हिन्दूधर्मको मान्यताविपरीत बुबाको दाहसंस्कार र काजकिरिया गरेको आरोपमा बाराको सुवर्ण गाउँपालिका–६ धरमपुरको एक परिवार जनप्रतिनिधिकै अगुवाइमा गाउँबाट लखेटिएको छ । वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवको नेतृत्वमा गाउँलेले सामाजिक बहिष्कार गरेपछि ओमप्रकाश यादव (अवधेश)को नौजनाको परिवार विस्थापित भएको हो ।

१५ वैशाखमा ओमप्रकाशलाई पितृशोक परेको थियो । उनी किरियामा बसेको भोलिपल्ट जिमिलाल र विद्यानन्दको अगुवाइमा पञ्चायत डाकियो । पञ्चायतले ओमप्रकाशलाई सामाजिक बहिष्कार गर्ने निर्णय सुनायो । उनको परिवारसँग बोलचाल गर्ने गाउँलेलाई पनि ३० हजार जरिवानाको फैसला गर्‍यो । त्यसपछि गाउँलेहरू तर्किन थाले ।

पति वियोगले मर्माहत ओमप्रकाशकी आमा बिन्दा सामाजिक बहिष्कारको निर्णयले थप प्रताडित बनिन् । न्याय माग्न जिल्ला प्रशासन कार्यालय पुग्दा पनि उनले तिरष्कार मात्रै पाइन् । प्रशासनले उनलाई ‘गाउँको विवाद गाउँमै मिलाउनू’ भनेर फर्काइदियो ।

वडासदस्यबाट अन्यायमा परेका यादव परिवारले वडाध्यक्ष शिवधारी दासलाई भेटेर न्यायको गुहार माग्ने कोसिस गर्‍यो । तर, दास सम्पर्कमै आउन चाहेनन् । यसबीचमा गाउँलेहरूले ओमप्रकाशको परिवारलाई बहिष्कार गर्न थालिसकेका थियो । केही सीप नचलेपछि काजकिरिया सकिएको भोलिपल्टै २२ वैशाखमा गाउँ छाडेको ओमप्रकाशले बताए । उनीहरू अहिले हेटौँडामा बसिरहेका छन् ।

विद्यानन्द र जिमिलालले गाउँ पञ्चायत डाकेर सामाजिक बहिस्कारको निर्णय गराएको पीडित ओमप्रकाशले बताए । उनका बुबा अनुठा यादवको १५ वैशाखमा उपचारका क्रममा निधन भएपछि स्थानीय फलही खोलामा दाहसंस्कार गरिएको थियो । गाउँकै १५ जना र आफूहरूले मान्दै आएको कविरपन्थी धर्म मान्ने केही शिष्य मलामी आएको उनले बताए । तर, हिन्दू संस्कार तोडेको भन्दै विद्यानन्द र जिमिलालले १६ वैशाखमै गाउँ पञ्चायत डाकेर सामाजिक बहिस्कारको निर्णय गराए ।

पञ्चायतले ओमप्रकाशको परिवारसँग बोल्ने र कुनै कारोबार गर्नेलाई ३० हजार जरिवाना तिराउने निर्णय पनि ग¥यो । यो निर्णयसँगै अधिकांश गाउँले यादव परिवारसँग टाढिए । नजिक आउने केही पनि पञ्चायतको कारबाहीमा परे । ‘गाउँमा मेरो राइस मिल र गल्ला भण्डार छ, त्यहाँ पनि कोही आएनन् । मेरो खेतमा काम गर्न गएको निहुँमा दिनेशलाल प्रसाद, भवनेश्वर पासवान र सिताब हजारालाई गाउँ घुमाएर माफी माग्न लगाएपछि त गाउँले नजिक पर्नै छाडे,’ ओमप्रकाशले भने । आफू हुर्किएको र रगतपसिना बगाएको गाउँ नै बिरानो भएपछि बुबाको काजकिरिया सकिएको भोलिपल्टै घरमा ताल्चा लगाएर उनले परिवारसहित गाउँ छाडे ।

‘आफ्ना भनिएका पनि बिरानाजस्तै भए, गाउँमा बस्ने वातावरण नै भएन, वनबास जानुपर्‍यो,’ ओमप्रकाशले भने, ‘आफ्नो जायजेथा भन्नु नै त्यहीँ छ, सहज वातावरण बनाइदिए त घर फर्किन्थेँ ।’

गाउँलेले सामाजिक बहिस्कार गर्दा ओमप्रकाश बुबाको शोकमै थिए । आमा विन्दालाई भने श्रीमान्को मृत्युको शोकसँगै गाउँबाट बहिस्कृत हुनुको अर्को पीडा थियो । घरमा काजकिरिया चलिरहेकै वेला उनी न्याय खोज्दै जिल्ला प्रशासन कार्यालय पुगिन् । तर, प्रशासनले ‘समस्या गाउँमै सुल्झाउनु’ भन्दै फर्काइदियो । उनको परिवारले वडाध्यक्ष शिवधारी दासलाई भेटेर न्यायको गुहार माग्ने कोसिस गर्‍यो । तर, वडाध्यक्ष सम्पर्कमै आउन चाहेनन् । यसबीचमा गाउँलेहरूले ओमप्रकाशको परिवारलाई बहिष्कार गर्न थालिसकेको थियो । केही सीप नचलेपछि ककाजकिरिया सकिएको भोलिपल्टै गाउँ छाडेको ओमप्रकाशले बताए ।

नयाँ पत्रिकाले सम्पर्क गर्दा वडाध्यक्ष दास आफूलाई घटनाबारे कुनै जानकारी नभएको भन्दै पन्छिए । ‘अनुठा यादवको मृत्यु भएको विषयमा मलाई जानकारी छ, तर उनको परिवारलाई बहिस्कार गरिएको जानकारी छैन,’ उनले भने ।

पूर्वगाविस उपाध्यक्ष विद्यानन्द यादव भन्छन्–पञ्चायतको निर्णय मैले स्विकारेको हुँ

ओमप्रकाशको परिवारले हिन्दूधर्मविपरित दाहसंस्कार काजकिरिया गरेपछि गाउँपञ्चायत बसेर बहिस्कारको निर्णय गरेको हो । उसको परिवारसँग कुनै सम्बन्ध र लेनदेन नगर्ने निर्णय पञ्चायतले गर्‍यो । काम गर्न जानेलाई पनि जरिवाना गर्ने निर्णय भएको हो । गाउँबाटै लखेट्नुपर्ने सबैको स्वर थियो । पञ्चायतको निर्णय मैले पनि मानेको हुँ ।

वडासदस्य जिमिलाल यादव भन्छन्–हिन्दू परम्पराअनुसार काजकिरिया नगरेपछि बहिस्कार गरेका हौँ । ओमप्रकाशको परिवारले हाम्रो हिन्दू परम्परालाई लत्यायो । त्यो परिवारसँग किन सम्बन्ध राख्ने ? गाउँबाट बहिष्कार गर्ने निर्णय भएको हो । अहिले कहाँ छन् थाहा छैन । ओमप्रकाशले सामाजिक परम्परा र हिन्दू धर्मलाई मानेनन्, त्यही भएर बहिष्कार गरियो । गाउँनिकाला भएका ओमप्रकाश यादव भन्छन्– बुबाको काजकिरिया सात दिनमा सकायौँ, तर जनप्रतिनिधि र स्थानीय अगुवाले धर्म तोडेको भन्दै गाउँबाट लखेटे

बिरामी बुबा उपचारका क्रममा १५ वैशाखमा बित्नुभयो । स्थानीय फलही खोलामा दाहसंस्कार गर्‍यौँ । गाउँका १५ जना र हाम्रो परिवारले मान्दै आएको कविरपन्थी धर्मका केही शिष्य मलामी थिए । आफ्नै धर्म र रीतिअनुसार हामीले सात दिनमा बुबाको काजकिरिया सकायौँ । तर, केही स्थानीय नेता र अगुवाले धर्म तोडेको भन्दै पञ्चायत बसेर मेरो परिवारलाई सामाजिक बहिष्कार गर्ने निर्णय गर्‍यो । बोलचाल गरे मात्रै पनि ३० हजार जरिवाना तिर्नुपर्ने चेतावनी दिएपछि गाउँलेहरू हामीसँग बोल्नै छाडे । यो निर्णय मलाई गाउँनिकाला गरेजस्तै भयो । गाउँमा मेरो राइस मिल र गल्ला भण्डार छ, त्यहाँ पनि कोही आएनन् । मेरो खेतमा काम गर्न गएको निहुँमा दिनेशलाल प्रसाद, भवनेश्वर पासवान र सिताब हजारालाई गाउँ घुमाएर माफी माग्न लगाएपछि त गाउँले झन् हच्किए । सामाजिक बहिष्कारको पीडा सहन नसकेपछि घरमा ताल्चा ठोकेर म परिवारसहित २२ वैशाखमा निस्किएँ । अहिले हेटौँडामा बसेका छौँ । मेरो परिवारलाई पूर्वगाविस उपाध्यक्ष विद्यानन्द यादव, अहिलेका वडासदस्य जिमिलाल यादव तथा स्थानीय अगुवा हृदयनारायण राउत, भरोसी राउत, गणेश यादव, वैद्यनाथ गिरी, श्रीनिवास बरै, रामअश्रे राउत, रामाधार राउतलगायतले बहिष्कार गराएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया