काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र्रशमशेर राणाले पदभार गरेकै दिन भ्रष्टाचार मुद्दामा शून्य सहनशीलता अपनाउँछु भनेर प्रतिबद्धता जनाएको तीन महिना भयो । तर, उनको प्राथमिकतामा भ्रष्टाचार मुद्दा परेको पाइँदैन । १९ पुसमा पद बहाल भएयता उनले भ्रष्टाचार मुद्दाको पेसी तोक्ने गरे पनि स्थगितको सूचीले भने रेकर्ड बनाउँदै आएको छ ।
बिहीबार मात्रै भ्रष्टाचार र गैरकानुनीसम्बन्धी दुई दर्जन मुद्दाको पेसी चढ्यो । तर, अधिकांश कानुन व्यवसायीबाट मुद्दा स्थगित गराइएको छ । मुद्दा स्थगित गर्ने र पेसी चढाउने श्रृंखलाले निरन्तरता पाएको छ ।

विशेष अदालत ऐन, २०५९ को दफा १६ ९२० मा विशेष अदालतको निर्णयमाथि परेको पुनरावेदन मुद्दाको प्राथमिकताका साथ मिसिल प्राप्त भएको मितिले तीन महिनाभित्र किनारा गर्नुपर्ने भनिएको छ । तर, सर्वोच्चले मुद्दाको सुनुवाइ त परको कुरा मुद्दाको पेसी चढाउनेमा भने रेकर्ड कायम गरेको छ । मुद्दा स्थगित गर्ने र पेसी चढाउने श्रृंखलाका कारण भ्र्रष्टाचार मुद्दाको चाङ सर्वोच्चमा थुप्र्रिएको छ ।

६ फागुन २०६९ मा दर्ता भएको नेपाली कांग्र्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा पनि बिहीबार सरकार पक्षबाट स्थगित गरिएको छ । त्योसहित भ्रष्टाचारका दुई दर्जन मुद्दाको पेसीमा कानुन व्यवसायीबाट सुनुवाइ स्थगित गराइएको छ । पक्ष र विपक्षी कानुन व्यवसायीका तर्फबाट पटकपटक मुद्दा स्थगित गराउने क्रम चल्दै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ माघ २०६० मा जोशीमाथि ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ पदीय दुरुपयोगबाट कमाएको अभियोगसहित १३ वर्ष कैद सजाय र जरिवानाको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा तत्कालीन विशेष अदालतका अध्यक्ष भूपिध्वज अधिकारी, कमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले ३० कात्तिक २०६३ मा म्याद गुजारेर आएको भन्दै मुद्दाको तथ्यमा नपुगी जोशीलाई सो मुद्दामा सफाइ दियो । अख्तियारले सो आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता ग¥यो । सर्वोच्चले भ्रष्टाचार मुद्दामा हदम्याद नलाग्ने आदेश भएपछि विशेष अदालतमा जोशीविरुद्ध मुद्दा चल्यो ।

१० साउन २०६६ मा विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदार चालिसेको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचारी ठहर ग¥यो । जोशीसँग २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपैयाँ ४१ पैसाको मात्रै स्रोत नपुगेको भन्दै एक वर्ष ६ महिना मात्रै कैद सजाय सुनायो । जति रकमको स्रोत खुलेको छैन, त्यति रकम जरिवाना तिर्नुपर्ने आदेश विशेष अदालतले दियो । साथै, यी सम्पत्ति जफत हुने सो आदेशमा उल्लेख छ । अदालतमा बर्सेनि भ्रष्टाचारको मुद्दाको चाङको सुनुवाइ कछुवाको गतिमा अगाडि बढिरहेको छ । अकुत सम्पत्ति आर्जन, घुस, नक्कली प्रमाणपत्र, गैरकानुनी कर्जा, सार्वजनिक सम्पत्ति हिनामिना, ठेक्कापट्टामा गोलमाल, बैंक घोटालालगायत ६ सयभन्दा बढी भ्रष्टाचारसम्बन्धी मुद्दाको पेसी अगाडि बढ्न सकेको छैन ।
मुद्दा स्थगित गर्ने र पेसी चढाउने श्रृंखलाको निरन्तरता
भ्रष्टाचारसम्बन्धी ६ सयभन्दा बढी मुद्दाको पेसी अगाडि बढ्न सकेन

कांग्रेस नेता जोशीसँगै पूर्वरक्षा सचिव चक्रबन्धु अर्यालको भ्रष्टाचार मुद्दा पनि सर्वोच्चको इजलासमा घुमिरहेको छ । ८ मंसिर २०६९ मा विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका पूर्वरक्षा सचिव चक्रबन्धु अर्यालले सफाइ पाउन माग गर्दै सर्वोच्चमा २०७० मा पुनरावेदन निवेदन दर्ता गराएका थिए । उक्त मुद्दा पाँच वर्षदेखि सर्वोच्च अदालतमा अझै अल्झिरहेको छ । बिहीबार पनि उनको मुद्दाको पेसी सूची चढ्यो तर, कानुन व्यवसायीले मुद्दा स्थगित गराएको छ । विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै उनलाई डेढ वर्ष कैद, ६६ लाख रुपैयाँ जरिवाना र त्यति नै बिगो असुलउपर हुने फैसला गरेको थियो ।
विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वसहसचिव अरुणकुमार रञ्जितकारको मुद्दा १९ चैत २०६९ देखि सर्वोच्चमा पेसी चढ्दै आइरहेको छ । उनको मुद्दा हालसम्म नौपटक हेर्न नमिल्ने सूचीमा पेसी चढाइएको थियो । सातपटक हेर्न नभ्याउने सूचीमा र ६ पटक स्थगित भएको छ । उनलाई विशेष अदालतले ४५ लाख ४५ हजार ५ सय ३ रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति रहेको ठहर गर्दै भ्रष्टाचारी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रन्जितकारले ३ करोड १९ लाख रुपैयाँ बराबर भ्रष्टाचार गरेको दाबीसहित मुद्दा हालेको थियो । २०२९ सालमा सरकारी सेवा प्रवेश गरेका रन्जितकार नेपाल खानेपानी संस्थानका महाप्रबन्धक, खानेपानी विभागका महानिर्देशक हँुदै भौतिक योजना तथा निमार्ण मन्त्रालयको सहसचिवबाट सेवा निवृत्त भएका थिए ।
त्यस्तै, सुनसरी–मोरङ सिँचाइ आयोजना प्रमुख विनयकुमार सिंह र उनकी श्रीमती अलका सिंहविरुद्ध अकुत सम्पत्ति कमाएको भन्दै दर्ता भएको भ्रष्टाचार मुद्दा २३ पुस २०७४ देखि सर्वोच्चमा विचाराधीन छ । आठपटक पेसी चढेको उक्त मुद्दामा दुईपटक स्थगित, एकपटक आदेश र एकपटक हेर्न नमिल्ने सूचीमा राखिएको छ । सिंहविरुद्ध एक करोड ४५ लाख ७६ हजार ६ सय ८८ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरी स्रोत खुलाउन नसकेको दाबीसहित मुद्दा दायर भएको थियो । राजधानीबाट ।

तपाईको प्रतिक्रिया