- अमर काफ्ले

इनरुवा। धरानको साउने भन्ने स्थानमा गोली हानि रकम लुट्ने समूहको खोजिका लागि प्रहरीले सुनसरी, मोरङ र धनुकुटा क्षेत्रमा चेकजाँच बढाएको छ । मोटरसाइकलमा रहेको समूहले गोली चलाई भागेको भन्ने बुझिन आएकाले छिमेकी जिल्ला मातहतका युनिटसँगको समन्वयमा सम्भावित नाका र आसपासको क्षेत्रमा चेकजाँच बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।
रकम संकलन गरी को १८ प ५२९४ नम्वरको मोटरसाइकलमा फर्कदै गरेका जीवन बिकास बैंकका कर्मचारी शम्भुप्रसाद गच्छदारमाथि साउने खण्डको जंगलमा अज्ञात समूहले गोली हानेको थियो ।

घाइतेको बयानका आधारमा बाटोबाट फर्किदै गरेको अवस्थामा जङगलमा लुकेर बसेको समूहले चेकजाँच गर्नु छ भनि मोटरसाइकल रोकाएको थियो । ब्याग खानतलासी गर्नु छ भनि खोस्न खोज्दा नदिएपछि गच्छदारको टाउकोमा हिर्काएको र गोली हानि रकम लुटेर भागेको बताइएको छ । लुटिएको रकम भने यकिन भैसकेको छैन् । बैंकका कर्मचारीले अढाई देखि ३ लाखको बीचमा रकम संकलन गर्ने गरेको भन्ने बुझिएकाले सोही बराबरको रकम लुटिएको हुन सक्ने सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बताउनु भयो ।

घाइते गच्छदारको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । प्रहरीका अनुसार गच्छदारमाथि एउटा गोली प्रहार भएको छ । एसपी अधिकारीको जानकारी अनुसार घाइते गच्छदारको दाहिने कुइनामा गोली लागेको छ भने सोही तर्फको पेटको भागमा समेत चोट देखिएको छ । घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार प्रहरीको अनुसन्धान गोली हान्ने समूहको नजिक पुगेको छ । प्रहरी प्रमुख अधिकारीले अनुसन्धान जारी रहेकाले सम्वन्धित व्यक्ति छिटै पक्राउ पर्ने बताउनु भयो ।
सुनसरी प्रहरीले घटनास्थलमा सानो हतियारबाट प्रहार भएको गोलीको एक खोका फेला परेको जनाएको छ ।

तपाईको प्रतिक्रिया