इनरुवा। सुनसरीमा इनरुवा र देवानगञ्ज बाहेकका अन्य स्थानीय तहले समेत आर्थिक वर्ष २०७६।०७७ कालागि आफु पायक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । सुनसरीको धरान उपमहानगरपालिकाले एक अर्व ७७ करोढ बजेट प्रस्तुत गरेको छ । १५ करोड रकम गौरभका योजनामा धरानले बिनियोजन गरेको छ । त्यसैगरी इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६।०७७कालागि १ अर्व ८५ करोड ५० लाख रुपैंया बजेट बिनियोजन गरेको छ

इनरुवा नगरपालिकामा नेकपाका जनप्रतिनिधिको बहिस्कारका कारण नगर सभा हुन सकेन भने देवानगञ्जमा वडाध्यक्षले आफु पायक बजेट निर्धारण गरेको भन्दै गाउँपालिका अध्यक्षले नोट अफ डिसेन्ट जनाएपछी गाउँ सभा १५ गतेलाई सारिएको छ। सुनसरीको रामधुनी नगरपालिकाले भने आगामी आ.व.कालागि ५० करोड ७३ लाख रकम बिनियोजन गरेको जनाएको छ । यसैगरी दुहवी नगरपालिकाले ५२ करोड ५९ लाख २ हजार रकम आगामी आर्थिक वर्षकालागि बिनियोजन गरेको छ ।

बराहक्षेत्र नगरपालिकाले ७७ करोड ६२ लाख ६ हजार रकम बिनियोजन गरेको छ । बराहक्षेत्रले पर्यटन, पूर्वाधार बिकास जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ । यसैगरी सुनसरीका गाउँपालिकामा अन्र्तगत भोक्राहा नरसिंह गाउँपालिकाले शिक्षा,स्वास्थ्य सँगै बालबिवाह र दाइजो प्रथा न्यूनिकरण जस्ता विषयलाई प्राथमिकतामा राख्दै छैठौं गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवका अनुसार आ.व. ०७६।०७७ कालागि ३७ करोड १३ लाख ९६ हजार अनुमानित रकम बिनियोजन गरिएको छ ।

त्यसैगरी कोशी गाउँपालिकाको गाउँ सभाले पर्याप्त पूर्वाधार गाउँमै रोजगार, कृषि र पर्यटन समृद्धिको आधार भन्ने नारा साथ आगामी आ.व.कालागि ४६ करोड ४५ लाख २७ हजार बराबरको अनुमानित बजेट बिनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीका अनुसार गाउँपालिकाले वर्षको दुई पटक सामूहिक विवाहको आयोजना गर्ने छ । जसमा गरिव, विपन्न र अल्पसंख्यक समूदायहरुको हकमा सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोरेर विवाह गरिदिने छ । पर्यटन क्षेत्रलाई कोशीले प्राथमिकतामा पारेको छ ।

त्यसैगरी गढी गाउँपालिले आगामी आ.व.कालागि ४० करोड १३ लाख १४ हजार अनुमानित बजेट बिनियोजन गरेको जनाएको छ । हरिनगर गाउँपालिकाको कार्यालयले कृषि र पूर्वाधार बिकास लक्षित गरी ४५ करोड बराबरको रकम बिनियोजन गरेको छ । बर्जु गाउँपालिकाले आर्थिक वर्ष २०७६।०७७ कालागि ३६ करोड ८६ लाख ८४ हजार रकम बिनियोजन गरेको छ ।

इनरुवाको हकमा भने नगर सभाको बिषयमा कार्यपालिका सदस्य लगायतका अन्य निर्वाचित जनप्रतिनिधिहरुलाई अग्रिम जानकारी नगराइएको भन्दै बहिस्कार गरिएको हो । नेकपा इनरुवा नगर संसदीय दलले पत्रकार सम्मेलन गरी इनरुवा नगरपालिकाले आव्हान गरेको नगर सभा बहिस्कारको निर्णय गरेको जानकारी गराएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष तथा संसदीय दलका नेता कालुराम गुरुङले नगर प्रमुुख र कार्यकारी अधिकृतले एकलौटी पाराले नगर सभा सञ्चालन गर्न खोजेको आरोप लगाउनु भएको छ । उता नगर प्रमुख राजन मेहताले पूर्व निर्धारित तालिका र निर्णय बमोजिम नगर सभा डाकिएकाले कार्यक्रम बहिस्कार गरिनुलाई व्यक्तिगत स्वार्थपरक राजनीतिको संज्ञा दिनु भएको छ । मेहताले कमी कमजोरी भएको भए वार्तामा बस्न तयार रहेको बताउँदै असन्तुष्टिका विषय सम्बोधन पश्चात सर्वपक्षीय सहमति जुटाई नगर सभाको मिति तय गरिने बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया