इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा जनप्रतिनिधी र कर्मचारीहरुको चरम लापरवाही बढेको कारण स्थानीय सेवाग्राहीले सास्ती व्यहोर्नु परेको छ । भोक्राहा नरसिंह गाउँपालिका कार्यालय पछिल्लो केही समययता बेवारिसे अवस्थामा संचालन भइरहेको पाइएको छ । आइतवार इनरुवाका संचारकर्मीको एक टोली कार्यालय समय १२ बजे भोक्राहा नरसिंह गाउँपालिका कार्यालय पुग्दा कार्यालयमा ४ जना कर्मचारीको मात्रै उपस्थिति रहेको पाइएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव कामका लागि काठमाण्डौं गएको, उपाध्यक्ष पुनम कुमारी मेहता संघिय समाजवादी फोरम नेपालको प्रदेश अधिवेशन कार्यक्रममा बिराटनगर गएको र कार्यालय प्रमुख सरुवा भएर गएपछि केही दिनयता भोक्राहा नरसिंह गाउँपालिका कार्यालयका सहयोगीको भरमा बेवारिसे अवस्थामा संचालन भइरहेको पाइएको छ ।

सो कार्यालयमा संचारकर्मीको टोली पुग्दा भोक्राहा नरसिंह गाउँपालिका कार्यालयका सूचना अधिकृत सन्देश तिमल्सिना, सव इञ्जिनियर सृजना सतार र दुई जना कार्यालय सहयोगी मात्रै उपस्थिति रहेको पाइयो । गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवको कक्षमा ताला लागेको भए पनि उपाध्यक्षको कक्षमा भने कोही नभएको बेला पनि पंखा चलि रहेको थियो ।

यस्तै योजना शाखाको अवस्था पनि उपाध्यक्षको कक्ष जस्तै थियो । गाउँपालिकाका निमित्त प्रमुख श्याम मण्डलको मनोमानी र लापरवाहीले भोक्राहा नरसिंह गाउँपालिका कार्यालयको अवस्था केही दिनयता बेवारिसे हुन पुगेको हो । सो कार्यालयमा कार्यरत्त अधिकांश कर्मचारीको दोहोरो जिम्मेवारीले गर्दा समेत कार्यालयमा आउने सेवाग्राहीले सास्ती खेप्नु परेको छ । भोक्राहा नरसिंह गाउँपालिका कार्यालयको प्रशासन शाखा, योजना शाखा, लेखा शाखा, महिला शाखा, जिन्सी शाखा, स्वास्थ्य शाखा, पञ्जिकरण शाखा लगायतको शाखाहरुको कर्मचारीको अनुपस्थितीले गर्दा बेवारिसे अवस्थामा संचालन भइरहेको पाइएको हो ।

पटकपटक कार्यालय प्रमुखको सरुवाले समेत सो गाउँपालिकाको काम प्रभावित बन्दै गएको हो । सो गाउँपालिकामा जनशताब्दी दैनिकका प्रकाशक प्रमोद कुमार यादव, कार्यकारी सम्पादक निश्चल शर्मा, इनरुवा अनलाइनका प्रमुख बीरेन्द्र शाह र स्मार्ट सिटी अर्धसाप्ताहिकका सम्पादक दिपेन्द्र यादव सहितको संचारकर्मीको टोलीले छड्के अनुगमन गर्दा यस्तो पाइएको हो । यता भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहतालाई यस बिषयमा टेलिफोन मार्फत संचारकर्मीले जानकारी लिन खोज्दा गाउँपालिकाका अध्यक्षको कारण गाउँपालिकाको कामकाज बेवारिसे बनेको प्रतिक्रिया दिएकि छिन् ।

तपाईको प्रतिक्रिया