिक कक्ष व्यस्त रहन्छ । अध्याधिक बिरामीहरुको चाप हुने इमरजेन्सी सेवा सिअहेव गुणानन्द झा, दिनेश यादव तथा अहेव प्रमोद श्रेष्ठका भरमा चलेको छ ।

इमरजेन्सी सेवामा आवश्यक रहेको औषधी, औजार, उपकरण तथा आवश्यक साधन स्रोत नहुँदा समेत जोखिम मोलेर इमरजेन्सी सेवाका स्वास्थ्यकर्मीहरुले आफनो टिम परिचालन गरेर दैनिक रुपमा चौविस घण्टा सेवा दिदै आएका छन ।

अस्पताल प्रशासनसँग आवश्यक परेका औषधी, उपकरण, औजार लगायतका वस्तुहरु माग गर्दा माग गरेको केही दिन पछि मात्र सिमित रुपमा प्राप्त हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । अपुग सामानले धानेको उपचारकाबीच बिरामी तथा कुरुवाहरुको हप्की दप्की हातपात र दुव्र्यवहारको सामाना गर्दै आउनु परेको उनिहरु बताउँछन् । बहिरङ्ग विभाग र इमरजेन्सी सेवामा हाल करार तथा ज्यालादारी पदमा कार्यरत रहेका अन्य स्वास्थ्यकर्मीहरुले चार जनालाई उपचार सेवामा सहयोग पुरयाउदै आएका छन ।

विकास समितिले काम गर्नै सकेन

इनरुवा अस्पतालको व्यवस्थापनको जिम्मेवारी पाएको अस्पताल विकास समितिका पदाधिकारीहरुलाई आफुले पाएको जिम्मेवारी टाउको दुखाई बन्न पुगेको छ । अस्पताल भित्र रहेको सिमित व्यक्तीहरुको स्थायी जालोले निर्णय कार्यान्वयन गर्न नदिने र असहयोग गर्ने गरेका कारण समस्या समाधानको बाटो पहिल्याउदै उसले कुनै ठोस काम गर्न सकेको देखिंदैन् ।

जिल्ला समन्य समितिका प्रमुख गोपाल राजभण्डारी अध्यक्ष रहेको अस्पताल विकास समितिका सदस्यहरुले जिम्मेवारी पाए लगतै इनरुवा अस्पताललाई भरपर्दो र विश्वसनिय उपचार सेवा दिने बताएका थिए । यद्यपी उनिहरुको बाचा अहिले सम्म पुरा हुन सकेको छैन् । समितिका पदाधिकारीहरुले अस्पताल कर्मचारी र डाक्टरहरुको असहयोगका कारण काम गर्न कठिनाई भैरहेको प्रतिकृया दिने गरेका छन् । यद्यपी स्वयं व्यवस्थापन समितिका पदाधिकारीहरु उपरनै आफु निकटका व्यक्ति भर्ना गराएको जस्ता आरोप लाग्दै आएको छ ।

तपाईको प्रतिक्रिया