विराटनगर। संसदमा प्रतिनिधित्व गर्ने प्रदेश १ का ५ राजनीतिक दलले प्रदेशको स्थायी राजधानी र नामाकरण यही वैशाख २२ गतेभित्र सक्ने सहमति भएको छ । मुख्यमन्त्री शेरधन राईको पहलमा विराटनगरस्थित प्रदेशसभा सचिवालयमा बसेको सर्वदीय बैठकले यस्तो निर्णय गरेको नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । सरकारले संसदमा पेश गरेको वृहत विराट क्षेत्र विकास सम्बन्धी विधेयक सर्वसम्मतिका साथ आउँदो १५ गते पारित गर्ने र वैशाख २१ र २२ गतेभित्र राजधानी र नामको विषय टुंग्याउने सहमति भएको भण्डारीको भनाइ छ ।

भण्डारीका अनुसार सभामुखले प्रस्ताव आव्हान गरेपछि सर्वदलीय हिसावले नै राजधानीको विषय संसदमा लाने विषयमा पनि विपक्षी दलसँग सहमति भएको छ । बैठकपछि सामान्य प्रतिक्रिया दिँदै नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले पनि यही अधिवेशनमा प्रदेशको राजधानी र नामको विषय टुंगो लगाउने विषयमा समान्य छलफल भएको बताए । सभामुखले १५ गते प्रदेशको राजधानी र नामाकरणको लागि प्रस्ताव आव्हान गर्ने कुरा जानकारीमा आएको भन्दै कोइरालाले उक्त विषयको टुंगो लाग्नसक्ने बताए । सर्वदलीय बैठकमा सरकारले सदनमा प्रस्तुत गरेको वृहत विराट क्षेत्र विकाससम्बन्धी विधेयक विकास र समृद्धिका लागि ल्याएको भन्दैे विपक्षीलाई मुख्यमन्त्री राईले आश्वास्त पार्ने कोशिष गरे । उक्त विधेयक सर्वसम्मतिले १५ गते पारित गर्ने पनि सहमति भएको प्रमुख सचेतक भण्डारीको दाबी छ । यद्यपि कांग्रेसका नेता कोइरालाले भने औपचारिक कुनै सहमति नभएको तर सामान्य छलफल भएको बताए ।

तपाईको प्रतिक्रिया