काठमाडौं ।नेपालमा बेरोजगारी दर ११ दशमलव ४ प्रतिशत रहेको आँकडा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ । विभागले शुक्रवार सार्वजनिक गरेको तथ्यांक अनुसार १५ वर्षमाथिका अर्थात् काम गर्ने उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजार रहेकोमा त्यसमध्ये ७९ लाख ९४ हजार श्रम बजारमा सक्रिय छ । त्यसमध्ये ९ लाख ८ हजार जना पूर्ण बेरोजगार छन् । बेरोजगारमध्ये ५ लाख ११ हजार पुरुष र ३ लाख ९७ हजार महिला छन् । विभागले २०७४ असारदेखि २०७५ जेठसम्म लगाएर तथ्यांक संकलन गरेको थियो ।

बेरोजगारमध्ये ६ लाख ४० हजार शहरमा र २ लाख ६८ हजार जनसंख्या ग्रामीण क्षेत्रमा बसोबास गर्छ । पुरुष र महिलाको बेरोजगारी दर क्रमशः १० दशमलव ३ प्रतिशत र १३ दशमलव १ प्रतिशत छ । यस्तै, शहरी बेरोजगार ११ दशमलव ६ र ग्रामीण बेरोजगार दर १० दशमलव ९ प्रतिशत छ । ७० लाख ८६ हजार जनसंख्या भने कुनै न कुनै रूपमा रोजगारीमा छ । त्यसमध्ये ४४ लाख ४६ हजार पुरुष र २६ लाख ४० हजार महिला छन् ।

उक्त जनसंख्या काम गर्ने उमेर अर्थात् १५ वर्षमाथिको हो, जुन कुल जनसंख्याको ३४ दशमलव २ प्रतिशत हो । यो उमेर समूहको जनसंख्यामध्ये शहरमा ४९ लाख १ हजार र ग्रामीण भेगमा २१ लाख ८५ हजार जना बसोबास गर्छन् । आप्mनै उपभोगका लागि खेतीपाती र पशुपालन तथा पारिवारिक उपभोगका लागि वस्तु उत्पादनमा संलग्न जनशक्तिलाई यसअघिको सर्वेक्षणमा ‘रोजगार’ मानिए पनि यसपटक भने त्यस्ता क्रियाकलापलाई रोजगार अन्तर्गत पारिएको छैन ।

औपचारिक क्षेत्र रोजगारी १५ प्रतिशत मात्र
श्रमशक्तिमा सहभागिता दर शहरी क्षेत्रमा ४१ दशमलव ७ छ भने ग्रामीण इलाकामा ३२ दशमलव ९ छ । त्यसमध्ये पुरुषको प्रतिशत ५३ दशमलव ८ छ भने महिला जम्मा २६ दशमलव ३ प्रतिशत छन् । श्रमको अल्प उपयोग अर्थात् ४० घण्टाभन्दा कम काम गरेका र थप काम गर्न चाहने बेरोजगारको दर ३९ दशमलव ३ प्रतिशत छ ।

त्यस्तो दरमा पुरुषको ३२ प्रतिशत छ भने महिलाको ४८ दशमलव ८ प्रतिशत छ । मुख्य काममा अक्सर काम गर्ने समय सातामा ४४ घण्टा छ, जसमा पुरुषको ४८ घण्टा र महिलाको ३९ घण्टा रहँदै आएको छ । यस्तै, अर्थतन्त्रको ३७ दशमलव ८ प्रतिशत औपचारिक क्षेत्रमा र ६२ दशमलव २ प्रतिशत अनौपचारिक क्षेत्रमा रहे पनि औपचारिक क्षेत्रको रोजगारी भने १५ दशमलव ४ प्रतिशत मात्र छ । र, ८४ दशमलव ६ प्रतिशत अनौपचारिक क्षेत्रबाट छ ।

रोजगारमा रहेकाहरूको तलब/ज्याला प्राप्त गर्नेहरूको औसत मासिक आम्दानी रू. १७ हजार ८०९ रहेको देखिन्छ । त्यसमध्ये पुरुषको औसत मासिक आम्दानीको तुलनामा महिलाको कम छ । पुरुषको मासिक आम्दानी रू. १९ हजार ४६४ रहँदा महिलाको त्यस्तो आम्दानी रू. १३ हजार ६३० रहेको विभागको तथ्यांकमा उल्लेख छ । नेपाली महिलाले पुरुषको तुलनामा औसत मासिक रू. ५ हजार ८३४ अर्थात् ३० प्रतिशत कम कमाउने गरेको तथ्यांकले देखाउँछ ।

प्रदेश–३ मा सबैभन्दा बढी रोजगार
प्रदेश तहमा गरिएको श्रमशक्ति सर्वेक्षणले प्रदेश–३ मा सबैभन्दा बढी रोजगार (४३ दशमलव ८ प्रतिशत) छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा (२४ दशमलव १ प्रतिशत) छन् । सर्वेक्षणले प्रदेश–२ मा २० दशमलव १ प्रतिशत र प्रदेश–३ मा ७ प्रतिशत काम गर्ने उमेरका मानिस बेरोजगार छन् । प्रामाणिक पेशाको वर्गीकरण अनुसार कृषि तथा वनमा २१ दशमलव ५ र थोक तथा खुद्रा विक्रीमा १७ दशमलव ५ प्रतिशत श्रमिक कार्यरत छन् । यसैगरी, गाडी लाइनमा १५ दशमलव १, उद्योग–निर्माणमा १३ दशमलव ८ र शिक्षाक्षेत्रमा ७ दशमलव ९ प्रतिशत कार्यरत रहेको तथ्यांकमा उल्लेख छ । आर्थिक दैनिकबाट ।

तपाईको प्रतिक्रिया