- अमर काफ्ले

निजि तथा आवासीय विद्यालय संगठन(प्याब्सन)ले सुनसरीको रामधुनी नगरपालिका वडा नम्वर ८ मा नमूना वस्ती निर्माण गर्ने भएको छ ।
प्याब्सन केन्द्रिय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरी सहितको नमूना वस्ती निर्माण गर्न लागेको हो ।
रामधुनी नगरपालिकाले उपलब्ध गराएको करिव १ विगाह क्षेत्रफलमा सुविधा सम्पन्न वस्ती निर्माण गर्न लागेको प्याब्सन सुनसरी जिल्ला अध्यक्ष विष्णु कोइरालाले बताउनु भयो ।
बाढी पीडित र विपन्न समूदायलाई लक्षित गरी तयार पार्न पारिएको वस्तीका प्रत्येक घर २ कोठे हुनेछन् । शौचालय र खानेपानिको उचित प्रवन्ध सहितको बन्दोवस्ती मिलाइने नमूना वस्तीमा चिल्ड्रेन पार्कको समेत व्यवस्था गरिने अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।


बढीमा ६ महिना भित्र निर्माण कार्य सम्पन्न गरी सम्वन्धित परिवारलाई घर हस्तान्तरण गर्ने लक्ष लिएको प्याब्सनले नमूना वस्ती निर्माणको अनुमानित लागत १ करोड ५० लाखको हाराहारीमा रहने जनाएको छ ।


वस्ती निर्माणको शिलान्यासकालागि संघीय सरकारका शिक्षा मंत्री गिरीराजमणी पोखरेलका साथै कृषि तथा पशुपंछी राज्य मंत्री रामकुमारी चौधरी र एक नम्वर प्रदेशका सामाजिक विकास मंत्री जीवन घिमिरे रामधुनी पुग्नु भएको थियो ।


कार्यक्रममा प्याब्सनका केन्द्रिय अध्यक्ष टिकाराम पुरी, प्याब्सन प्रदेश एकका अध्यक्ष युवराज वशिष्ठ सहित केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनाल, रामधुनी नगरपालिका प्रमुख जयप्रकाश चौधरी, वडाध्यक्ष रुद्र बस्नेत लगायतको सहभागिता रहेको थियो ।
प्याब्सनले पहिलो पटक नमूना वस्ती निर्माण गर्न लागेको हो । प्याब्सन जिल्ला र प्रदेश कार्य समितिको पहलमा वस्ती निर्माणकालागि रामधुनी नगरपालिकाले जग्गा उपलब्ध गराएसँगै केन्द्रिय कार्य समितिले वस्ती निर्माणकालागि शिलान्यासको काम गराएको हो । नमूना वस्ती निर्माणको क्रमलाई अन्यत्र समेत विस्तार गर्ने लक्षसाथ अघि बढिएको प्याब्सन केन्द्रिय अध्यक्ष टिकाराम पुरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया