अमर काफ्ले इनरुवा/ केहिदिन यताको लगातारको वर्षाका कारण यतिबेला धेरैजसो भेग डुबानको चपेटमा परेको छ । सुनसरीको हकमा समेत खोलाहरुमा जलस्तर बढेको छ ।पछिल्ला केहि दिनयता सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्ने क्रममा छ ।आजको पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव २ लाख ४६ हजार ८ सय ४५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ । ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् ।

उता एकाबिहानै सर्तकता लेवल पार गरेको चतरा स्थित बाढी मापन केन्द्रमा कोशीको जल स्तर बढेर ६ दशमलव १७ मिटरमा पुगेको छ ।चतरामा गरिने मापनले ५ दशमलव ६ मिटर तहले सर्तकता लेवललाई जनाउँछ । उक्त तह कोशीको वहावले आज विहानै पार गरिसकेको छ । चतरा स्थित बाढी मापन केन्द्रका अनुसार नदीको जल स्तर बढेर ६ मिटर नाघे खतरा र ६ दशमलव ८ बिन्दुमा पुगे पूर्ण रुपमा जोखिम सहितको खतरा भन्ने बुझाउँछ ।कोशीमा रातो बत्ति समेत बालिएको छ भने टाटे झण्डा फहराइएको छ । रातो बत्ति बालिएसँगै सर्वसाधारणमा त्रास समेत बढाएको छ ।

रातो बत्ति किन बालिन्छ :
सप्तकोशी नदीमा रातो बत्ति बालिनु भनेको वर्षायामको संकेत समेत हो । पानी पर्ने क्रम जारी रहँदाको अवस्थामा कोशी ब्यारेजमा वर्षेनी एकतर्फी रुपमा एउटा रातो बाल्ने गरिन्छ ।पानीको बहाव १ लाख ५० हजार पुगेपछि झण्डा सहित रातो बत्ति प्रयोगमा ल्याइन्छ । उक्त अवस्थालाई सामान्य मानिन्छ ।झण्डा फहराएर बत्ति बालिनुलाई कोशी ब्यारेज कन्ट्रोल रुम तथा कोशी परियोजनामा कार्यरत जनशक्तिलाई तैनाथी अवस्थामा राखिएको र कार्यक्षेत्रमा सर्तकतासाथ खटाइएको भन्ने बुझाउँछ ।उक्त अवस्थामा काम छोडेर बाहिर जान बन्देज हुने गर्दछ । आवश्यक स्रोत, साधन र औजार सहित स्पर निरीक्षण, मर्मत, विवरण अपडेट जस्ता कार्यमा प्राविधिक सहितको जनशक्ति अहोरात्र खटिने गर्दछ ।

बहाव २ लाख कटेपछि भने नदीको जलस्तरको अवस्थालाई हेरेर ब्यारेजमा दुईवटा सम्म रातो बत्ति बाल्ने गरिन्छ ।नदीको बहाव दुई लाख कट्नुलाई खतराको लेवल भने मानिन्छ । उक्त अवस्थामा बालिने रातो बत्तिले अन्य जोखिम भन्दा पनि ब्यारेज पुलको सुरक्षा तर्फ बढी सर्तकता अपनाइएको भन्ने बुझाउँछ । सो अवस्थामा सवारी आवागमनको चाप कम गर्दै एकतर्फी यातायात संचालन गराइनु र विशेषगरी पैदलयात्री र आसपासको तटीय क्षेत्रका बासिन्दालाई विशेष सचेत र सर्तक रहनु भन्ने सन्दर्भलाई दर्शाउने कोशीका जानकार रविन घिमिरेको भनाई छ ।

सन् १९६२ मा निर्माण सम्पन्न कोशी ब्यारेज पुलको आयु तत्कालिन अवस्थामा प्राविधिकहरुले बढीमा ५० वर्ष तोकेका थिए । सो अवधी सन् २०१२ मै सकिसकेको छ । त्यसैले पनि भारतीय प्राविधिकहरुले नदीमा पानीको बहाव बढेसँगै ब्यारेज पुलको सुरक्षाकालागि विभिन्न सर्तकताका उपायहरु अपनाउने गरेको छ ।कोशी ब्यारेजसम्म आइपुग्ने बहाव त्यसअघि चतरा मापन केन्द्रमा यकिन गरिन्छ । त्यसपछि मात्र ब्यारेजको पानी मापन यन्त्रमा अपडेटमा आउँछ । चतरामा ६ दशमलव ८ मिटर पानीको तह पुगे पूर्ण रुपमा खतरा मानिन्छ ।सोही अनुसार आसपासको भेगमा अलर्ट जारी गरिन्छ ।

उक्त बहाव ब्यारेज स्थित मापन कक्षमा आइपुग्न भने ३ देखि ४ घण्टाको समय लाग्ने गर्छ । पछिल्लो अवस्थामा चतरामा पानीको बहाव घट्दो क्रममा रहेकाले बहावमा समेत कमी आउने सक्ने आंकलन गरिएतापनि पूर्वी पहाडी भेगमा पूनः भारी वर्षा भएको खण्डमा कोशीको जलस्तर बढ्ने सम्भावना रहने कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

वर्षा रोकिएको वा कम हुँदाको अवस्थामा पानी छरिएर ब्यारेजमा आइपुग्दा बहावमा कमी देखिन्छ भने निरन्तर वर्षा जारी रहेको अवस्थामा नदीको पानीले बहावको मापनलाई बढाउने गर्छ । उक्त अवस्थामा बहावमा आउने उतार चढावका कारण कमजोर स्पर तथा स्थानहरुमा जोखिम बढाउन सक्ने सम्भावना हुँदा बढी सावधानी अपनाउनु पर्ने जानकारहरु बताउँछन् ।कोशीमा सन् १९६८ अक्टुबर ५ का दिन ९ लाख १३ हजार क्युसेक बहाव मापन गरिएको रेकर्ड रहेको बताइन्छ । उक्त मापन अहिले सम्मकै सबैभन्दा उच्च हो । यद्यपी नदीको उक्त क्षमता हालको अवस्थामा स्वयं भारतीय प्राविधिकहरु बताउँछन् ।

बालुवा थुप्रिएका कारण नदीले बढीमा ५ देखि ६ लाख क्युसेक पानी धान्न सक्ने ब्यारेज कन्ट्रोल रुपले जनाएपनि बहावमा आउन सक्ने उतार चढावसँगै स्परहरुमा हुन सक्ने सम्भावित कटान र निम्तन सक्ने भवितब्यका कारण ३ लाख बढीको बहाव समेत कोशी नदीकालागि खतरापूर्ण हुन सक्ने उनीहरु बताउँछन् ।सोही कारण समेत पछिल्लो समय कोशी नदीमा ३ लाख क्युसेक बहाव नाघ्नुलाई अति खतराको लेवलमा हेर्ने गरिएको छ । बालुवाका कारण नदीको वास्तविक क्षमता मापनमा कठिनाई हुँदा ३ लाख बढीको बहावलाई खतरापूर्ण आंकलन गर्ने गरिएको छ । यिनै कारणले समेत बेलैमा सावधानी नअपनाए दुर्घटना निम्तन सक्ने भएकाले हरेक वर्ष वर्षायामसँगै कोशीको विषय सवत्र चासो, चर्चा र त्रासको विषय बन्ने गरेको छ ।

नेपाली पक्षको काम अनुगमन मात्रै:
दुई देशिय सम्झौता अनुसार कोशी ब्यारेज मर्मत देखी रेखदेख लगायतको सम्पूर्ण जिम्मेबारी भारतीय पक्षको हो । कोशी परियोजना अन्र्तगत मर्मत र रेखदेख लगायतको प्राविधिक काम सबै भारतीय पक्षले गर्ने गरेको छ ।ब्यारेजका ढोका खोल्ने र बन्द गर्ने कार्य समेत भारतीय पक्षलेनै आफु अनुकुल गर्ने गरेको छ । कोशीको बाढीले भारतको बिहार लगायतको क्षेत्र डुबानमा पर्ने हुँदा समेत भारतीय पक्षले आफु अनुकुल ब्यारेजको ढोका खोल्ने र बन्द गर्ने गर्दछ ।

नेपाल तर्फका स्थानीय प्रहरी र प्रशासनले भने अनुगमन र निरीक्षण सम्मको मात्र काम गर्ने गर्छन् । बढीमा नेपाली पक्षले भारतीय पक्षलाई स्थानीय अवस्थालाई दर्शाउदै आग्रह सम्म गर्न सक्छन् । ढोका खोल्ने र बन्द गर्ने सन्दर्भमा निर्णय गर्ने अधिकार नेपाली पक्षको हातमा छैन् ।कोशीमा हाल सम्म कुनै खतरा नरहेको जनाउने सुनसरी प्रशासनले स्थानीय तवरमा जोखिम न्यूनिकरणकालागि सचेतना र पूर्व तयारीका कार्यक्रमहरु संचालनमा रहेको जनाएको छ । तटिय क्षेत्रका वासिन्दालाई बढी सर्तक रहन सचेत गराइएको बताउने प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्नु पर्ने अवस्था ननिम्तेपनि सम्भावित विपद् र जोखिमलाई मध्यनजर गर्दै आवश्यक जनशक्ति र स्रोतसाधनको हकमा पूर्व तयारी गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया