- जयकृष्ण यादव

देवानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिका २ नम्बर वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न भएको सार्वजनिक सुनुवाईमा शैक्षिक भ्रमणदेखी प्रसुति गृह निर्माणसम्मको कुरा र सवालहरु उठाएका छन्। देवानगञ्ज २ नम्बर वडा अध्यक्ष मजलुम मियाँले चालु आर्थिक वर्षको एक करोड रुपियाँ बराबरको वडाको आयव्यय सार्वजनिक गर्नुहुदै सडकबाटो, पुल, भौतिक पूर्वाधार निर्माण सहितका काम गरेको बताउनुभयो ।

कार्यक्रममा ग्राभेलबाटोमा कालोपत्रे, कच्चि सडकमा उच्चस्तरीय ग्रभावेल, मठमन्दिर, मदर्सा सहितको विकासमा काम गरेको मियाँले बताउनुभयो । मियाँले श्री मावि देवानगञ्जमा साईलक स्टेन निर्माण, फर्निचर, स्वास्थ्य चौकीलाई एम्बुलेन्स, प्रसुति गृह निर्माण सुरु, मन्दिरहरुको निर्माण, थानहरुमा मर्मत सम्भार सहितको काम गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सम्पन्न भएको कार्यक्रममा श्री माविका शिक्षक जैनुद्धिन मियाँले विद्यालयका बालबालिकाहलाई वर्षिक रुपमा शैक्षिक भ्रमणको लागि बजेट राख्नुपर्ने र कक्षाका विधार्थीहरुलाई कम्पुरटर शिक्षाका लागि कम्तिममा १० वटा कम्पुटर दिनुपर्ने माग गर्नुभयो । त्यसैगरी सन्जु ठाकुरले कक्षामा नियमित उपस्थित भएका बालबालिकाहरुलाई समेत विद्यालयले गृहकार्य नदिएको गुनासो गर्नुभयो । कार्यक्रममा स्वास्थ्य चौकी देवानगञ्जका प्रमुख सुरेन्द्र प्रसाद साहले चौकीमा प्रसुति गृह निर्माण भईरहेको, स्वास्थ्य चौकी नियमित चलेको भएपनि खोपका लागि कर्मचारी अभाव रहेकाले करार वा दरबन्दी जसरी पनि काम गर्ने एक जनाको व्यवस्था गर्नुपर्ने र भवनको माथिल्लो तल्ला वा अर्को नै सभा हल निर्माणको लागि पहल गरिदिन वडासंग आग्रह गर्नुभयो ।
कार्यक्रममा डुमरलाल मेहताले संचारका लागि पनि बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यसैगरी अभिभावक मन्जु ठाकुरले सामुदायिक विद्यालयहरुमा गृहकार्य नदिएकाले शिक्षण सिकाई उपल्वधी कम भएको भन्दै नियमित गृहकार्य दिन र परिक्षण समेत गर्न सुझाव दिनुभयो ।
त्यसैगरी देवानगञ्ज २ की अगुवा दलित महिला डोमनीदेवी रामले वडामा जनप्रतिनिधि आएपछि गाउँको दिनाभद्री मन्दिर, धुलो र हिलोको बाटोमा कालोपत्रे भएको, मरिया खोलासम्मको बाटो निर्माण भएको, प्रसुति सेवा अन्तिम चरणमा पुगेको, पुल निर्माण भएको र राम्रो काम भईरहेको बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा शुसमा ठाकुरले बाटो निर्माणको क्रममा खाल्टो भएको र पानी जमेकाले आवतजावतमा समस्या भएको गुनासो गर्नुभयो । त्यसैगरी स्थानीय लक्ष्मी मेहताले वार्षिक बजेट के कती कहाँ कसरी खर्च भएको विषयमा पारदर्शी नभएको गुनासो गर्नुभयो । मेहताले वडा र गाउँपालिकामा सहकारी संस्था सुचिकृत किन नभएको भनी प्रश्न समेत राख्नुभयो । सार्वजनिक सुनुवाईका लागि सरोकारबालाहरुलाई जानकारी नभएको समेत गुनासो गर्नुभयो ।

त्यसैगरी सुदमा रामले सार्वजनिक ठाउँको गाछीका कारणले समस्या भएकाले गाछी काट्नु पर्ने माग गर्नुभयो । अन्दु रामले गाउँको राजाजी थानको काम नभएकाले बजेट दिनुपर्ने माग गर्नुभयो । अर्का अनितादेवी रामले सुकुम्बासी समस्या समाधान गर्नुपर्ने सुझाव दिनुभयो । सहभागी र सरोकारबालाहरुको प्रश्न, सवालको जवाफ वडा अध्यक्ष मजलुम मियाँले दिनुभएको थियो । सम्पन्न कार्यक्रममा वडाका एक सय बढी सरोकारबालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रम देवानगञ्ज गाउँपालिका २ नम्बर वडा कार्यालयको सहयोगमा र साझेदारी नेपालको सजीकरणमा सम्पन्न भएको थियो । कार्यक्रममा डुमरलाल मेहता र पत्रकार जयकृष्ण यादवले सहजीकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया