इनरुवा । लागूऔषध स्वास्थ्यको लागि हानिकारक भएको भन्दै कोशी गाउँपालीका ५ नम्बरका वडाबासी न्यूनीकरण अभियानमा लागेका छन् । कोशी गाउँपालीका वार्ड नम्बर ५ को आयोजना तथा सशस्त्र प्रहरी बलको सहकार्यमा शनिबार आयोजित लागूऔषध सम्बन्धि विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रममा बोल्दै ५ नम्बरका वडाबासीले लागूऔषध न्यूनीकरण गरेरै छाड्ने प्रतिबद्धता गरेका छन् ।

कोशी गाउँपालीका ५ स्थित रहेको मदरसा दारुलहुँदा अलसल्फियामा आयोजित लागूऔषध सम्बन्धि अभिमुखिकरण कार्यक्रममा उनीहरूले लागूऔषध सेवन नगर्ने र गर्नसमेत नदिने प्रतिबद्धता गरेका हुन । सो कार्यक्रममा मदरसा दारुलहुँदा अलसल्फिया तथा बिद्यालयमा अध्ययनरत मुस्लिम तथा पिछडिएका ८० जनाबढीको सहभागिता रहेको थियो । उक्त अभिमुखिकरण कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीका सशस्त्र प्रहरी निरीक्षक आनबहादुर गुरुङ र बिओपी भण्टावारीका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर भण्डारीले प्रशिक्षण दिएका थिए । विद्यार्थी तथा युवायुवतीलाई उनीहरूले लागूऔषध दुर्व्यसनी,यसबाट पर्ने असरहरु,ओसारपसार, कानुनी सजाय सहितका बारेमा जानकारी गराएका थिए । श्रीपुरको नाका हुँदै पछिल्लो समयमा लागूऔषध सेवनकर्ताहरु बीरपुर, भिमनगर सहित भारतीय बजार जाने क्रममा बढेकोले कोशी गाउँपालीका वार्ड नम्बर ५ का अध्यक्ष शाह जमालले यसतर्फ सशस्त्र प्रहरीको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा बिओपी लौकहीका ईन्स्पेक्टर आनबहादुर गुरुङ र भण्टावारीका ईन्स्पेक्टर सुरेन्द्र भण्डारीले कार्यक्रमका सहभागीहरुलाई लागूपदार्थ बाट हुने असर तथा हानी बारे मल्टिमिडिया मार्फत जानकारी गराएका थिए । खुल्ला सीमाले लागूऔषध ओसारपसारको नियन्त्रण गर्न चुनौतीपूर्ण रहेको बताउदै कोशी गाउँपालीका वार्ड नम्बर ५ का अध्यक्ष शाह जमालले विद्यार्थीलाई कुलतबाट जोगाउन मदरसा तथा विद्यालय स्तरबाटै पहल गरेको बताए । विद्यार्थी अवस्था बाट लागूऔषधको दुर्व्यसनीमा फस्ने गरेको हुनाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने र लागूऔषध न्यूनीकरण गर्ने उनले प्रतिबद्धता गरे । दुर्व्यसनी विरुद्धको कार्यक्रम प्रभावकारी रूपमा संचालन गर्न, लागूऔषध सेवन तथा ओसारपसारमा कमि ल्याउन यस्ता कार्यक्रम आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

लागूऔषध पछिल्लो समयमा सीमा क्षेत्रमा मात्रै नभई सुनसरी जिल्लामै ठुलो समस्याको रूपमा देखापरेको अवस्थामा बिद्यालयमा आयोजना गरिएको सचेतना कार्यक्रमले सकारात्मक सन्देश दिएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए । लागूपदार्थ रहित समाज निर्माण गर्न दुर्व्यसनी विरुद्धको अभियान आवश्यक रहेको स्थानीय नैयार आलमले बताए । उक्त कार्यक्रममा स्थानीय सफिक आलम, दिलजान आलम, विजली मिया, नजरुल हक, नहिदा बानो, मुस्ताक आलम,बिओपी श्रीपुरका सई प्रकाश भट्टराई सहितको उपस्थिति रहेको थियो भने कार्यक्रम कोशी गाउँपालीका वार्ड नम्बर ५ अध्यक्ष शाह जमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया