इनरुवा। देशमा मौलाउदै गईरहेको संस्थागत भ्रष्टाचार तथा बेथितिहरुको बिरुद्ध नेपाल तरुण दलले देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । नेपाल तरुण दल केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार ७७ जिल्लाका प्रशासन कार्यालयलाई ७ बुदे माग सहितको ज्ञापन पत्र बुझाउदै सरकार सचेत हुन आग्रह गरिएको छ ।

सुनसरीमा पनि तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुङको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीलाई ज्ञापन पत्र बुझाइएको छ । ज्ञापन पत्र बुझाउदै मुलुकमा जेलिदै गएको संस्थागत भ्रष्टाचारको अन्त्य,देशको राष्ट्रिय अस्मिता तथा अखण्डतामा आँच आउने गरी नागरिकता संसोधन ऐन संसदमा विचाराधीन रहेको अवस्थामा जन्मको आधारमा नागरिकता लिएका विदेशी नागरिकका सन्तानहरुलाई बंशजको आधारमा गृह मन्त्रालयको परिपत्रको आधारमा नागरिकता वितरण शुरु गरिएकोमा विवादित नागरिकता संशोधन ऐन फिर्ता लिई नागरिकता वितरण अबिलम्ब रोक्नुपर्ने, कब्जा गरिएको सार्वजनिक सम्पत्ति जफत र बिगो सहित दोषी उपर कारबाही, बढ्दो हत्या,हिंसा,बलात्कार नियन्त्रण, विवादित एनसेलको पुँजिगत लाभकर असुली र अन्य बेथितिहरुको अन्त्य गर्दै संवैधानिक सर्वोच्चता र विधि शासन लागू गर्न माग गरिएको छ ।

तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङको नेतृत्वमा सबै क्षेत्रीय,नगर तथा उपमहानगर समितिका प्रतिनिधि सम्मिलित प्रतिनिधिमण्डल द्वारा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र मार्फत आफुहरुले उठाएका सबै माग पूरा गर्न आग्रह गर्दै माग पूरा नगरिए राष्ट्रियता,लोकतन्त्र, संविधानले प्रत्याभूत गरेका जनताका मौलिक अधिकारहरु र हालसम्म प्राप्त उपलब्धिहरुको रक्षा गर्न नेपाल तरुण दल जस्तोसुकै बलिदानी एवं संघर्ष गर्न समेत पछि नपर्ने चेतावनी समेत दिईएको छ । काग्रेसको देशव्यापी जागरण अभियान प्रभावकारी र सफल बनाउन तरुण दल सुनसरीले चरणबद्ध अभियान शुरु गर्ने तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले बताए ।

तपाईको प्रतिक्रिया