इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुको महामारी फैलिएपछी सुदरमुकाम इनरुवामा समेत डेँगु रोगको त्रास बढेको छ । धरानमा हाल सम्म २ सय ८१ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । संक्रमण फैलिएको वडा नम्बर ८ र १५ लाई धरान उपमहानगरपालिकाले स्वास्थ्य संकट ग्रस्त क्षेत्र घोषणा गरेको छ । धरानमा डेंगु रोगको संक्रमण महामारीको रुपमा देखिएको पछी इनरुवाबासी समेत त्रासमा परेका छन् ।

डेँगु रोगको संक्रमण फैलिन सक्ने भएकोले इनरुवाबासीहरु त्रसित बनेका हुन् । धरानमा डेंगुका अण्डा, लार्भा र प्यूपा नस्ट गर्न धरान नगरपालिकाले स्वास्थ्यकर्मी खटाएको छ । स्थानीयबासी पनि स्वास्थ्यकर्मीसँगै डेंगु नियन्त्रण गर्ने अभियानमा सक्रिय भएका छन् । तर, करिब दुई साताअघि देखि देखा परेको डेंगु नियन्त्रण हुनुको साटो झन् फैलिँदै जाँदा धरान सहित सदरमुकाम इनरुवाका स्थानीयबासी समेत त्रसित बनेका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक निर्देशन विकास साहले रगत परीक्षण गर्न गएका ८ सय ५२ जनामध्ये २ सय ८१ जनामा डेंगु भाइसर देखिएको जानकारी दिए ।

‘डेंगुको महामारी नियन्त्रण गर्न चिकित्सकसहितको ‘र्‍यापिड रेस्पोन्सड’ टोली, प्रतिष्ठानमा एमबिबिएस पास भएर ‘इन्टर्न’ गरिरहेका डाक्टर र चिकित्साशास्त्रका विद्यार्थी परिचालन गरेका छौँ,’ साहले भने । डेंगुको संक्रमण र महामारी फैलिन सकिने अवस्थालाई मध्यनजर गरी इनरुवा नगरपालिकाले नियन्त्रणका लागि सो रोग बिरुद्धको औषधी छर्ने अभियान सूरु गरीएको इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले बताए ।

इनरुवाको प्रत्येक वडाको टोल, वस्तीको हरेक घरमा डेँगु रोग बिरुद्धको औषधी छर्ने अभियान चलाईएको नगर प्रमुख मेहताले जानकारी दिए । डेंगु रोग नियन्त्रणको लागि इनरुवा नगरपालिकाका दश वटै वडाहरुमा औषधि छर्ने कार्य आईतबार राती देखि सूरु गरिएको उनले बताए ।

हिजो राती ८ बजे देखी इनरुवा नगरपालिका १ नं. वडामा डेँगु रोग बिरुद्धको औषधी छर्ने अभियान कार्यक्रम सूरु गरिएको हो । इनरुवा नगरपालिकाले आईतबार सूचना जारी गरी डेँगु रोग बिरुद्धको औषधी छर्ने अभियान कार्यक्रम रहेको हुँदा राती ८ बजे भन्दा अगाडि नै खाना खाई बालबालिकाहरु र वृद्ध वृद्धाहरुलाई सुरक्षीत स्थानमा राख्न हुन अनुरोध समेत गरिएको छ । यसैगरी आज सोमबार जेष्ठ २७ गते इनरुवा वडा नं. २ क्षेत्रमा राती ८ बजे देखि डेँगु रोग बिरुद्धको औषधी छर्ने कार्यक्रम रहेको इनरुवा नगरपालिकाका सूचना अधिकृत निरज कुमार पोखरेलले जानकारी दिए । क्रमैसँग इनरुवाको १० वटै वडामा डेँगु रोग बिरुद्धको औषधी छर्ने अभियान कार्यक्रम रहेको पोखरेलले जानकारी दिए । यता आ–आफ्नो घर, आगन, ढल र बाटोहरु सफा राखी डेंगु रोग बाट आफु बचौ र अरुलाई पनि बचाऊ भनि इनरुवा नगरपालिकाले सूचना मार्फत अनुरोध समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया