- अमर काफ्ले

इनरुवा नगरपालिका प्रमुख राजन मेहताले आफ्नो नगरपालिका सुनसरीकै नमूना बन्ने दाबी गरेका छन् ।
नगरपालिकाले अघि सारेको नीति तथा योजना कार्यान्वयनको चरणमा रहेकाले समुन्नत नगरको परिकल्पना छिटै साकार हुने नगर प्रमुख मेहताले विश्वास व्यक्त गरे ।
स्थानीय स्रोत साधन र केन्द्रिय बजेट तथा कार्यक्रम मार्फत संचालनमा रहेका बिकासे योजना नगरभित्र चरणवद्ध रुपमा अघि बढीरहेको बताएका मेहताले थप कार्यक्रम र बजेटकालागि चालिएको पहल समेत सकारात्मक भएको बताएका छन् ।
समग्र नगर बिकासको खाका सहित संघीय सरकार मातहतका विभिन्न मन्त्रालय धाएको टोलीका उपलब्धी बारे जानकारी गराउन नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर मेहताले सो धारणा व्यक्त गरेका हुन् ।
मेहताले इनरुवाको मुहार कायापलट हुने दिन नजिकिएको भन्दै काठमाण्डौं गएको टोली उच्च मनोबलका साथ फर्किएको बताए । मेहताले नगरपालिकाको प्रतिनिधि मण्डलले नेपाल सरकारका विभिन्न मन्त्रालयहरुमा एक साता लामो समय बिताएको बताए । मन्त्री तथा सचिव लगायत सँगको भेट इनरुवा नगरकाको बिकासकालागि कोशेढुङगा सावित हुने मेहताले विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा बोल्दै मेहताले नेपाल सरकारका विभिन्न मन्त्रालयका मन्त्री तथा सचिव समक्ष पेश गरिएका योजनाबारे सकारात्मक प्रतिकृया र प्रतिवद्धता आएकाले भेट उपलब्धी मुलक भएको बताए । नगरपालिकाको हितमा हुने ठोस र प्रभावकारी बजेट सहितका योजना आगामी आ.व.को बजेट नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिवद्धता सम्वन्धित मन्त्रालयबाट प्राप्त भएको इनरुवा पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । जसकालागि पहल जारी राख्ने निर्णय समेत गरिएको बताइएको छ ।

पत्रकार सम्मेलनमा नगर प्रमुख मेहताले टोलीले गरेका काम र पाएको आश्वासन सहित जनाइएको प्रतिवद्धताका बारेमा जानकारी गराएका थिए । जसअनुसार इनरुवा ३ मा रहेको निर्माणाधिन सीटी हलका लागि संघीय मामिला तथा सामान्य प्रशासन मंत्री लालवावु पंडितले दुई करोड रकम बिनियोजन गरिदिने प्रतिवद्धता जनाएका छन् ।

इनरुवालाई स्मार्ट सिटीको रुपमा विकास गर्न थप पूर्वाधार निर्माणका लागि केन्द्रिय बजेटमा प्राथमिकिकरणका लागि शहरी विकास मन्त्रालयका सचिवसंग माग पत्र पेश गरिएको बारेमा समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यसैगरी हाल बजारक्षेत्रमा रहेको सुपर मार्केटलाई आधुनिक बनाउन नगर विकास कोषको सहयोगमा आधुनिक सुपरमार्केट कम्लेक्सको निर्माणका लागि तत्काल डीपीआर गरि पठाउने महानिर्देशक मनिराम सिंह महतसंग सहमति भएको बताइएको छ ।

इनरुवाको खानेपानी योगजनाको कार्यालयमा बसिरहेको नेपाली सेनाको ब्यारेक अन्यत्र सार्ने बिषयमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलसंग छलफल गरिएकाले रक्षामन्त्री पोखरेलले कार्यपालिका बैठकको निणर्यबाट खानेपानी खाली गराउन माग भई आएमा सहयोग गर्ने प्रतिवद्धता जनाएको मेयर मेहताले बताए । द्वन्दकालका बेला खानेपानीको कार्यालयमा बसेको सेना नहट्दा दैनिक कार्यसम्पादनमा समस्या भएको विषयमा पटक पटक ध्यानाकर्षण गराइएको थियो ।
स्वास्थ्य मन्त्री उपेन्द्र यादवसंग इनरुवा नगरका १० वटै वडामा स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्र स्थापना तथा संचालन गर्ने बिषयमा टोलीले छलफल गरेको र मन्त्री यादव सकारात्मक रहेको जानकारी पत्रकारलाई मेयरले गराए । हाल इनरुवा ३ र ८ नं वडामा स्वास्थ्य चौकी संचालनका लागी ३८ लाख रुपैयाँ निकासा र कर्मचारीको दरवन्दी समेत स्वीकृत भएर आएको जानकारी पत्रकार सम्मेलनमा गराईएको थियो ।
इनरुवा–कौवाखोच र दुहवी–इनरुवा सडक निर्माण गर्दा १ सय ३८ फिट क्षेत्रफल लिदा इनरुवा बजार क्षेत्रको बिनाश रोक्न बैकल्पिक सडक ब्यबस्था गर्न भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठसंग छलफल भएको र उक्त प्रस्ताव मन्त्री परिषदमा पेश गर्न मन्त्रीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको जनाइएको छ । इनरुवालाई माछामा पूर्ण आत्मनिर्भर बनाउन सकिने भएकाले नगर क्षेत्रमा समेत ट्राउट माछाको पालन सम्भाब्यता अध्ययन गरिने कार्यक्रम रहेको मेयर महेताले बताए ।

इनरुवाका मेयर राजन मेहताको नेतृत्वमा संघीय सांसद सीताराम मेहता, उपमेयर जमुना गौतम पोखरेल, वडाध्यक्ष कालुराम गुरुङ, अन्जनी पोखरेल, पूर्व मेयर खेमराज पोखरेल, इनरुवा उद्योग वाणिज्य संघबाट अध्यक्ष पंचदेव मेहता सहित गिरिराज अटल, रमेश श्रेष्ठ लगायतको टोली एकसाता काठमाडौंमा गएको थियो ।

तपाईको प्रतिक्रिया