- अमर काफ्ले

सुनसरी सदरमुकाम इनरुवामा संचालन हुन लागेको दोस्रो प्रदेश स्तरीय इनरुवा मेयर कप भलिबल प्रतियोगितामा उत्कृष्ट दर्शक सम्मान गरिने भएको छ ।
प्रतियोगिताका दौरान खेल हेर्न पुग्ने दर्शक मध्येबाट उत्कृष्ठ ठहरिनेलाई नगद सहित सम्मान गर्न लागिएको छ । खेल अवधीभर सहभागि हुने दर्शक मध्येबाट एकजनालाई आयोजकले नगद ५ हजार सहित सम्मान गर्न लागेको हो । सम्मान रकम प्रारम्भिक घोषणा गरिएकाले बढ्न समेत सक्ने बताइएको छ ।
इनरुवा नगरपालिका र शान्तिदीप नेपाल इनरुवा सुनसरीले महेन्द्रचौकमा जेठ ४ गतेबाट संचालनमा ल्याउन लागेको राष्ट्रिय स्तरको भलिवल प्रतियोगितामा सहभागि हुने दर्शकलाई सम्मान गर्न लागेको हो ।


प्रतियोगितामा आयोजक इनरुवा सहित १० टिमले सहभागिता जनाउँदै छन् । शान्तिदीप इनरुवाका अध्यक्ष सुभास राईका अनुसार प्रतियोगितामा भोजपुर, इटहरीको शिखर शुज, झापा, मोरङ ११, रामधुनी, नेपाल पुलिस, खोटाङ, डुम्राहा, इनरुवा र आयोजक टिमले प्रतिष्पर्धा गर्ने छन् ।
प्रतियोगिताका बारेमा इनरुवा नगरपालिका प्रमुख राजन मेहताले पत्रकार सम्मेलनकाबीच जानकारी गराएका हुन् । प्रतियोगिताको बिजेता टिमले शिल्ड र प्रमाणपत्र सहित नगद १ लाख रासी हात पार्ने छ । दोस्रो हुने टिमले ५० हजार पाउने छ ।


पछिल्लो समय इनरुवा नगरपालिका खेलकुदका क्षेत्रमा जिल्लाका अन्य स्थानीय तहको दाँजोमा अग्रणी देखिएको छ । राष्ट्रिय स्तरको डे नाइट देखि ५० ओभरको एक दिवशीय क्रिकेट प्रतियोगिता इनरुवामा सम्पन्न भैसकेको छ ।

खेलकुद ग्राम निर्माणकालागि शिलान्यासको कार्य समेत सकिसकेको इनरुवाले पूर्वाधार निर्माणको क्रमलाई तिव्रता समेत दिइरहेको छ । इनरुवामा यही बैशाखको अन्तिम साताबाट डे नाइट टी टेन (दश ओभरको क्रिकेट) प्रतियोगिता संचालन हुँदै छ ।

तपाईको प्रतिक्रिया