- दिलिप साह

राजविराज। अविरल वर्षाका कारण विभिन्न नदी खोला नालामा उर्लिएर आएको बाढीले ठाउँ ठाउँमा तटबन्ध भत्काउँदा सप्तरीमा करिब ५ सय भन्दा बढी घर डुवानमा परेको छ । त्रियुगा नदीको बाढीले बाँध भत्किएर सप्तकोशी नगरपालिका १ फत्तेपुर बजारको दुई दर्जन घर र पसल डुवानमा पारेको छ भने खाँडो र सप्तकोशीको बाढी पसेर बाँध भत्काउँदा तिलाठी कोइलाडी गाउँपालिका १ स्थित तिलाठी गाउँमा १ सय ५० घर तथा हनुमाननगर कंकालिनि नगरपालिकाको ३ र ७ वडामा करिब एक सय ५० घर डुवानमा परेको छ ।

यस्तै खाँडो र भलुवाहीको बाढीका कारण राजविराज नगरपालिकाको वडा नं. ५, १५ र १६ तथा विष्णुपुर गाउँपालिका ६ को गरि करिब २ स ५० घर डुवानमा परेको छ । तिलाठीस्थित प्रहरी चौकी डुवानमा पर्दा त्यहाँबाट सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राजविराज ५ मिथिला टोल, बनाहा टोल र सोही टोलसँग टासिएको विष्णुपुर गाउँपालिका ६ का राजकुमार राउत, शिवु मिश्रा, रमण ठाकुर, ललित रजक, घनश्याम झा, अजितकुमार ठाकुर, विभा झा, बैजु मुखियाँ, प्रमोद मिश्रा, शिवशंकर साह लगायतले फोन सम्पर्क गरि आफूहरुको घर घरमा पानी पस्नुका साथै चारैतिरबाट बाढीले घेर्न थालेपछि घर छाड्ने अवस्थामा पुगेका बताएका छन् । सो बस्तीका २ सय ५० भन्दा बढी घरमा बाढीको पानी पसेको हो ।

तिलाठीमा बाढीले भत्काएको बाँध मर्मतको कार्य धमाधम भइरहेपनि वर्षा नरोकिदा समस्या भइरहेको विपद् जोखिम न्युनिकरण अधिकृत राजेश झाले बताए । यद्दपी बाढीको प्रभाव नगरि तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख सतिशकुमार सिंहको अगुवाईमा प्राविधिकसहितको टोली गाउँलेको मद्दतमा तटबन्ध मर्मत कार्यमा जुटेको उनले जानकारी दिएका छन् । बाढीले खेती योग्य जमिनमा पनि ठूलो क्षति पु¥याएको कृषकहरुले बताएका छन् । बाढी पसेर हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा गाउँका करिब २ सय विगहा खेतीयोग्य जग्गा पोखरीमा परिणत भएको स्थानियवासी एवं कृषक रामेश्वर रायले बताए ।

त्यस्तै बाढीको पानी सडक भन्दा २ फिट माथीबाट बग्न थालेपछि राजविराज–कुनौली सडक खण्डमा शनिबार बिहानैदेखी आवागमन ठप्प भएको छ । यस्तै खडक नगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गमा खडक खोलाको बाढीले निरन्तर कटान गरिरहेकाले त्यहा पनि आवागमन ठप्प हुने सम्भावना रहेको स्थानियले बताएका छन् । बाढीले अहिलेसम्म कुनै मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रिता खडकाले जानकारी दिएकी छन् । बाढीबाट हुने क्षति न्युनिकरणका लागि स्थानिय प्रशासनले उपलब्ध साधनश्रोतको उच्चतम परिचालन गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् ।

तपाईको प्रतिक्रिया