काठमाडौं । आर्ट काउन्सिलमा कार्टुनिस्ट सानुराज डंगोलको ‘पोलिटिक्स’ शीर्षकको कार्टुन राखिएको छ। उक्त कार्टुनमा कौवाले घैंटोमा ढुंगा भरिरहेका छन्। घैंटो भने फुटेको छ र सबै पानी खेर गइरहेको छ। यो मेलम्ची खानेपानीको प्रसंगलाई उठाएर कोरिएको व्यंग्य कार्टुन हो। मेलम्चीमाथि नै व्यंग्य गर्दै अर्का कार्टुनिस्ट रवीन्द्र मानन्धरले कार्टुन बनाएका छन्। ‘मेलम्ची’ शीर्षकमा उनले हात्ती छिर्‍यो तर पुच्छर अड्किएको देखाउँदै कार्टुन बनाएका हुन्।

राजेश मानन्धरको ‘किन बन्दैन समृद्ध नेपाल’ शीर्षकमा प्रधानमन्त्री ओलीबारे व्यंग्य चित्र छ। साथै अथक मनुको ‘साक्षर जिल्लामा ल्याप्चे’, दावा लामाको ‘पानीपोखरी’, केशवराज खनालको ‘प्रवृत्ति’ शीर्षकमा माफियामाथिको प्रहारलगायत थुप्रै कार्टुनमा सत्ताधारीलाई तीखो व्यंग्य गरिएको छ। तर यतिबेला कार्टुनिस्ट क्लब सेल्फ सेन्सरसिप रोज्ने तरखरमा छ। आखिर किन त ?

कार्टुनले पत्रकारिता र कला दुवै विधा समेट्छ। त्यसैले यतिबेला आर्ट काउन्सिलका भित्तामा सामाजिक विकृतिदेखि राजनीतिक विसंगतिसम्मका कार्टुन झुन्डिएका छन्। पछिल्लो समय कार्टुनले स्तरीय पत्रकारिता गर्नुपर्ने बहस चुलिँदै गएको छ। त्यसमाथि पछिल्लो समय मिडिया काउन्सिलले अगाडि सारेको विधेयक कार्टुनिस्टका लागि ‘सेल्फ सेन्सरसिप’ को कारण बन्दै गएको छ।

२०४६ मा बहुदल आएपछि निकै उत्कृष्ट कार्टुन बन्न थालेका थिए। सामाजिक, राजनीतिक र व्यावहारिक पक्षमा ती कार्टुनको स्तर उचो थियो। तर प्रविधिको विकाससँगै हाल नेपाली कार्टुनको स्तर घट्दै गएको छ। अन्य देशको कार्टुनसँग तुलना गर्ने हो भने पनि नेपाली कार्टुन धेरै पछाडि छ।कार्टुनिस्टको क्षमता वृद्धि गर्ने कुनै माध्यमको विकास नेपालमा अझै हुन सकेको छैन। कार्टुन सिक्न कुनै औपचारिक अध्ययन थलो छैन। चित्रकला क्षेत्रमा लागेकाहरू नै यो विधामा आकर्षित भएको देखिन्छ।

कार्टुन कलाको ज्ञान नहुँदा विगतका कार्टुनमा व्यंग्य कम र उच्छृंखलता हाबी थिए। भावभन्दा कटाक्ष शब्दको प्रयोग बढी थियो। तर अहिले ठ्याक्कै त्यस्तो अवस्था भने छैन। यद्यपि कार्टुन भनेकै क्यारिकेचर गर्ने कला हो। कार्टुनले हरेक आकृतिको हल्का स्वरूप बिगार्छ, ताकि त्यो क्यामेराले खिचिएको तस्बिरभन्दा फरक होस्। जसले जनमानसमा हास्यव्यंग्य र चेतनाको सञ्चार गर्न सकोस्।

स्तरीय कार्टुनका लागि नेपालका व्यावसायिक कार्टुनिस्टमा राजनीतिक र सामाजिक चेतको आवश्यकता भएको डा। कुन्दन अर्याल बताउँछन्। उनी भन्छन्, ‘विषयवस्तुको ज्ञानबिना सतही आधारमा कार्टुन बनाउनु हुँदैन।’ कार्टुन कलाको माध्यम भए पनि यो पत्रपत्रिकाबाट अभिव्यक्त हुने व्यंग्य चित्र भएकाले यसले व्यावसायिक पत्रकारिताको दायित्व बहन गर्नुपर्ने अर्यालको भनाइ छ। कार्टुनिस्ट अविन श्रेष्ठ पत्रकारिता र कलालाई सँगसँगै लग्नु पर्दा कार्टुनिस्टमा कार्टुन विधालाई नयाँ ढंगबाट अगाडि बढाउन चुनौती थपिएको बताउँछन्।

कार्टुन कलाले द्वैध चरित्र निर्वाह गर्ने भएकाले यो विधामा थुप्रै चुनौती छन्। उनी भन्छन्, ‘कार्टुनिस्टका चुनौती हिजोभन्दा आज झन् बढ्दै गएको छ।’ पञ्चायतकालको जस्तो अवस्था नभए पनि मिडिया काउन्सिलले अगाडि सारेको विधेकका कारण कार्टुनिस्टले सेल्फ सेन्सरसिपको बाटो रोज्न बाध्य भएको उनले बताए।

राजनीतिक, प्राविधिक र उचित स्थानको अभावका कारण कार्टुन कलाले चुनौती खेपिरहेको डा। अर्याल बताउँछन्। समय क्रमसँगै कार्टुन कला सभ्य बन्दै गएको तर स्तरीय कार्टुन बन्न नसकेको प्रति उनको चिन्ता छ। भन्छन्, ‘कार्टुनिस्टले कार्टुन बनाउँदा त्यसको कला पक्ष र अन्तरवस्तुलाई ध्यानमा राख्नु आवश्यक छ।’ सरकारको कदमप्रति शंका गर्दै कार्टुनिस्ट क्लबले विधेयकले व्यावसायिक कार्टुनिस्टलाई त्रसित बनाएको बताउँदै आएको छ। अविन भन्छन्, ‘कार्टुन बनाएर मात्र जीविकोपार्जन गर्न नसक्ने कार्टुनिस्टलाई विधेयकले अप्ठ्यारोमा पारेको छ।’ अन्नपूर्णबाट ।

तपाईको प्रतिक्रिया