- मिकाइल आलम

इनरुवा । कोशी गाउँपालीकाले अगामी आर्थिक वर्षका लागि योजना, निति तथा कार्यक्रम गाउँसभाबाट सार्वजनिक गरेको छ । कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले आर्थिक बर्ष २०७६।०७७ को मंगलवार चौथो गाउँसभामा ४६ करोड ४५ लाख २७ हजारको बजेट सार्वजनिक गरेका छन् । कोशी गाउँपालीकाको कार्यालयले चालु खर्च र समाजिक सुरक्षा खर्चतर्फ गरी २० करोड ७५ लाख ५० हजार र पुजीगत खर्चतर्फ २५ करोड ६९ लाख ७७ हजार गरी चौथो गाउँसभाबाट ४६ करोड ४५ लाख २७ हजारको बजेट विनियोजन गरेको हो । सुनसरी क्षेत्र नम्बर ४ संघीय सांसद तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको चौथो गाउँसभा मार्फत गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले केही लोकप्रिय योजनाहरु समेत प्रस्तुत गरेका छन् । “प्रयाप्त पूर्वाधार, गाउँमै रोजगार, कृषि र पर्यटन समृद्धिको आधार” भन्ने आकांक्षाका साथ आर्थिक बर्ष २०७६।०७७ को लागि बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको अध्यक्ष अन्सारीले बताए । कोशी गाउँपालीकाले २०७५/०७६ मा गरेको गाई भैंसी सुन्दरी प्रतियोगिता लाई निरन्तरता दिदै किसानको मनोबल उच्च गर्न सहभागी कृषकलाई पुरस्कार समेत वितरण गरिने योजना ल्याएको छ । कृषि क्षेत्रमा नेपालकै नमुना कार्यक्रमको रूपमा छनोट भएको र कृषिको आधुनिकीकरणमा समेत सहयोग पुग्ने भएकोले योजनालाई निरन्तरता दिएको अन्सारीको भनाइ छ ।

यसैगरी अध्यक्ष अन्सारीले प्रस्तुत गरेको आर्थिक बर्ष २०७६।०७७ को लागि बजेट नीति तथा कार्यक्रममा गाउँपालीका क्षेत्रभित्र २०७६ साल श्रावण १ गतेदेखि शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएमा शिशु पोषण खर्च बापत १ हजार वार्डतह बाटै उपलब्ध गराउने, माध्यमिक तहसम्मको शिक्षा निशुल्क गर्दै सामुदायिक बिद्यालय मध्येबाट एसईई परिक्षामा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने १ छात्र तथा १ छात्रालाई नगद १० हजार पुरस्कार दिने, त्यस्तै उक्त बिद्यालयलाई भौतिक सुधारको लागि १ लाख रुपैयाँ उपलब्ध गराउने, प्रत्येक बालबिकास शाखालाई यातायात खर्च स्वरुप मासिक १ हजार दिने, गाउँपालीकालाई महिला हिंसा, बालविवाह मुक्त, दाइजो मुक्त बनाउने तथा गाउँपालीका क्षेत्रका विपन्न, दलित, अल्पसंख्यक, परिवारका विवाहयोग्य उमेरका किशोरकिशोरीको सामूहिक विवाह गराउने जस्ता महत्त्वपूर्ण योजनाहरु ल्याएका छन् ।

यसैगरी ८५ वर्षमाथि उमेरका जेष्ठ नागरिक लाई घरमै स्वास्थ्य परिक्षण गराउने व्यवस्था मिलाउने, मोतीबिन्दु तथा रतन्धो आखा रोग भएका व्यक्तिहरुलाई आखा उपचार तथा अप्रेसन खर्च बापत २५ सय उपलब्ध गराउने, महिला स्वंयम सेविकालाई प्रदान गरिदै आएको मासिक १ हजारलाई बढाएर १२ सय पुर्याउदै साइकल वितरण गरिने नयाँ तथा लोकप्रिय निति तथा कार्यक्रम ल्याएको छ । वडा कार्यालयको अवधारणा अनुसार अधिकतम सेवा वार्ड कार्यालयबाट उपलब्ध गराउने, जनप्रतिनिधि तथा कर्मचारीहरुको आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गराउने, कर्मचारीहरुलाई कार्य सम्पादनको आधारमा दण्ड र पुरस्कृत गर्ने निति लिएको छ । यसैका साथै प्रत्येक वार्डमा वडास्तरीय खेल मैदान बनाउने र खेलकुद विकास गर्न बिद्यालयस्तर बाट प्रतियोगिता आयोजना गर्ने योजना रहेका छन् । सर्वसाधारणमा कर तिर्न विभिन्न कार्यक्रम गरिने तथा उत्कृष्ट करदाता लाई सम्मान गर्ने कोशी गाउँपालीकाको योजना रहेको छ ।

यसैबीच २०७५/०७६ मा गाउँपालीका लाई सबैभन्दा बढी कर तिर्ने एकजनालाई कोशी गाउँपालीकाले सम्मान गरेको छ । यस्तै सबैभन्दा बढी कर उठाउने कोशी गाउँपालीका वार्ड नम्बर ७ का अध्यक्ष रामचन्द्र महतो लाई सम्मानित भएका छन् । उनलाई प्रमुख अतिथि ज्ञानेन्द्र बहादुर कार्की, १ नम्बर प्रदेश प्रमुख प्रतिपक्षी दल नेता तथा नेपाली काङ्ग्रेस सुनसरीका सभापति राजीव कोइराला, गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले प्रशंसापत्र सहित सम्मान गरेका थिए । यसैगरी कोशी गाउँपालीका कर्मचारी गधा मण्डललाई समेत सम्मान गरिएको छ । उत्कृष्ट कार्य सम्पादन गरेको पुरस्कार मुल्यांकन छनोट समितिको सिफारिसको आधारमा मण्डल लाई नगद १० हजार र प्रशंसापत्रका सहित गरिएको थियो । उक्त कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, एसपी यज्ञबिनोद पोखरेल, गाउँपालीकाकी उपाध्यक्ष अनिता यादव, ८ वटै वार्डका अध्यक्षहरु, वार्ड सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाजका अगुवा, प्रतिपक्षी दल नेताकार्यकर्ता सहित सयौं उपस्थिति रहेको थियो । कार्यक्रम गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरिले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया