काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले २६ औं मदन आश्रित स्मृति दिवस शुक्रबार मनाउँदै छ ।नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले यो वर्ष सो दिवस मनाउन थालेको हो ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । सो दिनको सम्झनामा नेकपाले जेठ ३ गते सो दिवस मनाउन लागेको हो ।दिवसका अवसरमा शुक्रबार तत्कालीन एमालेको पुरानो पार्टी मुख्यालय मदननगर बल्खुमा माल्र्यापण कार्यक्रमको आयोजना गर्दै छ । स्वर्गीय भण्डारीको प्रतिमासँगै आश्रितको तस्बिरमा पनि माल्यार्पणको कार्यक्रम राखिएको छ । गत वर्षको जेठ ३ गते नै दुवै पार्टीको एकीकरण भएको थियो ।

सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेकपाका अन्य नेता पनि सहभागी हुने तयारी छ । मदन आश्रितको घटनाको छानबिन नभएको भन्दै तत्कालीन एमालेभित्र आलोचना हुने गरेको थियो ।कार्यक्रमा जीवराजकी पत्नी माया ज्ञावली सहभागी हुने तयारी छ । मदनकी श्रीमती विद्यदेवी भण्डारी हाल मुुलुकको राष्ट्रपति रहेकी छन् । पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेका थिए ।

जिप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए । लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई अझै परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको कम्युनिस्ट नेताहरूले बताउँदै आएका छन् । उनीहरूले भण्डारीको जनताको बहुदलीय जनवाद अहिले पनि सान्र्दभिक रहेको बताउँदै उनीजस्तो नेता देशलाई खाँचो भएको औंल्याउँदै आएका छन् ।

भण्डारी कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्पर्कबाट कम्युनिस्ट आन्दोलनमा लागेका थिए । उनी तत्कालीन नेकपा मालेको केन्द्रीय सदस्य पोलिटब्युरो सदस्य हुँदै २०४६ सालदेखि त्यस पार्टीको महासचिव बनेका थिए । विश्वभर कम्युनिस्ट शासन पतन भइरहेका बेला ९० को दशकमा जनताको बहुदलीय जनवाद नामक प्रजातान्त्रिक विचारको प्रतिपादन गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रीकरण गरेपछि मदन भण्डारी विश्वभर चर्चाको शिखरमा पुगेका थिए ।

डुब्न लागेको कम्युनिस्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धामा लगेर बचाउन सफल भएका जननेता भण्डारीलाई एक चर्चित अमेरिकी पत्रिकाले कार्ल माक्र्स नेपालमा जीवित छन् भनेर लेखेको थियो । उनले २०४८ सालको संसदीय चुनावमा नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएका थिए । राजधानीबाट ।

तपाईको प्रतिक्रिया